काेराेनासँग संघर्ष गरिरहेका चन्दन भन्छन्- मनाेबल उच्च राखाैँ, राेगसँग जितिन्छ !
- भरतराज शर्मा (गोपाल)
सुनसरी । पेशाले पत्रकारीता गर्ने सुनसरी दुहवी नगपालिकाका वडा नं. ६ का चन्दन रौनियार कोराेना कालमा पनि समाचार संकलन गरी जनतालाई सुसुचित गराउनकै लागि फिल्डमा खटिएका थिए ।
सोही समयमा आफ्नाे गाउँ-घरका अन्य ५/६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनले पनि दुहवी नगरपालिकाको परिसरमा गएर परीक्षण गराए । उनी लगायत ११ जनाकाे रिपाेर्ट पाेजेटिभ आयो । अहिले उनी मोरङको सुन्दरहरैचा आइसोलसनमा छन् ।
आइसोलसनबारे नराम्रा खबरहरू बाहिरिरहँदा त्यहाँकाे आइसोलसन भने राम्राे रहेकाे उनले आधाआधी बसाईँका अनुभव सुनाए । उनी छिट्टै नै निको भएर घर फर्किने मनोबलका साथ आइसोलसनमा बसिरहेका छन् । हरेक दिन आफू लगायतका कोरोना संक्रमितहरुलाई हाैसला प्रदान गर्नु उनकाे आइसोलसनकाे दैनिकी बनेकाे छ ।
त्यति मात्रै हाेइन, उनले जनतालाई सुसुचित गर्ने पेसाप्रतिकाे आफ्नाे धर्म समेत जारी राखेका छन्, निरन्तर समाचार सम्प्रेषण गरेर । रौनियारका अनुसार त्यहा प्रायः सबैको स्वास्थ्य स्थिति सामान्य छ । आइसाेलेसनमा स्वास्थ्यकर्मीहरु बेलाबेला आउँछन् । स्वास्थ्य अवस्था बुझेर समान्य टाउको दुख्ने, पखाला, ग्याष्ट्रिकका समस्याहरुका औषधी दिने गरेका छन् ।
खानामा दुई छाक नै मासुभात अथवा अन्डाको तरकारीसँगै कहिलेकाहीँ साकाहारी खाना पनि खान दिने गरेको उनले बताए । उनी भन्छन्- ‘दुई टाइम बिहानको खाजा दिन्छन् । चना तथा कहिले बिस्कुट चिया, कहिलेकाहीँ फलफूल समेत दिइन्छ ।’
वातावरण राम्राे हुँदाहुँदै पनि उनी एकान्तमा पिराेलिन्छन्- संक्रमितहरुका बारेमा बाहिरी दुनियाँले के सोच्दा हुन् !
‘काेराेना संक्रमितलाई समाजले हेयकाे दृष्टिले हेर्छ । तर याे एउटा सामान्य राेग हाे । राेगसँग लड्ने क्षमता छ भने सजिलै स्वस्थ भइन्छ । बाहिर सुनिएजस्ताे डरलाग्दाे छैन । अनावश्यक अतिरन्जित बनाउन हुँदैन,’ उनी भन्छन् ।
रौनियारका अनुसार उनलाई संक्रमण देखिएको ११ दिन पूरा भयो । तर उनीमा कुनै लक्षण देखिएकाे छैन । खासै अस्वस्थ महशुष पनि गरेका छैनन् । उनी साेच्छन्- मजस्तै संक्रमणकाे लक्षण नदेखिएका संक्रमित कति हाेलान् !
भुसकाे आगोझैँ भित्रभित्रै संक्रमण फैलिएकाे हुनसक्ने उनी आशंका गर्छन् । सरकारले लक्षण नदेखिएकाहरूकाे पनि पीसीआर गर्नुपर्ने उनकाे तर्क छ । त्यस्तै संक्रमितहरूले उच्च मनाेबलका साथ राेगसँग लड्नुपर्ने उनी बताउँछन् ।
उनी भन्छन्- ‘सोचेको भन्दा धेरै सजिलै कोरोनालाई जित्न सकिन्छ । जित्ने आफैँले हो । केयर पनि आफैँ गर्ने हो । अरु कसैलाई दोष दिएर केही हुँदैन । सामाजिक दूरी कायम गराैँ । अनिवार्य मास्ककाे प्रयाेग गराैँ । साबुनपानी, सेनिटाइजरले हात सफा गरिराखाैँ । अनि घरको सरसफाइमा पनि ध्यान दिनु जरुरी छ ।’