वीपी प्रतिष्ठानमा आजसम्म कति कोरोना संक्रमितको मृत्यु भयो ? कति निको भएर गए ?
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा आजसम्म ३१ जनाको मृत्यु हुँदा ७२२ जनाले कोरोनालाई जितेर घर गएका छन् ।
प्रतिष्ठानका अनुसार कोरोना संक्रमण शुरु भएयता प्रतिष्ठानले सञ्चालन गरेको कोभिड अस्पतालमा उपचारका क्रममा ३१ जनाको मृत्यु भएको हो ।
अस्ती राति प्रतिष्ठानमा सिराहाका ५० वर्षिय पुरुषको मृत्यु भएको थियो । प्रतिष्ठानमा कोरोना संक्रमण उपचारार्थ आएका संक्रमितहरु मध्ये अधिकांश कुनै न कुनै दिर्घरोगबाट पिडित रहेका थिए ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार हाल कोभिड अस्पतालमा ४९ जना कोरोना संक्रमित उपचाररत छन् । भने, ७२२ जना कोरोना संक्रमित उपचार पछि निको भएर गइसकेका छन् ।
विश्वमै कोरोना संक्रमणबाट मृत्यु हुनेको दर भन्दा उपचारपछि निको हुनेको दर उच्च रहेको छ । नेपालमा पनि मृत्युदर भन्दा उपचारपछि निको भएर जानेहरुको संख्या उच्च छ ।
प्रतिष्ठानले अहिलेसम्म ५४,१८६ कोरोना परीक्षण गरेकोमा २,५६५ जनाको पोजेटिभ रिपोर्ट आएको जनाएको छ । प्रतिष्ठानमा प्रदेश १ को लेबल ३ कोभिड अस्पताल निर्माण गरीएको छ ।
प्रतिष्ठानले हिजो मात्रै एक सुचना जारी गर्दै संघीय सरकार र प्रदेश सरकारले कोरोना परीक्षणका लागि आवश्यक किट तथा रिएजेण्टका सामग्री उपलब्ध गराइ नसकेकोले पिसिआर परीक्षणका लागि शुल्क लाग्ने जानकारी गराएको छ ।