काठमाडौँको बानेश्वरमा स्वास्थ्यकर्मी बसेको होस्टेल घेराउ, सञ्चालकलाई धम्की

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा स्थानीयले डाक्टर नर्स बस्ने एक होस्टेल घेराउ गरेका छन् । सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बस्ने लर्डबुद्ध बोइज एण्ड गर्ल होस्टेललाई आज(शनिवार) बिहान स्थानीयले घेराउ गरेका हुन् ।

होस्टेलका सञ्चालक रोहित रानालाई धम्की तथा गालीगलौज गर्दै स्वास्थ्यकर्मीलाई होस्टेलमा किन राखेको भन्दै घर घेराउ गरेको सञ्चालक रानाले बताएका छन् । रानाका अनुसार स्थानीय ५०/६० जनको टोली आएर घर घेराउ गरेका थिए । उनीहरूले अनुमतिबिना होस्टेलमा स्वास्थ्यकर्मी किन राखेको भन्दै दुर्व्यवहार गरेको रानाको भनाइ छ ।

उनका बानेश्वरमा २ वटा होस्टेल रहेकोमा एउटा खाली भएकोले भदौ ४ गतेदेखि केही स्वास्थ्यकर्मीलाई राखेको रानाको भनाइ छ ।

सञ्चालक रानाका अनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सुरक्षित रूपमा राख्नका अस्पतालले रानासँग आन्तरिक सहमति गरेको थियो । सोही सहमति अनुसार ४ गतेदेखि ४ जना स्वास्थ्यकर्मी होस्टेलमा बस्न थालेको रानाले बताए ।

स्थानीयको उक्त दुर्व्यवहारले आफूलाई मानसिक समस्या भएको रानाले बताएका छन् ।

सिंहदरबार नजिकैको राजधानीमा पनि स्वास्थ्यकर्मी माथि यस्तो दुर्व्यवहार हुनु कतिसम्मको निन्दनीय काम हो ? सरकारले पटक पटक स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नगर्नु भन्दा पनि स्थानीयले यस्तो गर्नुमा स्थानीय सरकारको भूमिका के रहन्छ ? स्थानीय सरकारलाई दिएको जिम्मेवारी पनि सरकारले नै पुरा गर्ने हो ? आज स्वास्थ्यकर्मीमाथि नै दुर्व्यवहार गर्नेले सर्वसाधारणलाई कोरोना सङ्क्रमण भएको थाहा पाए कस्तो व्यवहार गर्लान् ?

सरकारले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको पाइए कानुन अनुसार कारबाही हुने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *