मदनकृष्ण श्रेष्ठ, जो श्रीमतीको दिर्घायुका लागि तीजमा निराहार ब्रत बस्थे !
काठमाडौं । पछिल्लो समय नेपाली नारीहरुको महान् पर्व भनिने तीज नारीहरुकै लागि ‘बोझ’ बन्न थालेको छ । रहरै रहरमा जमेको तीज अचेल ‘कहर’मा परिणत भएको छ ।
कतिपय महिलाहरुले त तीजमा बसिने कट्टर व्रत र रिती–रिवाजकै कारण महिलामाथि पुरुषको शासनले निरन्तरता पाउँदै आएको निष्कर्ष समेत निकाल्न भ्याइसके । पश्चिमा संस्कृतिले डेरा जो जमाएको छ, होटल रेष्टुराँ जाने, वियर खाने थिती बसाल्दै छन् !
महिलाले आफ्नै पर्वलाई बोझ मान्दै गएका कारण पनि अचेल बजारमा आउने तीजका गीत आक्रोश र उछृंखलताले भरिपूर्ण हुन्छन् । नारीको श्रृंगार मानिने सारी, चुरा, पोते लगाउनुको सट्टा मिनिस्कर्ट र क्लिजभेजमा मज्जाले वियरका बोतल ठोक्काएर तीज मनाउन सन्देश जारी गर्छन् कलाकार । हाम्रो समाजमा सकारात्मकता भन्दा नकारात्मकता बढि नै बिक्छ । त्यहि भएर आजकल तीजको नाममा बढि नै विकृति-विसंगति भित्रिएका छन् ।
कतिपय महिलाहरु भने संस्कृति जोगाउन तथा श्रीमानप्रतिको प्रेम झल्काउनका लागि पनि व्रत बस्ने गर्छन् । कोही भने पुरुषले पनि आफ्नो दिर्घायुका लागि व्रत बसिदिउन्, आफ्नो ख्याल राखुन्, आफूले जति नै प्रेम गरुन् भन्ने चाहन्छन् । तर सबैले कहाँ पाउनु मदनकृष्ण श्रेष्ठ जस्तो श्रीमान्, जसले आफ्नी श्रीमतीको दिर्घायुका लागि व्रत बसे !
हुन त हाम्रा समाजमा श्रीमतीको सूस्वास्थ्य र दिर्घायूकै लागि व्रत बस्ने पुरुषहरु पनि होलान् तर, मात्र ती अपवादमा पर्ने खुल्ला हृदयका मान्छे हुन् कलाकार मदनकृष्ण श्रेष्ठ ।
हिन्दु समाजमा प्रेमको उदाहरण दिनुपर्दा राम–सीता र राधा–कृष्णको दिइन्छ । तर मदन न रामजस्ता न कृष्ण । उनी त शिवजस्तै लाग्छन् । भलै शिवले जस्तो खरानी नघस्लान्, गाँजा नखालान् मदनले । तर मदनको पत्नी प्रेम भने, शिवजीले सतिदेवीलाई गरे जस्तै छ ।
सतीको भन्दा कम थिएन यशोदाको प्रेम पनि । मदनका लागि उनले जन्मदिने बा–आमा समेत त्यागिन् सतीले जस्तै गरी । मदनलाई पाउन उनले न धन हेरिन् नत सम्पत्ति नै । उनीहरुको प्रेम निःस्वार्थ र पवित्र थियो त्यही भएर जीवनभर एकअर्कामा आदर, सम्मान एकले अर्कालाई व्यक्त गरिरहे ।
यी दुवैको प्रेम अधुरोमा पनि साँच्चै मिठो रह्यो !
केही साताअघि मकालु खबरसँगको कुराकानीमा वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रीमती र प्रेमको प्रसंगमा निकै भावुक सुनिए । उनको आँखामा पत्नी वियोग छचल्किएको थियो आँशु बनेर । दुई वर्ष बढी भयो यशोदासँग विछोडिएको, जुन अझै आलै छ मुटुमा । घाउ बनेर बसेको छ, क्यान्सर जस्तै ! कहिल्यै निको नहुनेगरी !
सुस्तरी सुनाएका थिए मदनले प्रेम, विवाह र वियोग…!
मदन र यशोदाको अन्तरजातिय प्रेम विवाह भएको थियो २०३० सालमा । मदन नेवार, यशोदा (सुवेदी) ब्राम्ह्ण । विवाह भएको ५ महिनामै यशोदाका पिता बिते । अन्तिम समयमा पनि उनले पिताको मुख देख्न पाइनन् । सबैले पिताको मृत्युको दोष उनैको टाउकामा थुपारे । कयौँ रात छट्पटिमै काटिन् यशोदाले । सतीले जस्तैगरी । जसरी शिवले सतीको पीडामा मल्हम लगाउन अनेक तरहका कहानी सुनाउँथे, त्यस्तैगरी मदन उनलाई प्रफुल्ल पार्न हरसम्भव प्रयास गर्थे ।
विवाह भएको एक वर्षसम्म त आमाको मुख समेत देख्न पाइनन् यशोदाले । कयौँ वर्षसम्म माइतीका आफन्तलाई भेटिनन्, अन्तरजातिय विवाहकै कारण । न दशैँ, न तिहार, न तीज । कुनै चाडपर्वमा पनि एउटी विवाहिता नारीले माइती जाँदा कस्तो आभाष गर्छिन्, त्यो महशुष गर्नै पाइनन् उनले ।
३९ औँ बैवाहिक वर्षगाँठमा हो, उनले माइतीबाट आफ्ना पतिको प्रशंसा सुन्ने अवसर पाएको । बुहारीले जुराइदिएकी थिइन् त्यो संयोग । कु–जातसँग विवाह गरेको भन्दै तिरस्कार गर्ने आफन्तका मुखबाट पति (मदन) को प्रशंसा सुन्दा गद्गदिएकी थिइन् यशोदा !
तर सतीका लागि भने यो अवसर कहिल्यै जुरेनन् । सतीका पिता दक्षप्रजापतिबाट सधैँ अपहेलित भए शिव । सबै दिदीबहिनीलाई बोलाउँदा चाडपर्वमा, सतीलाई भने कहिल्यै बोलाएनन् दक्षप्रजापतिले । सतीको रतिभर वास्ता गर्दैन थिए पिता, महादेव (शिव) कै भरमा काटिन् जीवन । उनलाई माइतीको अभाव र पिताको दुर्वचन महशुष हुनै दिएनन् महादेवले पनि ।
तर चेलीको मन न हो, किन मान्थ्यो ! नमानेपनि जबरजस्ती मनाउनै पर्ने रहेछ ।
सञ्चय कोषको जागिरबाट गाढा हुँदै सुरु भएको मदन–यशोदाको प्रेम कहिल्यै फिक्का भएन । मेहन्दी जस्चमे कहाँ हो र प्रेम ? लगाएको दिनमा गाढा, भोलिपल्टबाटै फिक्का अनि पर्सिपल्ट मेटिएर जाने ! प्रेम त वायु जस्तै हो, जुन विनाको संसार कल्पना समेत गर्न सकिँदैन !
हो, यस्तै थियो मदनको जोडी पनि । एक विना अर्को अधुरो । अपुरो ।
सुख, दुःख दुवैले सँगसँगै काटे, सँगसँगै साटे । कहिल्यै रुन दिएनन् मदनले यशोदालाई । सधैं हँसाइरहन्थे !
जीवनमा पहिलो पटक कोही केटी मन परेको थियो मदनलाई, जो थिइन् यशोदा । त्यसैले पनि संसारका सबै खुशी यशोदाको पोल्टामा भर्ने प्रयत्नमा लागिरहन्थे मदन ! ‘मन परेपछि, माया लागेपछि संसारमा जतिसुकै राम्रा केटीहरु भएपनि कोही मन नपर्दो रहेछ । कसैमा आँखा नजाँदो रहेछ । मान्छेको स्वभाव बडो अच्चमको हुने रहेछ’, मदन भन्छन् ।
तर सोचेजस्तो नहुँदो रहेछ जीवन । सँगै जिउने, मर्ने कसम खाएका उनीहरुको सहयात्रा बीच बाटोमै टुंगियो । ४४ वर्षको मात्रै रहेछ उनीहरुको प्रेमको आयु ! जब यशोदालाई क्यान्सर भएको थाहा भयो, त्यस दिन उनलाई हँसाएर एक घण्टासम्म कोठाभित्र आफूलाई थुनेर बेस्सरी रोएका थिए मदन । क्यान्सर निको होला, उनी अझै केही समय बाँच्लिन् कि भन्ने आशामा एकोहोरिएर ६ वर्षसम्म उनको उपचारमा लागे ।
यशोदाको दिर्घायुको कामना गर्दै ६ वर्षसम्म तीजको व्रत पनि बसे, पानी समेत नखाइ !
तर क्यान्सर गढिसकेका कारण उनको व्रतले खासै प्रभाव पारेन यशोदाको स्वास्थ्यमा । लाखौँ कोशिस गरे बचाउन, तर सकेनन् । अन्ततः २०७४ सालमा मदनलाई एक्लै छोडेर धर्तीबाट पलायन भइन् यशोदा !
हुन पनि दैवको लीला न हो, मनुष्यले चाहेर कहाँ रोकिन्छ र कोही कसैको प्राण ! भगवान शिवले त सकेनन् पत्नी बचाउन भने मदनको के लाग्थ्यो ! त्यसमाथि सृष्टिको नियम न हो जन्मेपछि मृत्यु निश्चित ।
यशोदा बितेको अहिले दुई वर्ष भयो । युट्युबमा भएका उनको दाहसंस्कारका भिडियोहरु हेरेर अझै पनि रुन्छन् रे मदन एकान्तमा ।
लोग्ने मान्छेको मन कठोर हुन्छ भन्थे, होइन रहेछ ! रुनु हुँदैन भन्थे, आँशु त खस्दोरहेछ !
आमाको माया कस्तो हुन्छ थाहा नै पाएनन् मदनले । यशोदाले सबैको माया बिर्साउने ‘माया’ दिइन् । सयमा सय प्रतिशत । त्यसैले पनि यशोदालाई बिर्सन सक्दैनन् मदन ।
बितेका पल सम्झँदै उनी भन्छन्–‘यशोदासँग मेरो बेग्लै अट्याच्मेन्ट छ । उनले दिएको साथ, प्रेम र समझदारीले मलाई अझै पनि छुन्छ । भावुक हुन्छु । रुन्छु म एक्लै !’
ती शब्द निकाल्दै गर्दा उनका ओठहरु कापीरहेका थिए । भिजेका थिए परेली । यशोदाको सम्झनामा मदनले गीत समेत लेखेका छन्– ‘रात है भरी तिमीसँग मैले कुरा गरेको गर्यै थिएँ, सँगसँगै हिँडौँ भन्दैथ्यौ मलाई, किनकी म अलि परै थिएँ…।’ यी गीत सम्झँदा मात्रै पनि उनको मन हलचल हुन्छ !
प्रेम उस्तै रहेपनि पत्नी वियोग भने अलिकति फरक रह्यो मदन र शिवको । सतीले आफ्ना पतिको अपमान सहन गर्न नसकी अग्निकुण्डमा हाम फालेर आत्मदाह गरिन् भने यशोदालाई क्यान्सरले मदनबाट अलग्यायो ।
सतीले त पार्वतीको रुपमा अर्को जन्म लिइन् शिव प्राप्तिकै लागि । आफ्नो वियोगमा बहुलाएका शिवको मन रिझाउन पुनः कैलाशसम्म आइपुगिन् । साँच्चै मदनले पनि अर्की यशोदा पाइदिए !