कोरोना सङ्क्रमण बढी देखिएका स्थानमा आइसोलेसन केन्द्र थप गरिने

विराटनगर । प्रदेश नम्बर १ मा कोरोना सङ्क्रमण बढी भएका स्थानमा आइसोलेसन केन्द्र थप गरिने भएको छ ।

कोभिड १९ सङ्क्रमण नियन्त्रणका सम्बन्धमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आज बसेको बैठकले सङ्क्रमण बढी देखिएका स्थानमा तत्काल आइसोलेसन केन्द्र थप गरिने निर्णय गरेको हो ।

बैठकले आइसोलेसन केन्द्र थप गर्नका लागि तत्काल योजना बनाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । समूहगत सङ्क्रमण नियन्त्रण गराउनका लागि लकडाउन प्रभावकारी बनाउने, सीमा सुरक्षालाई कडाइका साथ प्रभावकारी बनाइने, सङ्क्रमण जोखिम क्षेत्रमा आवश्यक सुरक्षा सावधानी अपनाउने, होम आइसोलेसन र आइसोलेसन स्थलको व्यवस्थापन प्रोटोकल बमोजिम नियमित गर्ने निर्णय गरिएको छ । लक्षण देखिएकालाई उपचारको दायरामा ल्याउने र लक्षण नदेखिएकालाई आइसोलेसन र होम आइसोलेसनमा राख्न प्रबन्ध गरिने बैठकले निर्णय गरेको छ ।

बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, प्रदेश १ प्रयोगशाला प्रमुख जयवेन्द्र यादव, सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *