धरान र इटहरीमा कुलमानको पक्षमा र्‍याली, नियुक्ति गर्नैपर्ने माग

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नाे चार वर्षे कार्यकाल पूरा गरी गएको भदाै २८ गते बिदा भए । उनी बिदा भएपछि  पुनः नियुक्तीको माग गर्दै धरान र इटहरीमा प्रदर्शन भएकाे छ ।

आज (शुक्रबार) धरानका सामाजिक अभियन्ता हर्क साम्पाङको नेतृत्वमा कुलमानको पक्षमा प्रदर्शन भएको हो । सयौँको संख्यामा प्रदर्शनमा उत्रिएका प्रर्दशनकारीहरुले धरान-१८ बुद्धचोकबाट र्‍याली निकालेका थिए । साे र्‍याली सैनिक चोक, पानी ट्याङकी, छाताचोक हुँदै भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

हातमा प्ले कार्डसहित र्यालीमा सहभागीहरुले ‘तीन करोड नेपाली जनता के भन्छ ? कुलमान घिसिङलाई ले भन्छ, उज्यालो विरोधी, होसियार’ लगायत सरकारविरुद्ध चर्को नाराबाजी गरेका थिए । र्‍यालीपछि भानुचोकको लाेकतान्त्रिक चौतारीमा कोणसभालाई सम्बोधन गदै सामाजिक अभियन्ता साम्पाङले कुशल व्यवस्थापक कुलमानलाई प्राधिकरणमा पुनः नियुक्त गरेर नेपाली जनताको चाहनालाई पूरा गर्न सरकारसँग माग गरेका थिए ।

उनले कुलमानको पुनः नियक्तीको लागि नियमावली बाधक भएको हो भने संशोधन गरेरै भएपनि पुनः नियुक्त गर्नुपर्ने बताए ।
अर्बाैँ घाटामा पुगेको प्राधिकरणलाई नाफामुखी बनाउने कुशल व्यवस्थापक कुलमानलाई प्राधिकरणमा पुनः नियुक्त गर्नुको कुनै विकल्प नरहेको पनि उनले बताए ।

उता सुनसरीकै इटहरीमा साझा पार्टी सम्बद्ध युवा संगठनले कुलमानको पक्षमा प्रदर्शन गरेका छन् । उनलाई पुन: नियुक्ति गर्न सरकारले आलटाल गरेको भन्दै साझा युवा संगठनका युवाहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया