कोरोनाको औषधि नेपाल आइपुग्यो, के भन्छ औषधि व्यवस्था विभाग ?

काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर इन्जेक्सन नेपाल आइपुगेको छ । सो औषधि कानुनी बाटोबाट नेपाल आइपुगेको हो ।

नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले मकालु खबरसँग कुरा गर्दै कोरोनाको औषधि नेपाल आएको बताए । अनुमति पाएको सिनर्जी ओभरसिज नामक कम्पनीले माइलन ब्राण्डको रेमडेसिभिर नामक इन्जेक्सन नेपाल ल्याएको नेपाल औषधि व्यवस्था विभागले जनाएको छ ।

सो कम्पनीले कम्पनीले हिजो बिहिबार बेलुका नै नेपाल आएको हो । रेमडेसिभिर औषधि आवश्यकताअनुसार अब सिधै अस्पतालको निगरानीमा संक्रमित बिरामीको उपचारमा प्रयोग हुनेछ । भारतबाट ल्याइएको रेमडेसिभिर कसरी प्रयोग हुन्छ भन्ने प्रोटोकल मिलाउने जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पाएको छ ।

नेपालका अस्पताल, चिकित्सक र बिरामीको निगरानीमा रेमडेसिभिर प्रयोग गर्ने छ ।

कोभिड बिरामीको उपचार गर्ने अस्पतालमा यो औषधि उपलब्ध हुनेछ । अनुसन्धानका लागि प्रयोग गरिने यो औषधिको मुल्य बिरामीले तिर्नुपर्ने वा के हुने भन्ने लगायतका बिषयमा आधिकारिक पुष्टि हुन बाँकी छ ।

विभागले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर कानुनी बाटोबाट नेपाल ल्याउनलाई गत शनिबार नेपालका तीनवटा कम्पनी यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई अनुमति दिएको थियो ।

सन् २००९ मा इबोलाविरुद्ध प्रयोग भएको रेमडेसिभिरलाई कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएकाले विश्वका विकसित देशहरुले यसको प्रयोगमा अनुमति दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *