कारबाही गर्न थालेपछि मास्क प्रयोग गर्ने बढे

डोटी । मास्क प्रयोग नगरी सार्वजनिक स्थान तथा बजारमा हिडडुल गर्नेलाई प्रहरीले कारबाही गर्न सुरु गरेको छ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि सार्वजनिक स्थान, बजार तथा पशलमा मास्क प्रयोग नगरी हिडडुल गर्नेलाई जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलको ३६ नम्बर गणबाट खटिएको प्रहरी टोलीले चेतावनी स्वरुप १ सय रुपैयाँ जरिमाना तिराउन सुरु गरेको हो ।

फिल्डमा खटिएको प्रहरी टोलीले बिहीबारसम्म कम्तिमा पनि ४ सय भन्दाबढी मास्क प्रयोग नगरी हिड्नेलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मास्क प्रयोग नगरी बजार हिड्नेलाई कारबाही गर्न थालेपछि त्यहाँका स्थानीय अहिले मास्क प्रयोग गर्न थालेका छन् ।

मास्कको प्रयोग नगरी हिँड्ने तथा सवारी साधन चलाउनेलाई कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले बताए । प्रहरी नायव निरीक्षकको कमान्डमा त्यहाँका प्रमुख व्यापारी केन्द्र तथा बढी मानिसको भीडभाड हुँने क्षेत्रमा प्रहरी टोली खटिएको प्रहरी प्रमुख तथा एसपी पाण्डेले जानकारी दिए ।

प्रहरीले कारबाही गर्न सुरु गर्नु अघि जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको समन्वयमा एक सातासम्म मास्क प्रयोग गर्न सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *