‘अप्ठेरो परेका नागरिकलाई स्वदेश फर्काउन देश अनुसार उद्धार नीति बनाऊ’

काठमाडौं । विदेशमा अप्ठेरोमा परेका नेपालीलाई स्वदेश फर्काउन देश अनुसार फरक फरक उद्धार नीति बनाउन संसदको महिला तथा सामाजिक समितिले सरकारलाई निर्देशन दिएको छ ।

आज विभिन्न देशका राजदूत, गैरआवासीय नेपाली संघ (एनआएनए) का प्रतिनिधि र विभिन्न मन्त्रालयका प्रतिनिधिसँग प्रविधिको माध्यमबाट छलफल गर्दै समितिले सरकारलाई निर्देशन दिएको हो ।

कुन देशको समस्या कस्तो हो, कस्ता नेपालीहरुलाई उद्धार गर्नुपर्ने र सम्बन्धित देशमा कोरोना भाइरस (कोभिड–१९) को अवस्था के छ भन्ने समेत नहेरी सरकारले विदेशमा रहेका नेपाली उद्धारमा एउटै नीति लिँदा समस्या भएको राजदुतहरुको गुनासो सुनेपछि सरकारलाई निर्देशन दिइएको समितिकी सभापति सांसद निरुदेवी पालले बताइन् ।

छलफलमा राजदुतहरुले सरकारले खोलेको नियमित उडान र स्वदेश फिर्ता गराउनुपर्ने नेपालीबीच तालमेल नमिलेको बताएका थिए । यस्तै समितिले वैदेशिक रोजगारीमा देखिएका समस्या दीर्घकालीन समस्या समाधानका लागि तत्काल संयन्त्र बनाउन पनि निर्देशन दिएको सभापति पालले बताइन् ।

संयन्त्रमा एनआरएनए, महिला मन्त्रालय, पर्यटन मन्त्रालय, श्रम परराष्ट्र मन्त्रालय र राजदुतवासहरुको सहभागितालाई ध्यान दिन भनिएको छ ।

यस्तैगरी महिला तथा सामाजिक समितिले वैदेशिक रोजगारीमा रहेका नेपाली महिलाको संख्या यकीन गर्न पनि सरकारलाई निर्देशन दिएको छ । ‘महिला कामदारहरुको तथ्याङ्क यकीन नहुँदा पनि समस्या भएको छ । महिला कामदारको विवरण तत्काल अद्यावधिक गर्न र उद्धार गर्न तथा नेपाल आएपछि मनोसामाजिक परामर्शको व्यवस्था मिलाउन समिति निर्देश गर्दछ’ सभापति पालले भनिन् ।

बैठकमा अवैधानिक रुपमा विदेश गएका नेपालहरु ठूलो समस्यामा रहेको ठहर गर्दै अवैधानिक रुपमा विदेश जाने कार्य शून्यमा झार्ने गरी काम गर्न सम्बन्धित निकायहरुलाई समितिले निर्देशन दिएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *