प्रधानसेनापति थापाले भने–सेना इमर्जेन्सीमा मात्रै परिचालन गरिनुपर्छ
काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले देशमा इमर्जेन्सी परेको अवस्थामा मात्रै सेना परिचालन हुने बताएका छन् ।
बुधबार प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएर तेस्रो वर्ष प्रारम्भ भएको अवसरमा जंगीअड्डामा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनले सोकुरा बताएका हुन् ।
‘सेना इमर्जेन्सीमा मात्रै परिचालन गरिनुपर्छ, यदि राष्ट्रलाई साँच्चै इमर्जेन्सी हो भन्ने लाग्छ भने त्यो अवस्थामा नेपाली सेना प्रयोग हुन सक्छ, अरु अवस्थामा नेपाली सेना सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो’ प्रधानसेनापति थापाले भने ।
प्रधानसेनापति थापाले आफूले दुई वर्षमा गरेका कामहरुको विवरण सुनाएका थिए । उनले आफ्नो कार्यकालमा संगठनात्मक र व्यक्तिगत रुपमा पनि पारदर्शितालाई रणनीति बनाएको बताए । तीन वर्ष कार्यकाल पूरा भएपछि थप अवधि पदमा बस्ने ईच्छा नभएको पनि उनको भनाइ थियो ।
उनले नेपाली सेनाले नागरिक सर्वोच्चतालाई कदर गर्दै आएको र सरकारको आदेश पालना गर्नु सेनाको दायित्व भएकोसमेत बताए । जंगी अड्डामा सम्पादकहरुसँग छलफल गर्नुअघि प्रधानसेनापति थापाले आफ्नो कार्यकालको दोस्रो वर्षगाँठ पूरा भएको अवसरमा सेनाका सकल दर्जालाई तीन घण्टा लामो सम्बोधनसमेत गरेका थिए ।
प्रधानसेनापति थापाले २०७५ साल भदौ २४ गतेदेखि सैन्य प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । आफ्नो दुई वर्षे कार्यकाल पूर्णरुपमा सफल भएको र अब तेस्रो वर्षमा नेपाली सेनाको सुदृढीकरणमा जोड दिने उनले बताएका छन् ।