कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला–एक्लै जित्न सकिन्न : मेयर शाक्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना जस्तो अदृष्य शत्रुसँगको लडाईँ एक्ला एक्लै जित्न नसकिने बताएका छन् । मेयर शाक्यले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाको लडाईँ जित्न एक्लैले सम्भव नहुने हुँदा सबैजना आ–आफ्नो ठाउँबाट लाग्न अपिल गरेका हुन् ।
उनले भने, ‘स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न र संक्रमित भनेर कसैलाई कसैले दुर्व्यवहार नगर्न पनि विनयपूर्वक आग्रह गर्दछु ।’
मेयर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरेका छन्। उनले भनेका छन्,‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ, । उनले यही ऊर्जाले कोरानालाई परास्त गर्न आफूलाई थप हौसला प्राप्त भएको बताएका छन् । उनले भने, ‘म छिट्टै कोरोनालाई परास्त गरी तपाईँहरुको सेवामा समर्पित हुने अटल विश्वास व्यक्त गर्न चाहन्छु’
उनले उच्च सावधानी अपनाउँदै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनसँगै कोरोनाको कहरबाट काठमाडौँ र उपत्यकावासीलाई जोगाउने अभिप्रायका साथ अहोरात्र कार्यक्षेत्रमा खटिरहेको अवस्थामा आफूलाई संक्रमण पुष्टि भएको बताए। उनले भने, ‘विश्व नै अहिले कोरोनाको कहरमा छ, नेपालमा पनि हरेक दिन कोरोना संक्रमितको संख्यामा वृद्धि हुँदै गैरहेको छ, संघीय राजधानी काठमाडौँ उपत्यका र काठमाडौँ महानगरपालिकामा समेत संक्रमितको संख्या दिनहुँ बढिरहेको छ ।’
भदौ १४ गते आइतबार उनी धर्मपत्नीलाई एक सय डिग्री भन्दा बढी ज्वरो देखिएको र दुबै जना नियमित परीक्षणका लागि ग्रान्डी अस्पताल पुगेर परीक्षण गर्ने क्रममा कोरोना पोजेटिभ देखिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् । धर्मपत्नीको भने कोरोना नगेटिभ देखिएको उनले बताए। उनले कोरोनाको रिपोर्ट पोजेटिभ आए पनि मनोबल उच्च रहेको र अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको बताएका छन्।
विज्ञप्तिमा भनेका छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ, अहिले म र मेरो परिवार होम आइसोलेसनमा स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित बसिरेहको जानकारी गराउन चाहन्छु, जनताको कामलाई सर्वोपरि ठानी निरन्तर समर्पित हुने सिलसिलामै म संक्रमित भएको छु । होम आइसोलेसनमा रहे पनि काठमाडौँ महानगपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग निरन्तर समन्वयमा रहेर कोरोना रोकथाम र नियन्त्रणको प्रयासमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’
उनले अहोरात्र खटिरहेका जनप्रतिनिधि र कर्मचारीप्रति सम्मान व्यक्त गरेका छन् । ‘कोरोनाको कहर कहिलेसम्म रहन्छ भन्ने कुनै यकिन छैन।यस्तो अवस्थामा उच्च सतर्कता र सावधानी अपनाउँदै सेवा–प्रवाहमा लाग्न पनि म जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्दछु, काठमाडौँ महानगरपालिका र उपत्यका नगरपालिका फोरमका दैनन्दिन कामलाई निरन्तर अघि बढाउन प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले विज्ञप्तिमा भनेका छन् ।