कोरोना रोकथाम कोषलाई सिटिजन्स बैंकले दियो २० लाख
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको हो ।
सिटिजन्स बैंकले यस अघि पनि कोरोनाभाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेश सरकारको कोषमा ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ, विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा करिव ६ लाख रुपैयाँ तथा विभिन्न संघ संस्थालाई ६ लाख रुपैयाँ गरि हालसम्म कुल ६१ लाख रुपैयाँको सहयोग गरिसकेको छ । कोरोना नियन्त्रणका लागि बैंकले हालसम्म ८१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले गरेको सहयोगबाट कोरोना भाइरसको रोकथामका साथसाथै सिमान्तकृत तथा निम्न आय भएका नेपालीहरुको दैनिक अत्यावश्यक सामाग्रीहरु प्रदान गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ । महामारी नियन्त्रण गर्न बैंक सबै प्रकारको सहयोग गर्न तयार रहेको कुरा बैंकले जनाएको छ । यस किसिमको सहयोगले कोरोना भाइरसबाट प्रभावितहरुको दुःखको घाउमा मलम लगाउन टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
कोरोना भाइरस महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ ।
विश्वभरी फैलिएको कोरोना भाइरसले सृजना गरेको बिषम परिस्थितिको बाबजुद पनि कर्जालाई सरल र सहज तरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५० प्रतिशत वार्षिक ब्याजदरमा एसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५० प्रतिशत वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९ प्रतिशत वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना देशै भरी छरिएका बैंकका ११० शाखाहरुबाट संचालनमा ल्याएको छ ।