पर्यटन मन्त्रीको निर्देशन : उपत्यका वरिपरी ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गर्नु
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले काठमाडौं उपत्यका वरिपरी पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।
मन्त्रालयमा आज नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक विदाको दिनमा उपत्यका वरिपरी पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग, साईकलिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन् ।
उनले प्रदेश स्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्न समेत निर्देशन दिएका हुन् । मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सातवटा भाषा नेपाली, हिन्दी, चाईनिज अरवी पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामाग्री तयार गर्न आग्रह गरे।
मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितब्ययिता कायम गर्न निर्देशन दिए । विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिएका हुन् । उनले पर्यटन बोर्डका पदाधिकारीहरुलाई कोभिड १९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गर्दै विश्व सम्पदा, हिमाल, ट्रेकिङ सिमसार, म्युजियम निकुञ्ज लगायतका भर्चुअल टुरका सामाग्री तयार गर्न निर्देशन दिएका हुन् ।
मन्त्री भट्टराई अहिलेको खोज अनुसन्धान, योजना निर्माण रिर्पोट तथा पर्यटकीय क्षेत्रका वृत्त चित्र लगायत सामाग्रीहरु प्रकाशन तथा प्रशारण गर्न आग्रह गरे । उनले कोभिडका कारण पर्यटन व्यवसायी, पर्यटन मजदुर लगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा शुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिएका हुन् ।
उनले विभिन्न देशमा रहेका पर्यटन डेक्सलाई सक्रिय बनाई स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका संघ संस्थाहरुसँग नेटवर्क विस्तार गर्न समेत आग्रह गरे । कोभिड १९ ले सबै भन्दा बढी असर पर्यटन क्षेत्रमा परेका भन्दै मन्त्री भट्टराईले कोभिड पछि पर्यटन उत्थानका लागि के के गर्न सकिन्छ त्यसको आवश्यक योजना बनाउन समेत आग्रह गरे ।
मन्त्री भट्टराई नेपालमा स्वास्थ्य, शिक्षा, खेलकुद पर्यटनको संभावनाका बारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गरे ।
छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मीले आर्थिक वर्ष २०७६/७७ को प्रगति र ७७०/७८ का कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।