काठमाडौं उपत्यकामा निषेधाज्ञामै थपिए दोब्बर संक्रमित

काठमाडौं । १५ भदौमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यमा कोरोना पोजिटिभ देखियो । त्यसअघि १२ भदौमा सांसद तथा उद्योगी विनोद चौधरीमा संक्रमण पुष्टि भयो । त्यसको भोलिपल्ट डा. भोला रिजाल दम्पतीको रिपोर्ट पनि पोजिटिभ आयो ।

कोभिड–१९ संक्रमणका यी सबै हाइप्रोफाइल केस ४ भदौमा उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेपछि देखिएका हुन् । निषेधाज्ञा लागू गरिएको बुधबार दुई साता पूरा भएको छ । तर, निषेधाज्ञाका बाबजुद संक्रमण घट्नु साटो बढ्दो क्रममा छ । बरु निषेधाज्ञा जारी भएपछिका १४ दिनमा उपत्यकामा अघिल्लो ६ महिनामा भन्दा धेरै संक्रमित थपिएका छन् । हाल होम आइसोलेसन रहेका मेयर शाक्य सबैलाई सावधानी अपनाउन आग्रह गर्छन् । भन्छन्, ‘संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ, उपत्यकामा संक्रमण फैलिन नदिने प्रयासमा हामी निरन्तर जुटिरहेका छौँ ।’

१० माघदेखि ३ भदौसम्म उपत्यकामा दुई हजार पाँच सय आठजनामा मात्र संक्रमण देखिएको थियो । ४ भदौयता यो संख्या बढेर ६ हजार पाँच सय ९३ पुगेको छ । चीनको वुहानबाट आएका ३२ वर्षे युवकमा १० माघमा नेपालमै पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । नेपालगन्जका स्थायी बासिन्दा उनी वुहानबाट फर्केर काठमाडौंमा बसिरहेका थिए ।

लापरबाहीको परिणाम

विज्ञहरू निषेधाज्ञाका बाबजुद संक्रमण बढ्नु भनेको त्यसअघि लकडाउन खुकुलो भएका बेलामा गरिएको लापरबाहीको परिणाम मान्छन् । ‘यसले लकडाउन खुल्नेबित्तिकै हामीले कुन हदसम्मको लापरबाही गरेका रहेछौँ भन्ने पुष्टि गर्छ,’ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन भन्छन् ।

सरकारले ११ चैतदेखि लागू गरेको देशव्यापी लकडाउन ६ साउनदेखि खुलेको थियो । त्यसयताको करिब एक महिनामा उपत्यकावासीले स्वास्थ्य सावधानी नअपनाउँदा समुदायस्तरमा संक्रमण फैलिएको डा. पुन बताउँछन् । ‘धेरैले मास्क लगाएका छन्, तर सही तरिकाले नलगाएका पनि हुन सक्छन्,’ उनी भन्छन्, ‘संक्रमण फैलिनुको अर्को कारण मानिसले निरन्तर साबुनपानीले हात नधुनु पनि हो ।’

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे अहिले नै निषेधाज्ञाको परिणाम खोज्ने बेला नभएको बताउँछन् । भन्छन्, ‘संक्रमण नियन्त्रणमा निषेधाज्ञाको असर कस्तो रह्यो भनेर अब एक सातापछि मात्रै भन्न सकिन्छ ।’ डा. पुन पनि निषेधाज्ञाको असरबारे प्रस्ट हुन अझै एक साता पर्खिनुपर्ने बताउँछन् । ‘संक्रमण घटेर गयो भने त राम्रो कुरा हो, नत्र कतै न कतै कमजोरी भएको पनि हुन सक्छ,’ उनी भन्छन् ।

दुई सातामै थपिए चार हजार संक्रमित

महाशाखाका अनुसार निषेधाज्ञा जारी भएयताका दुई सातामा उपत्यकाका तीन जिल्लामा चार हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञाअघिका दुई सातामा उपत्यकामा एक हजार ६ सय २२ जनामा संक्रमण देखिएको थियो । पछिल्ला दुई सातामा भने संक्रमित संख्या त्यसको झन्डै दोब्बर बढेको छ । बुधबार उपत्यकामा तीन सय ८८ जनामा संक्रमण पुष्टि भएको छ ।

मंगलबार उपत्यकामा हालसम्मकै बढी एकैदिन चार सय ९१ जनामा संक्रमण पुष्टि भएको थियो । बुधबार काठमाडौंमा तीन सय ५०, ललितपुरमा २९ र भक्तपुरमा नौजनामा संक्रमण पुष्टि भएको छ । यससँगै उपत्यकामा संक्रमित संख्या ६ हजार पाँच सय ९३ पुगेको छ ।

हालसम्म काठमाडौंमा पाँच हजार दुई सय ६५, भक्तपुरमा पाँच सय ५६ र ललितपुरमा सात सय ७२ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा २६, भक्तपुरमा नौ र ललितपुरमा सात गरी ४२ जनाको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा चार हजार चार सय ८५, भक्तपुरमा चार सय १० र ललितपुरमा ६ सय ६३ जना सक्रिय संक्रमित छन् ।

सावधानीको छैन विकल्प

निषेधाज्ञाले उपत्यकामा संक्रमण फैलिएर भयावह हुने अवस्थाबाट रोकेको विज्ञहरू बताउँछन् । ‘अहिले संक्रमितमध्ये धेरै एकै परिवारका छन्, निषेधाज्ञा जारी हुँदा संक्रमण भएकाहरूले आफ्नै परिवारलाई मात्रै सारे, अन्यत्र फैलिन पाएन,’ डा. पुन भन्छन्, ‘त्यसैले निषेधाज्ञाले भयावह हुनबाट केही हदसम्म रोकेको भन्न सकिन्छ ।’

निषेधाज्ञामा संक्रमित व्यक्ति घरबाहिर निस्किन नपाएकाले उसले छिमेकी र अर्को व्यक्तिलाई सार्न नपाएकाले ‘कन्ट्याक्ट ट्रेसिङ’ सहज पनि बनेको उनको भनाइ छ । सरकारले परीक्षण सहज बनाएकाले पनि धेरै केस देखिएको उनको विश्लेषण छ ।

तथापि, विज्ञहरू निषेधाज्ञालाई कोरोना प्रसार रोक्ने अन्तिम अस्त्र मान्दैनन् । कुनै न कुनै बिन्दुमा पुगेर निषेधाज्ञा खोल्नैपर्ने भएकाले स्वास्थ्य सावधानीको विकल्प नरहेको उनीहरूको ठम्याइ छ । ‘निषेधाज्ञा तयारी गर्ने समय मात्रै हो, यसलाई आधार बनाएर रोगसँग लड्ने पूर्वतयारी गर्ने हो,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पाण्डे भन्छन्, ‘संक्रमण फैलिन नदिन व्यक्ति–व्यक्ति सचेत हुनुको विकल्प छैन ।’

प्रभावी देखिएन कन्ट्याक्ट ट्रेसिङ

कन्ट्याक्ट ट्रेसिङको जिम्मेवारी सरकारले स्थानीय तहलाई दिएको छ । सरकारले ल्याएको यससम्बन्धी कार्यविधिमा संक्रमण पुष्टि भएको ४८ घन्टाभित्र कन्ट्याक्ट ट्रेसिङ र संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पाँच दिनभित्र स्वाब संकलन र परीक्षण गर्नुपर्ने उल्लेख छ । तर, उपत्यकामा स्थानीय तहले आफ्नो क्षेत्रका संक्रमितको विवरण पाउनै चार दिनसम्म लागिरहेको छ, जसले कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी हुन सकेको पाइँदैन ।

काठमाडौं उपत्यका नगरपालिका फोरमले १८ वटा नगरपालिकामा मात्रै २८ हजारको कन्ट्याक्ट ट्रेसिङ गर्ने बताएको थियो । तर, आधा मात्रै सफलता मिलेको छ । कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले २१ जना सुपरभाइजर खटाएको छ । र, सबै नगरपालिकामा भिन्दाभिन्दै टोलीले कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छन् । महाशाखाका निर्देशक डा. पाण्डे भने उपत्यकामा ९० प्रतिशत कन्ट्याक्ट ट्रेसिङ भएको दाबी गर्छन् ।

उनको दाबी जे रहे पनि उपत्यकामै सबैभन्दा धेरै संक्रमित रहेको काठमाडौं महानगरपालिकाले १५ वटा टोली परिचालन गर्दा पनि हालसम्म चार हजार दुई सय १३ जनाको मात्रै कन्ट्याक्ट ट्रेसिङ सम्भव भएको छ । महानगरका कोभिड–१९ फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार १३ भदौभन्दा पछि संक्रमित भएकाहरूको विवरण नै प्राप्त भएको छैन । र, उनीहरूको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक्ट टे«ेसिङ पनि हुन सकेको छैन ।

निषेधाज्ञा एक साता थप

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा बुधबार एक साताका लागि लम्ब्याइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको स्वीकृतिमा २४ भदौ मध्यरातसम्म निषेधाज्ञा बढाएका हुन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार यसबीचमा अन्तर्राष्ट्रिय उडानसमेत खुलेकाले केही प्रावधान पहिलेभन्दा खुकुलो पारिएको छ । तर, मानिसको आउजाउमा कडाइ कायमै छ ।

अत्यावश्यक वस्तु र सेवामध्ये खाद्यवस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा÷मासु बिक्रीवितरण गर्ने पसल बिहान ११ः०० बजेसम्म खोल्न पाइनेछ । यसअघि त्यस्ता सेवा बिहान सवा ९ बजेसम्म मात्रै खोल्न पाइन्थ्यो ।

यस्तै, अत्यावश्यक औषधि, स्वास्थ्य सामग्री र पानी बिक्री गर्ने पसल÷व्यवसाय जुनसुकै समयमा पनि निर्वाध सञ्चालन हुने भएका छन् । उपत्यकाभित्र विकास निर्माणसँग सम्बन्धित हार्डवेयर पसल र ढुवानीका साधन दिउँसो २ देखि राति ९ बजेसम्म सञ्चालन हुने भएका छन् ।

यस्तै, हवाईमार्गबाट विदेश जान पासपोर्ट र हवाई टिकट साथमा बोकेर सीधै विमानस्थल पुग्न पाउनेछन् । यस्तै, फर्किनेहरूका लागि विमानस्थलबाट होटेलसम्म जाने यातायात पनि सञ्चालन गर्न पाइनेछ । कामदार र कर्मचारीलाई आयोजनास्थलमै क्वारेन्टाइनमा राखेर राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको काम गर्न पाइनेछ ।

अनलाइनबाटै सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन बैंकहरूलाई तीनै जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छन् । अत्यावश्यक वस्तु होम डेलिभरी गर्ने व्यक्तिको पिसिआर नेगेटिभ हुनुपर्नेछ । अत्यावश्यक सेवासँग सम्बन्धित उद्योग, कलकारखाना सञ्चालन गर्न पाइनेछ । तर, कारखानाभित्रै कर्मचारी र कामदारको खानेबस्ने व्यवस्था गर्नुपर्नेछ ।

निषेधाज्ञाका १४ दिनमा उपत्यकामा संक्रमण
४ भदौ : २००
५ भदौ : १८२
६ भदौ : २१६
७ भदौ : १५६
८ भदौ : २२४
९ भदौ : २३२
१० भदौ : ३०१
११ भदौ : ३७७
१२ भदौ : ४१५
१३ भदौ : १८६
१४ भदौ : ४२९
१५ भदौ : २९८
१६ भदौ : ४८१
१७ भदौ : ३८८

नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *