वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर अस्पताल र बर्दिवास अख्तियारमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत थप एक जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिष्ठानको एमआइसीयू, पीआइसीयूमा कार्यरत ३० वर्षीया एक नर्समा संक्रमण भएको पुष्टि भएको हो । उनी धरान ११ सयपत्री चोककी हुन् । संक्रमीत ती नर्स हाल प्रतिष्ठानको गेष्ट हाउसस्थित क्वारेन्टिनमा रहेकी छिन् ।
यसअघि संक्रमण पुष्टि भएको नर्सहरुको कन्ट्याक ट्रेसिङको क्रममा उनको पनि स्वाब लिएर परीक्षण गरिएको थियो भने सोही परिक्षणको क्रममा संक्रमीत भएको पुष्टि भएको हो ।
यस्तै, प्रतिष्ठानकै कोभिड १९ अस्पतालमा भर्ना गरिएका एक बिरामीमा पनि संक्रमण पुष्टि भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।
यसबाहेक गाइनो वार्डमा संक्रमण पुष्टि भएका एक महिलाको कुरुवामा पनि संक्रमण पुष्टि भएको डा. सापकोटाले बताएका छन् । कन्ट्याक ट्रेसिङबाट उनको स्वाब लिएर परीक्षण गरिएको थियो ।
प्रवक्ता सापकोटाका अनुसार हेल्प डेस्कमा आफैँ आएर स्वाब दिएका अन्य ३ जनाको पनि रिपोर्ट पोजेटिभ आएको छ । तर, उनीहरु कहँका हुन् भनेर प्रष्ट भइनसकेको बताएका छन् ।
उता धरान १० स्थित रहेको विययपुर हस्पिटलमा कार्यरत एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार हस्पिटलको ५४ वर्षीय रेडियोग्राफरमा संक्रमण देखिएको हो ।
उनी धरान १७ स्थित आदर्श मार्गमा डेरा गरी बस्ने व्यक्ति रहेको बताइएको छ । उनले यसअघि विजयपुर हस्पिटलमा संक्रमण पुष्टि भएका विरामीको एक्स रे समेत गरेको पाइएको मेहताले बताएका छन् ।
उता विजयपुर अस्पतालका निर्देशक प्रभाव खतिवडाले संक्रमित रेडियोग्राफरलाई आइसोलेसनमा राखिएको जनकारी दिएका छन । उनी ५ दिनदेखि आइसोलेसनमा पठाएको र ज्वरो आएपछि वीपीमा जाँच गराउदा रिपोर्ट पोजेटिभ आएको निर्देशक खतिवडाले जानकारी दिएका छन् ।
खतिवडाका अनुसार अस्पतालका अनय सबै स्टाफहरुको परीक्षण गरिरहेको छ । त्यस्तैगरी वर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत धरानका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
उनी वर्दिवासस्थित अख्तियारमा कार्यरत भएपनि घर धरानको वडा नं १७ रत्न चोकमा रहेको छ । उनी हाल धरान स्थित घरमा नै छन् । करिब १० दिनदेखि ज्वारो आएपछि उनले वर्दिवासमा नै स्वाब दिएका थिए भने धरान आएर पनि स्वाब परीक्षण गराएका थिए ।
उनी होम आइसोलेसनमा नै बस्ने जानकारी गराएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले जानकारी दिएका छन् । यसैबीच वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमित व्यक्तिलाई प्लाज्मा थेपारीबाट उपचार गरिएको छ ।
धरान १५ का ६९ बर्षीय वृद्धलाई प्लाज्मा थेपारी विधिबाट हिजो राति उपचार गरिएको हो । उनको स्वास्थ्य गम्भीर भएपछि कोभिड अस्पतालको आइसीयूमा राखेर उपचार भइरहेको थियो ।
कोभिड १९ निको भइसकेका एक प्रहरी हवल्दारले रक्तदान गरेपछि उनलाई प्लाज्मा थेपारी विधिबाट उपचार गरिएको हो । वीपीमा यो दोस्रो प्लाज्मा थेरापी उपचार हो ।
यसअघि पनि धरान १५ का एक व्यक्तिलाई प्लाज्मा थेपारीबाट उपचार गरिएको थियो । प्रतिष्ठानको मेडिसिन विभागका प्रमुख एवं सरकारद्धारा प्लाज्मा थेपारी उपचारबारे गठित केन्द्रीयस्तरको समितिका सदस्य समेत रहेका प्राडा सञ्जिव शर्माले शुक्रबार राति नै संक्रमित व्यक्तिलाई प्लाज्मा दिइएको जानकारी दिएका छन् ।