खुल्लामञ्चमा खाना खाइरहेकाहरुको चिन्ता, अब हामी भोकै मर्ने ?

 

काठमाडौं । नेपालमा कोरोनाको कारण लकडाउन भएको ७ महिना भइसकेको छ । कोरोनाको कारणले सुरु भएको लकडाउन, सटडाउन र जारी निषेधाज्ञाको कारणले विभिन्न सरहमा भोकै पर्नेहरुको संख्या वृद्धि हुँदै जाँदा विभिन्न अभियान्ताहरुले देशका विभिन्न सहरमा निःशूल्क खाना खुवाइरहेका छन् ।

तर, निषेधाज्ञा खुकुलो हुँदै गर्दा विभिन्न सहरमा निःशुल्क खाना खाइरहेकाहरु चिन्तामा पर्न थालेका छन् । लकडाउन, सटडाउन र निषेधाज्ञाको कारणले रोजगारी गुमाएका हरुलाई निःशुल्क खाना वितरण गरेको स्थानमा गएर खाना खाइरहेका थिए ।

प्रधानमन्त्रीले कोही भोकै मर्दैनन् भनेर भाषण गरेपनि सडकमा खान नपाएर भोकै पर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । तर, जनता भोकले सडकमा भौतारिँदै निस्कदा सरकारले भन्दा पनि विभिन्न अभियान्ताहरुले सडकका भोको पेटको सम्बोधन गरेका छन् । राजधानीमा पनि खुल्लामञ्च, गौशाला, जोरपाटी लगायतका स्थानमा सामाजिक अभियान्ताहरुले निःशुल्क खाना खुवाई रहेका छन् ।

सरकार कोरोना महामारीमा समेत जनताको स्वास्थ्य र सुरक्षाको चिन्ता गनुृको सट्टा कोरोना नियन्त्रणकै वहाना बनाउँदै भ्रष्टाचारमा लिप्त रहेको भन्दै सरकारको सडकबाट तिब्र विरोध भएको छ ।

सरकारले गरेको लकडाउन उलंघन गरेर न्युरोड र ठमेलका व्यापारीहरुले व्यापार पनि सञ्चालन सुरु गरेका थिए । तर, कोरोना संक्रमणको दर वृद्दि भएकाले पसलहरु पुनः बन्द भएको थियो ।

सरकारले आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै जाने निर्णय गरेको छ । अटो मोवाइलस् व्यापारीहरुले सरकारले निषेधाज्ञा नखोले निषेधाज्ञा तोड्ने निर्णय गरेका छन् । उद्योगी व्यवसायीहरु पनि लकडाउन खोल्ने पक्षमा छन् ।

सबैतिरबाट सरकारले कोरोना रोकथाम र नियन्त्रणमा लकडाउन, सटडाउन र निषेधाज्ञा विकल्प नखोजेको आरोप पनि छ । विश्वका अधिकांश विकसित देशहरुले पनि कोरोना संक्रमण रोकथाम गर्न लकडाउनलाई प्रमुख हतियार बनाउन सकेका छैनन् ।

तर, नेपालले समग्र आर्थिक अवस्था नै विगार्नेगरी ६ महिनाभन्दा बढि लकडाउन गर्दा सर्वसाधारण र दैनिक ज्यालादारीमा जीवन जिउने वर्गहरु अत्याधिक मर्कामा परेका छन् ।

खुल्लामञ्चमा खाना खाने गरेकी मध्ये सिन्धुपाल्चोककी एक महिलाले भनिन्–‘अहिलेसम्म यहाँ खाना खान पाइएको थियो । अब कसरी खाने चिन्ता लागेको छ ।’ राजधानीमा नाङ्ले पसल गरेर जिविकोपार्जन गर्ने उनलाई लकडाउन खुल्ला भएसँगै कसरी जीवन चलाउने पीर छ । ‘घरधनीले पनि घरभाडा तिर्न नसके पछि निकालिदियो । अब काँ जाने के खाने ?’ नियाउरो मुख लगाउँदै उनी भन्छिन् ।

उनी विहानको ८ नबज्दै आजभोली खुल्लामञ्च तिर आँखा लगाउँछिन् । अनी निःशुल्क खाना खुवाउने गाडी आउने वित्तिकै त्यतातिरै लाग्छिन् । ‘कोरोनाभन्दा पनि खाना र बस्नैको चिन्ताले मर्ने भइयो सर !’ उनले भनिन् ।

खुल्ला मञ्चमा भेटिएकी ती महिला प्रतिनिधि पात्र मात्रै हुन् । काठमाडौं उपत्यका लगायत देशैभर रोजगारी गुमाएकाहरुको पिडा उस्तै छ । मानिसहरु रोगले भन्दा पहिले भोकले मरिन्छ कि भनेर त्रासमा छन् ।

लकडाउनको कारण उत्पादन बन्द छ । उद्योगधन्दा ७ महिनादेखि बन्द छन् केहि भर्खरै खुल्ने तरखरमा भएपनि कामदारहरुलाई गाँसबास र कपासको व्यवस्था गर्न सक्ने अवस्थामा छैनन् । उद्योगबाट उत्पादित वस्तुहरुसमेत बजारमा पुर्याउन नसक्दा उद्योगी व्यवसायीहरुको आफ्नै दुखेसो छ ।

खुल्ला मञ्चमा खाना खुवाउने अभियान्ता मध्येका एक शागर शाहीले आफुहरुले दैनिक पाँच यस बढिलाई खाना खुवाईरहेको बताए । ‘हामीले हरेक दिन ५ सय बढिलाई खाना खुवाइरहेका छौं । तर, हामीलाई पनि दैनिक खाना जोहो गर्न समस्या छ । अहिलेसम्म चैं आफ्नै साथीभाई र सहयोगी मनहरुबाट सहयोग जुटाइरहेका छौं ।’ उनले खाना खानेहरु आउन छाडेपछि खाना ल्याउन छोड्ने बताए ।

उनले सरकारले जनतालाई भोकै राख्न नहुने बताउँदै सरकारले गर्न नसकेपनि आफुहरुले सक्दो कोशिष गरिरहेको बताए । ‘यो अभियानलाई अझ बढाउने सोच छ । अब समस्यामा परेकाहरुको पहिचान गरेर घरघरमा नै राहत वितरण गर्ने सोच बनाएका छौं ।’

प्रतिक्रिया