‘ब्याण्डिङ्ग लोकल रक्सीलाई ब्राण्डिङ्ग गरेर डलर भित्र्याऔं’ [भिडिओसहित]

काठमाडौं । केही समय अगाडि मात्रै अर्थमन्त्री डा.युवराज खतिवडा भन्दै थिए– ‘अब धेरैभन्दा धेरै युवाहरुलाई विदेश पठाएर धेरै रेमिट्यान्स भित्र्याएर देशलाई धनी बनाउँछौं ।’ यो नीति निर्माताहरुबाट आउने घटिया खालका बेतुकको एउटा प्रतिनिधि तर्क थियो । त्यसमाथि अर्थमन्त्रीबाटै दक्ष युवाहरुलाई विदेशी मरुभूमिमा १८ घन्टा काम गर्न जाओ भन्ने आशयले आएको भनाईले उनको प्रसंशा कम आलोचना ज्यादा भयो, त्यो पनि सत्तारुढ दलभित्रैबाट ।

यहाँ (नेपाल)मा छुट्टै क्षेत्रको छुट्टै समस्याहरु यत्रतत्र देखिन्छन् । देशलाई धनी बनाउनको लागि युवाहरु पलायन नै उत्तम उपाय देख्ने खतिवडालाई विदेशी उत्पादनलाई आयात र स्वदेशी उत्पादनलाई नष्ट गरी मोटो रकम बाहिरिएको हेक्का होला कि नहोला ?

यही कुरालाई हेक्का राख्दै संविधानसभाका सदस्य तथा प्रदेश नं. १ का सांसद उषाकला राईले स्वदेशी उत्पादनलाई कानूनी मान्यताका साथ स्थापित गरी विदेशी मदिरा आयातमा रोक लगाएर स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरेर मुलुकमा डलरै–डलर भित्र्याउनु पर्छ भन्ने बहस गर्दै आएकी छन् ।

‘ब्याण्ड भर्सेज ब्राण्ड’ नारा दिएर स्थानीय मदिरालाई बढावा दिई विदेशी उत्पादनको आयात रोक्न र स्वदेशी मदिरालाई निर्यात गरी डलर भित्र्याउने अभियानमा लागेकी सांसद राईले स्थानीय मदिरालाई ब्राण्डिङ्ग गर्नुपर्ने आवश्यक्ता औंल्याएकी छन् ।

त्यसो त सांसद राईको विषय उठानसँग धेरै सरोकारवाला तथा बुद्धिजीवीसँगै अर्थविद्हरुसमेत सहमत छन् । यो यथार्थ हो कि–यहाँ (नेपाल)मै उत्पादित स्थानीय मदिरालाई ब्याण्ड (प्रतिबन्ध) लगाएर विदेशी अन्तर्राष्ट्रियकरण आयात गर्ने गरिन्छ ।

अहिले पनि वार्षिक २ अर्ब बढिको मदिरा आयात गरिएको छ । गत वर्षको तथ्यांक हेर्ने हो भने करिब पौने दुई अर्बको विदेशी मदिरा नेपालमा आयात भएको छ । भन्सार विभागकाअनुसार गत वर्ष एक अर्ब ८० करोड ७३ लाख रुपैयाँ बराबरको विदेशी मदिरा नेपाल भित्रिएको छ । जुन १ करोड २३ लाख लिटर बराबरको हो ।

स्वदेशमै केही मदिरा उत्पादन भए पनि विदेशी मदिराको माग नघटेको तथ्यांक जगजाहेर छ ।

लोकल रक्सीलाई किन ब्राण्डिङ्ग ?
नेपालीहरुले घरमै परम्परागत रुपमा बनाउने कोदोको तीन पाने (रक्सी) विश्वमै राम्रो मानिन्छ । तर, अर्बौको विदेशी रक्सी आयात गर्ने सरकारले नेपालको स्वदेशी उत्पादन कोदोको तीन पानेलाई भने सरकारी आदेशमै नष्ट गरेर गलत रणनीति अपनाएको छ ।

सीएनएनले ‘वर्ल्डस् फिफ्टी मोस्ट डेलिसियस ड्रिंक्स’नाम दिएर सन २०१८ मा प्रकाशन गरेको जर्नलमा भनिएका थियो– ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ । यो पिउँदा घाँटीमा एकैछिन पोले पनि पछि आनन्द दिन्छ । यो स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।’

तर, हाम्रा नीति निर्माताले मुलुकलाई आत्मनिर्भर बनाउने उपायलाई अपराधसँग जोडिदिएर जनतालाई परनिर्भरताउन्मुख बनाइरहेको प्रदेश सांसद उषाकला राईको भनाइ छ । उनी अहिले कोदोको ‘तीन पाने रक्सी’लाई अन्तर्राष्ट्रियकरण गरी ब्राण्डिङ गर्ने अभियानकी सुत्राधार हुन् ।

‘विश्वले नेपालको तीन पाने रक्सी स्वास्थ्यका लागि लाभदायक पनि छ भनिरहँदा नेपालमा भने यसलाई ब्याण्ड गरिएको छ  । मैले चाहिँ मुलुकको अर्थतन्त्र आत्मनिर्भरउन्मुख गराउन र लाखौं युवाहरु रोजगारीको लागि विदेशीको गुलामी गर्न मरुभूमि जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि पनि ‘ब्याण्ड भर्सेज ब्राण्ड’बहस चलाइरहेकी हुँ ।’ उनले भनेकी छन् ।

स्वदेशी मदिरालाई अन्तर्राष्ट्रियकरण गर्न सजिलो पनि हुने सांसद राईको भनाई छ । अर्गानिक र परम्परागत रुपमा उत्पादन हुने, कुनै रासायनिक नमिसाइकन मानव स्वास्थ्यका लागि पनि त्यत्ति हानिकारण नहुने भएकोले तीन पाने रक्सीलाई अन्तर्राष्ट्रिय तहसम्म पुर्याउन सकिने उनको तर्क छ ।

अब विदेशी मदिरालाई ब्याण्ड गरेर स्वदेशी उत्पादन (मदिरा)लाई बढावा दिनुपर्ने उनको भनाइ छ–‘अब हामीले विदेशी मदिरालाई रोकेर स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ । जबसम्म यो गरिँदैन, तबसम्म हाम्रो अर्थतन्त्र सुधार हुँदैन । युवाहरु लासको बाकसमा टेकेर विदेशीने क्रम रोकिँदैन ।’

सांसद राईले हजारौं आमाहरुको सीप र मेहनतमाथि सरकारले लात हानेकोसमेत टिप्पणी गरेकी छिन् ।

अर्थतन्त्रको अंन्तरग्रहीय पाटो
‘छ्याङ’ बन्नको लागि चाहिने ‘मर्चा’बनाउने प्रविधि पनि गाउँ गाउँमा छन् । ‘मर्चा’ बनाउनको लागि आवश्यक जडिबुटी पनि हाम्रो नेपालकै तराई तथा हिमाली भेगहरुमा प्रशस्तै पाइन्छन् । अब प्रश्न जन्मिन्छ–तर किन विदेशबाट सामान आयात भइरहेका छन् ? के यो सोचनीय विषय होइन ?

‘रक्सीको बढी सेवनले कसैलाई फाइदा गर्दैन के यो हाम्रो रक्सीमा मात्रै लागू हुने हो ?’ सांसद राई प्रश्न उठाउँछिन् ।

‘विदेशबाट अरबौं खर्च गरेर भित्र्याइएको मदिराले स्वास्थ्यलाई कुनै हानी गर्दैन तर, स्वदेशमै अर्गानिक तवरले तयार गरिएको लोकल रक्सीले चाहिँ स्वास्थ्यमा गम्भीर असर गर्छ भन्नु नै गलत हो ।’ उनको भनाई छ ।

स्वदेशमै उत्पादित मदिराले बजार पाउँदा देशकै अर्थतन्त्रमा फाइदा हुनेसमेत सांसद राई औंल्याउँछिन् । नेपालमा मदिराको प्रयोग बढ्दो छ । चाड पर्वमा त झन यसको बढी नै प्रयोग हुन्छ । कतिपय मतवाली समुदायमा पूजा-आजामा समेत संस्कार र संस्कृतिको रुपमा पनि यसको प्रयोग हुन्छ । कतिपय समुदायमा खुसीयाली, अतिथि सत्कार र मृत्यु संस्कारमा समेत यसको प्रयोग गर्ने परम्परा रहेकोले यसको महत्व अझ बढी छ ।

हिमालमा रहनेहरु चिसोबाट जोगिन तथा पहाडमा हिउँको सेप लाग्ने हुँदा जाडो भगाउन पनि रक्सी पिउने गरिन्छ ।

गरिबलाई सरकारको लात
गुन्द्रुकनेपालको मौलिक खानेकुरा हो । तर नेपाल यसको बजारीकरणमा चुक्दा व्यापार घाटा बढेको बढ्यै छ ।

‘स्थानीय रुपमै उपलब्ध स्रोत साधनको सही उपयोग गरी उत्पादन, बजार व्यवस्थापनामा ध्यान पुर्याउँदा नै हाम्रो जस्तो विकासोन्मुख देशको अर्थतन्त्रमा टेवा पुग्छ। जो पसिना बगाउँछ। जो एक छाक भोकै बस्छ। उसैको पेटमा पटकपटक लात बजार्ने निती यो सरकारले बनाइरहेको छ ।’ सांसद राई भन्छन् ।

एक छाक खानाको जोहो गर्नकै लागि बनाइएको लोकल रक्सीलाई प्रहरीले नष्ट गरिदिनाले घरेलु उत्पादन र परपरागत सीप र क्षमताको समेत नष्ट भइरहेको उनको भनाई छ । ‘बजारमा हज्जारौं हजारमा विदेशी बोटलमा रक्सी खुल्ला विक्री गर्न हुने, तर, गाउँघरमा अर्गानिक तवरले बनाइएको लाई नष्ट गर्ने प्रणाली र चलन बदल्नुपर्छ । यसले हामीले चाहे जस्तो समाजवाद आउँदैन । समाजवादको नारा लगाएर नथाक्ने सरकारले गरीबको झुपडीमा आगो बलेको नबलेको, उसको आङमा लुगा भएको नभएको हेर्ने सक्नुपर्छ ।’ उनको तर्क छ ।

विदेशी मुद्रा आर्जन गर्ने स्रोत कमजोर हुने र विदेशीलाई पैसा तिरेर किन्ने वस्तुको मात्रा बढ्ने क्रमगत आर्थिक वर्षमा पनि निरन्तर बढिनैरह्यो ।

मदिराको प्रयोग र यसको असरका बारेमा बाल्यकालबाट नै जानकारी दिन आवश्यक छ । स्थानीय विद्यालयको पाठ्यक्रममा मदिरा न्यूनीकरणसम्बन्धी विषयलाई समावेश गरी कार्यान्वयन गर्नुपर्छ ।

सांसद राई भन्छिन्, ‘मदिराको हानिकारक प्रयोगका सम्बन्धमा विद्यालय र समुदायमा रहेका समूह तथा समिति लगायतको सहकार्यमा पालिका स्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, क्रियाशील राजनीतिक पार्टी तथा तीनका भातृ संगठनहरू, सहकारी, वन उपभोक्ता समिति, आमा समूह, बालक्लबहरू, किशोरकिशोरी समूहहरू, धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि गठित समितिहरू जस्ता सरोकारवालाहरूको पहिचान गरी उनीहरूलाई मदिरा प्रयोगका कारणबाट हुने सामाजिक आर्थिक जनजीवनमा पर्ने नकारात्मक प्रभाव नियन्त्रणमा सहकार्य गर्नुपर्छ ।’

स्थानीय मदिराको विज्ञापन खोइ ?
विदेशी उत्पादनका विज्ञापन जताततै हेर्न पाइन्छ । तर विडम्बना हाम्रो उत्पादनको विज्ञापन हेर्न कतै पाइन्न । ‘हो, रक्सी खाएर केही मान्छे बिग्रिएका छन् । तर सबै नै बिग्रिएका छैनन् ।’ सांसद राईले भनेकी छन् ।

यस्तै प्रतिबन्ध लगाउने हो भने सबै खालका मदिराहरु रोक्नुपर्ने उनको भनाइ छ । ‘यस्तो भन्ने हो भने सबै ब्राण्डका रक्सीमाथि प्रतिबन्ध लगाउन पर्यो, जहिले पनि लोकल उत्पादन बरामद गरी फ्याँकिएको समाचार मात्र सुनिन्छ । विदेशी ब्राण्डका रक्सी भन्सार छलेर ल्याउँदै गर्दा बरामद भयो भने पनि फ्याँकिदैन ।’उनले आक्रोश पोखिन् ।

यस्तै उनले दक्षिण कोरियाले ‘छ्याङ’लाई आफ्नो ब्राण्ड बनाइसकेको बताउँदै ढिला गरिएको खण्डमा तोङ्बा र तीनपानेलाईसमेत अर्कैले ब्राण्ड बनाउने बताइन् ।

मदिराको बजारीकरण
उत्पादित मदिराको बजारीकरणको लागि दूधको जस्तै संकलन केन्द्र हुनुपर्ने सांसद राईको भनाई छ ।

‘दूधको जस्तै रक्सीको पनि संकलन केन्द्र बनाउनुपर्छ । प्रयोगशालामा परीक्षण गर्नुपर्छ । गुणस्तर मापन हुनुपर्छ ।  अल्कोहलको मात्रा कति प्रतिशत राख्ने हो यकिन गर्नुपर्छ । पुरानो चिजहरू हाम्रा सम्पत्ति हुन् । यो कला हो, विज्ञान हो । यो कुरा विदेशीहरू छिटो सिक्छन् र अघि बढ्छन् । हामी भने अझै पनि फ्याक्दै छौं ।’उनले भनिन् ।

यस्तै उनले लोकल रक्सीलाई ब्राण्डिङ गर्ने बहस शुरु भएको र आफूले पार्टीमासमेत कुराकानी राखेको बताइन् । १ नम्बर प्रदेशमा पनि व्यापक कुरा उठेको छ । धेरै सांसदले कुरा गर्न थालेकोसमेत छन् । ‘हामी सबैजना छलफल गरीरहेका छौं । सके सरकारले ल्याओस्, नसके गैरसरकारी विधेयकका रूपमा पेश गरेर भएपनि पास गर्नुपर्छ । जनता धनी हुने कुरा त सुन्नु पर्यो नि ।’

कच्चा पदार्थको जोहो
कुनै पनि वस्तु वा सामग्री पूर्ण हुनुको लागि त्यसको कच्चा पदार्थ नै धेरै थोक हो । लोकल रक्सीको लागि चाहिने कच्चा पदार्थ कोदो, चामल तथा गहुँलगायतका कच्चा पदार्थ उत्पादनमा समेत नेपालको प्राथमिकतामा पर्नुपर्ने सांसद राईको भनाइ छ ।

‘अब नेपालले हिमालयन मिलेट भनेर कोदो उत्पादनमा पनि जोड दिनुपर्छ । यसको उत्पादनमा कृषकहरुलाई प्राथमिकताका साथ प्याकेज ल्याउनुपर्छ ।’ सांसद राई आफ्नो धारणा सुनाउँछिन् ।

अब देश विकासको लागि पराम्परागत र मौलिक उत्पादनलाई उद्योगको रुपमा विकास गर्नुपर्छ । नेपाली रक्सीलाई सही तरिकाले निगरानी गरी ब्राण्ड बनाउनुपर्छ ।

‘खाँडीको चर्को घामको गर्मी त्यागेर स्वदेशमै यो पूर्ख्यौली भूमिमा कोदोको व्यापारमा लगाउने हो भने पनि लाखौं युवा विदेशीनु पर्दैन ।’ सांसद राईले सुझाइन् ।

नीति तथा ऐनद्वारा नै स्थानीय मदिरा ‘निषेध’
मदिरा ऐन विसं २०३१ होस् या मदिरा विक्री वितरण नियमन निर्देशिका विसं २०६५ स्थानीय मदिरालाई प्रतिबन्ध लगाएको छ ।

यसले मात्रै होइन, राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति विसं २०७३, लागूऔषध अपराध निषेध एवं मदिरा नियन्त्रण तथा नियमन अभियान विसं २०७५ लगायतका बाध्यात्मक कानूनहरु कार्यान्वयनमा ल्याएर सरकार स्थानीय मदिरामा प्रतिबन्ध लगाउँदै आएको छ ।

यसो भइरहेको किन ? के हाम्रो उत्पादन गुणस्तरहीन हो ? त्यसो त सरकारले स्वदेशी उत्पादनलाई कसरी प्रखर बनाउने भन्नेतिर सरकारले सोच्नुपर्यो । सरकारले आफ्नो उत्पादन सुधार्नतिर नसोचेरे विदेशी उत्पादनलाई भित्र्याउन किन सोचिरहेको छ ?

यदाकता भनिन्छ–‘रक्सी नखाए केही पनि हुँदैन, अन्न नखाए मरिन्छ’ कुरा सत्य हो । त्यसो त के यो नेपालमै उत्पादित रक्सीमा मात्रै लागू हुने हो र ? प्रश्न ठडिन्छ ।

भिडिओ यहाँ हेर्नुस्ः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *