उपत्यकामा आजदेखि जोरबिजोर, स्वास्थ्य मापदण्ड पालना अनिवार्य
काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञाका कारण जनजीवन प्रभावित भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले आर्थिक गतिविधि सञ्चालनमा सहजीकरण गरेको छ ।
उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीले विभिन्न क्षेत्रका प्रतिनिधि, स्थानीय तहका प्रमुखको सुझाव तथा गृहमन्त्रालयसँगको परामर्शसहित जनजीवनलाई सहजीकरण गर्दै नयाँ आदेश जारी गरेको छ । सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को समेत अधिकार प्रयोग गरी उक्त आदेश जारी गरिएको हो ।
भदौ ३१ गते राति १२ बजेसम्म लागू हुने उक्त आदेशानुसार उपत्यकामा चल्ने सवारीसाधनमा जोरविजोर प्रणाली लागू गरिएको र व्यापार, व्यवसायमा केही चलायमान बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
तीनै जिल्लाका प्रजिअको संयुक्त बैठकपछि साँझ जारी गरिएको विज्ञप्ति अनुसार उपत्यका भित्रमा १६ सिट क्षमताभन्दा बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सकिने छ । भाडाका ट्याक्सीको हकमा चालकसहित तीन जना र परिवार भित्रमा ५ वर्ष मुनिका बालबालिका दुई जनासम्म राखी चलाउन सकिने छ ।
निजी सवारीसाधन (मोटरसाईकल स्कुटर समेत) स्वास्थ्य मापदण्ड पालना गरी भौतिक दूरी कायम गरेर सञ्चालन गर्न सकिनेछ । यात्रुबाहक सार्वजनिक यातायातका साधनहरु सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अनुरुप सामाजिक दूरी कायम हुने गरी एक लहरमा एक जना (कुल क्षमताको आधाबाट नबढ्ने गरी) बस्ने व्यवस्था मिलाउनु पर्नेछ ।
यसरी सवारी साधन सञ्चालन गर्दा चालक, सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्नेछ । सवारी साधनको ढोका मै स्यानिटाइजरको व्यवस्था हुनुपर्ने, सहचालकले पञ्जा लगाउनुपर्ने तथा सवारी साधन दैनिक निसङ्क्रमण गराएको हुनेपर्नेछ । सवारी साधन भने आजदेखि जोरविजोर प्रणालीअनुसार सञ्चालन गर्नुपर्ने छ, तर मालबाहक सवारीको हकमा भने जोरविजोर लागु हुने छैन ।