दुहवीबासीलाई कोरोनाको डर लाग्दैन !, प्रदेश १ मा आज कति थपिए संक्रमित ?

सुनसरी । कोरोना भाइरसको महामारीका कारण सर्वसाधारण घरभित्रै बसेको बेला सुनसरीको दुहवीबासी भने निर्वाध रुपमा सडकमा हिँडिरहेका छन् । कोरोनाको हट स्पट बन्दै गएको दुहवीमा स्थानीय उद्योगी, व्यापारीलाई लकडाउनको मतलव छैन भने कोरोना लाग्छकि भन्ने त्रास समेत छैन ।

तस्विरः आसिफ अन्सारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको भएपनि यहाँका उद्योगी, व्यापारी र सर्वसाधारण निर्वाध रुपमा बजारमा ओहरदोहर गरीरहेका छन् । दुहवीको मुख्य बजारमा अहिलेपनि पान पसलदेखि होटल, हार्डवेयरहरु खुलिरहेका छन् । केही पसल सञ्चालकहरुले आधा सटर खोलेर कारोबार गरीरहेका छन् ।   

दुहवीमा नगरपालिकाले कोरोना भाइरस समुदाय स्तरमै फैलिइसकेको भन्दै स्थानीयबासीलाई सचेत गराईरहेको भएपनि नागरिकहरु सचेत बनेका छैनन् । ‘नगरपालिकाले कोरोना सर्छ, घरभित्रै बसौं, भिडभाड नगरौं भन्दापनि यहाँका व्यापारी र स्थानीयलाई लागेन । दिनप्रतिदिन संक्रमण बढ्दो छ ।’ इजिकेयर मेडिकलका सञ्चालक आसिफ अन्सारीले भने ।

दुहवीमा यातायातका साधनपनि चलिरहेका छन् । सिटि सफारी, टेम्पो, रिक्सा तथा छोटो दुरीका सवारी साधनहरु चलेका छन् । मानिसहरु सामान्य मास्क समेत लगाई, सामाजिक दुरी कायम नगरी हिँडडुल गरेपनि स्थानीय प्रहरी प्रशासनको ध्यान गएको छैन । दुहवी नगरपालिकाले स्थानीय तहमा सचेतना कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी भएको छैन ।

प्रदेश १ मा थपिए १०९ जना नयाँ संक्रमित

२४ घण्टामा प्रदेश १ मा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २९ महिला र ८० पुरुष रहेका छन् । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार मोरङ र सुनसरीमा ४८–४८, झापामा ८, खोटाङमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको जनाएको छ ।

मोरङको विराटनगरमा १० महिला १६ पुरुष, धनपालथानमा २ महिला ६ पुरुष, ग्रामथानमा १ महिला ५ पुरुष कोरोना संक्रमित छन् । यस्तै बेलबारीमा १ महिला २ पुरुष, बुढीगंगामा २ पुरुष, रंगेलीमा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेकी १ महिलामा संक्रमण पुष्टि भएको छ ।

यता सुनसरीको दुहवीमा २ महिला १४ पुरुष, इटहरीमा ४ महिला ४ पुरुष, भोक्राहानरसिंहमा ६ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, बराहक्षेत्रमा ३ पुरुष, इनरुवामा १ महिला २ पुरुष थपिएका छन् । धरानमा ३ महिला, बराहक्षेत्रमा ३, गढीमा १ र स्थानीय तह नखुलेको एक पुरुषको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

झापाको भद्रपुरमा १ महिला ३ पुरुष, कमलगाउँपालिकामा १ महिला १ पुरुष, दमक र गौरीगञ्जमा १–१ पुरुष, खोटाङको दिक्तेलामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ८ सय ३२ पुगेको छ ।

प्रदेश १ मा आज ४९ डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ३३२ पुगेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा आज २ हजार ३९ जनाको पीसीआर परीक्षण गरिएको छ । सामाजिक विकास मन्त्रालयले हाल सम्म ८० हजार ७४५ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *