‘कोभिड अस्पताल प्रमुखलाई अनावश्यक दवाव दिइएको छैन’ वीपी प्रतिष्ठान
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पताल प्रमुखले अकस्मात राजिनामा दिएको प्रसंगमा प्रतिष्ठानले अनावश्यक दवाव नदिएको बताइएको छ ।
प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको कोभिड–१९ अस्पताल प्रमुख प्रा.डा. कृष्णा पोखरेलले राजिनामा दिएको विषय सत्य भएपनि व्यवस्थापन पक्षले कुनै दवाव नदिएको प्रष्ट पारेको हो ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले विज्ञप्ति जारी गरी उपकुलपतिद्वारा अस्पतालको औषधी उपकरण खरिदमा कुनै दवाव नदिएको बताएका छन् । यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले कोभिड–१९ अस्पतालमा खरिद गर्ने औषधी उपकरणमा अनावश्यक दवाद दिएको केही सञ्चारमाध्यममा आएको थियो ।
प्रवक्ता डा. सापकोटाले प्रतिष्ठानमा औषधी खरिद गर्ने अधिकार रजिष्ट्रार र अस्पताल निर्देशकमा रहने उल्लेख गरीएको छ । ‘प्रतिष्ठानमा औषधी खरिद गर्ने अधिकार रजिष्ट्रार र अस्पताल निर्देशकको हुने यथार्थलाई नजर अन्दाज गरेर एक पक्षीयरुपमा लेखिने समाचारले प्रतिष्ठान र सञ्चारमाध्यमबीचको सुमधुर सम्बन्धमा दरार पैदा हुनसक्ने परिस्थितिलाई आवश्य नै मनन् गर्नु नै हुनेछ भन्ने जानकारी गराउन चाहन्छु ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
डा. पोखरेलले कोभिड अस्पताललाई शुन्यबाट सञ्चालनको अवस्थामा ल्याएकी थिइन् । उनको अचानक आएको राजिनामाले प्रतिष्ठानको व्यवस्थापन पक्ष समेत आश्चर्यमा परेको थियो ।
यसैगरी प्रतिष्ठानले स्टाफ नर्स भर्ना प्रक्रियामा ६ सदस्यीय टोलीले स्टाफ नर्सको अन्तर्वाता लिने भएको छ ।
प्रतिष्ठानले कोभिड महामारीसँग जुध्नको लागि दक्ष जनशक्ति आवश्यक पर्ने भएकोले ५० जना स्टाफ नर्सहरु लिइरहेको छ ।
स्टाफ नर्सहरुको चयन प्रक्रियाबारे केही प्रश्नहरु उठिरहेकाले अन्तर्वाताको लागि ६ सदस्यीय टोली गठन गरिएको छ ।
अन्तर्वाता लिनको लागि उपकुलपति, रेक्टर, रजिष्ट्रार, अस्पताल निर्देशक, कलेज अफ नर्सिङ चिफ तथा मेट्रोन सम्मिलित ६ सदस्यीय टोलीले प्रक्रिया अघि बढाइरहेको भनिएको छ ।