कांग्रेस सभापति देउवाले क्रियाशिल सदस्यता नै नभएकालाई दिए सचिवको पद
काठमाडौं । गुट उपगुटको राजनीतिमा रुमलिएको नेपाली कांग्रेसलाई रसातलमा पुर्याउने काम स्वयं पार्टी सभापतिले गरेका छन् । पार्टीका इमान्दार वर्षौंदेखि कांग्रेसको सिद्धान्तमा काम गरेका कार्यकर्तालाई लात हान्दै शेर बहादुर देउवाले बाहिरकालाई धमाधम विभिन्न पदहरुमा राख्न थालेपछि झनै विवाद भइरहेको छ ।
यसैक्रममा सभापति देउवाले क्रियाशील सदस्य नै नरहेको व्यक्तिलाई नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा मनोनीत गरेका छन् । वित्तीय क्षेत्रमा अत्यन्त विवादित व्यक्तिका रुपमा रहेका सुरेन्द्र भण्डारीलाई देउवाले गत साउन २५ गते सचिवमा मनोनित गरेका हुन् । विभागको संयोजक कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद आनन्दप्रसाद ढुंगाना छन् ।
कांग्रेस उपसभापति विमलेन्द्र निधि निकट मानिने ढुंगानाको सिफारिसमा देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम नेपाली कांग्रेस वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव भण्डारीलाई मनोनीत गरेको भएपनि उनीसँग कांग्रेसको क्रियाशिल सदस्य समेत नरहेको चर्चा छ ।
विभागमा मनोनीत हुन क्रियाशील सदस्य रहनुपर्ने व्यवस्थालाई देउवा र निधिले लत्याएर भण्डारीलाई सचिबको टिका लगाइदिएका हुन् । गोरखा जिल्ला स्थायी घर भएका भण्डारी नेपाली कांग्रेसमा भन्दा पनि पूर्वमाओवादी तिर सक्रिय छन् । उनको तत्कालीन माओवादीका नेता एवम् पूर्वसभामुख कृष्णबहादुर महरा सँग राम्रो सम्बन्ध छ ।
भण्डारीले ललितपुरको पुल्चोकमा लालिगुराँस सहकारी चलाउँदै आएका छन् । भण्डारी तिनै व्यक्ति हुन् जसले गायक रामकृष्ण ढकालको श्रीसम्पत्ति पचाउन ठूलै सड्यन्त्र गरेका थिए । सो सहकारीको लगानीमा लालीगुराँस राष्ट्रिय माध्यमिक विद्यालय, लालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र लालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् ।
स्रोतका अनुसार विवादित छविका भण्डारीले उपसभापति निधिको ‘महेन्द्रनारायण निधि स्मृति अस्पताल’लाई रकम चलाउन दिएका छन् । विभागका प्रमुख तथा केन्द्रीय सदस्य ढुंगाना समेत उनै भण्डारीले दिएको गाडीमा सयर गर्ने गर्छन् ।
विभागमा सदस्य र पदाधिकारी बन्न आर्थिक चलखेल भएको आरोप लागिरहेका बेला सहकारी विभागका सचिव भण्डारीमाथि ठूलो प्रश्न उब्जिएको छ । ‘जो अगुवा उही बाटो…’ भने झैं पार्टी सभापति नै विधि विधान विपरित काम गर्न थालेपछि अब कांग्रेसलाई कसले माथि उठाउला चर्चा छ ।