आत्मप्रशंसाको बाँसुरी !
- धनबल राई
रोम जलिरहँदा निरोले बाँसुरी बजाइरहेको सन्दर्भ यदाकदा धेरै लेखिन्छ, सुनिन्छ । ईसाको पहिलो शताब्दीको यो सन्दर्भ अहिले पनि उतिकै सान्दर्भिक भएर आउनु पनि कम्ती अचम्मको विषय चाहिँ होइन । यो सन्दर्भलाई प्रथमतः उदाहारणको रुपमा र सन्दर्भगत धेरै प्रयोग गरिएको गरिन्छ । धेरै प्राज्ञिक वर्गहरुले यो भन्दै आएका छन् कि, नेता हुन र राजनेता हुनु नितान्त फरक हुन् । त्यसो त अब कुरा एकाइसौं शताब्दीका नेताहरुको प्रवृत्तिमा फर्कौँ । अहिलेका नेताहरुको प्रवृत्ति पनि निरोपनमिश्रित नै छन् । यही सन्दर्भलाई लिएर नेपालतिर फर्कौँ, गत ३ असोजमा नेपालमा धुमधामका साथ संविधान दिवस मनाइँदै थिइयो । दिवसका अवसर पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले सैनिक मञ्चबाट लामै सम्बोधन गरे । जनताको नाममा सम्बोधन गरेर सरकारले गरेको केही कामहरुको फेहरिस्त सुनाएका प्रधानमन्त्रीको ठेलीले उनी स्वयंको आत्मप्रशंसा भने मज्जैले बोल्यो । तर, झल्किएन, जनताको समस्या, सुनिएका नेपाली दुःख अनि देखिएन सर्वसाधारणप्रतिको सहिष्णु ।
यसबेला यस्तो लाग्यो कि, प्रधानमन्त्री निरो हुन् अनि अहिलेको नेपाली जनताको दुःख र देशको अवस्था बाँसुरी । मुलुक कोरोना महामारीको फन्दामै छ । त्यसको प्रत्यक्ष असर देशको अर्थतन्त्र परेको छ । अर्थतन्त्र थलिँदा व्यवसाय अनि आफ्नो जागिर गुमाएका जनताहरुको पीडा प्रधानमन्त्रीको सम्बोधनमा नआउँदा कम दुःख लागेको चाहिँ होइन । सम्बोधनले भन्दै थियो–‘सबै ठीकठाक छ ।’ मानौँ, ओली निरो नै हुन् । उनी सुर मिलाएर आत्मप्रशंसाको बाँसुरी बजाइरहेछन् ।
कोरोना भाइरस नभएको भए देश ‘विकास र समृद्धि’को दिशामा अघि बढिसकेको हुने बताउँदै आएका ओलीले आफ्नो सम्बोधनमा ‘भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ’ नारा दोहोर्याउन भुलेका थिएनन् । पटक पटक नेपालीले खान नपाएर मर्नुपर्ने अवस्था नआउने भनी तागतिलो भाषण गर्दै जनतासामु लोकप्रिय बन्ने खोज्ने प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा गरिएको पुष्पवृष्टिको तस्वीरले पनि रडाको नमच्चाएको कहाँ होर ? कारण, उही प्रधानमन्त्रीको कार्यशैली र व्यक्तिगत प्रवृत्ति नै हो, उनले गरेका कमी कमजोरी नै हो ।
पाँच, छ हजार दीनदुःखी नेपालीको जिम्मा खुलामञ्चले लियो । उक्त तथ्य सामाजिक सञ्जालदेखि राष्ट्रिय दैनिक पत्रिकाहरुमा यत्रतत्र छापिँदै गर्दा पनि निकम्मा बसेका प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दाताका गरिएको पुष्पवृष्टिले पनि सरकारको असक्षमता टन्नै झल्क्यायो । मैले देखेको कुरुप एउटा दृश्य यो हो । जहाँ, तल जमीनमा भोका पेटहरु होउन्, अनि माथिबाट सरकारले फूलले छरोस् ।
हुन त प्रधानमन्त्रीको सम्बोधनको हरेक वाक्यांसमा सबै ठीकठाक रहेको, देशको अवस्था झनै गजब भएको अनि सरकारको कमी कमजोरी कहीँकतै नभएको भन्ने नै थियो । अगाडिका दर्जनौं सम्बोधनमै भनिएका कुराहरुले पनि पुनः स्थान पाए । उही शृङ्खला दोहोरियो ।
सरकारका लागि कोरोना ‘के निहु पाउँ, कनिका बोकाउँ’नै भएको हो । यो कुरालाई नकार्ने जनतासँग कुनै प्रमाण छैन । कोरोनाकालको सुरुआत्सँगै कमिसनको दलदलमा फसेका नेपाल सरकारका मन्त्रीहरुप्रतिको जनताको हीनता अझैसम्म नमरेको कुरा जगजाहेरै छ । यसलाई एउटा प्रतिनिधि घटनाको रुपमा प्रस्तुत गरियो । त्योभन्दा पनि अगाडिका सयौं परिघटनाहरु यत्रतत्र छन्, जसले जनताहरु अभिभावकबिहीनजस्तो बनायो ।
जनताहरुको आशा र सरकारको कदम परिपूरक हुनुपर्नेमा ठ्याम्मै फरक छ । जनता दुःख भोगिरहेछन्, प्रधानमन्त्री आत्मप्रशंसा गरिरहेछन् । त्यसो त खैर, निरो र प्रधानमन्त्री ओलीबीचको फरक कहाँनेर छ ?
सरकारले सञ्चारमाध्यमलाई टेर्दैन, सर्वोच्च अदालततिर हेर्दैन, संवैधानिक समितिलाई मान्दैन । प्राज्ञिक वर्गसँग एलर्जी छ । सरकार दायाँबायाँ सोच्न जान्दैन । कारण, सरकारको नेतृत्वमै छ खोट ।
लकडाउन्, सटडाउन् र निषेधाज्ञासँग गहिरो सम्बन्ध राखेको सरकारले आज आफू परिपक्व भएको ठूलो सपना देखिरहेको छ । दैनिक रूपमा जनताहरुले भोगिरहेका समस्या र चुनौतीसँग सरकार बेखबर छ । जनताको दुःख र शासकको दुःखबीच बेमेल छ । यो त यथार्थ होकि, उनीहरु एउटै देशमा बस्छन्, एउटै आकाशलाई ओढेर अनि एउटा धर्तीमा टेकेर ।
विनापूर्वतयारी देशव्यापी गरिएको बन्दाबन्दीको मारमा परेका जनताहरु आज प्रधानमन्त्री बखान सुनेर बस्नुसिवाय अरु केही विकल्प देख्दैनन् । व्यवसाय धाराशायी भएको तनावबाट मुक्त हुन नसकेका जनताहरुलाई आज प्राकृति विपत्तिले लखेटेको छ । बाढी पीडितहरुलाई राहत लिएर आकाशको बाटो हुँदै उडेका गृहमन्त्री आफ्नो गन्तव्यस्थल नपुगी नै फर्किन्छन् ।
सरकार त साँच्चै नै सरकारजस्तै भएको छ । सरकार त सरकार । तर, लोकतन्त्रवादी होइन, निरङकुशवादीजस्तो, स्वेच्छाचारीजस्तो अनि बेकाबूजस्तै । सरकार छ, कहाँ छ ? छैन भनौँ यो सबै छ । लोकतान्त्रिक सरकार खैर कहाँ ? आज जनताहरुलाई अत्तोपत्तो छैन ।
सोलोडोलो कदमा दौरा सुरुवाल, छातीमा नेपाल, अनि टाउकोमा ढाका टोपी पहिरिएको मान्छेको मुखबाट फुत्किएका हरेक शब्दहरुले सानो मगज टन्न भरिरहँदा खाली पेट टन्न भर्न तँछाडमछाड गरेका दीनदुःखीहरुको दृश्य इतिहासकै एउटा खराब क्षण हो ।
संविधान गतिशील जनताको राजनीतिक र आर्थिक अधिकारको दस्तावेज हो, यसलाई नकार्ने हैसियत र प्रमाण मसँग छैन । तर, यो सत्य होकि, जनताकै लागि संविधान संशोधन हुँदा नेताहरुको जीवनमा मात्रै किन कायापलट देखियो, जनताहरुको जीवनलाई किन त्यो कायापलटको पुच्छरले पनि छोएन ? नेताहरु फेरिए, जनताहरुको अवस्था ज्यूँका त्यूँ देखिए । संविधान त्यतिबेला दीगो हुन्छ, जतिबेला धारामा निहीत जनताको अधिकारले जनतालाई साँच्चै नै सकारात्मक प्रभाव पार्छ ।
अरु त जसरी आयो, उसैगरी गयो । प्रधानमन्त्रीले प्रशंसा गर्दैगर्दा बाँकी कोरोनाकालसम्बन्धीको सरकारको योजनासम्म सुनाउन भ्याएनन् । आत्मप्रशंसा मज्जैले गरेका प्रधानमन्त्रीले आत्मसमीक्षा गर्न भने किन भुले ? के यो प्रश्नको उत्तर आज जनताले पाउनु पर्दैन र ?
दुईतिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली आफ्नो कार्यशैली र दम्भका कारण पार्टीभित्रै अल्पमतमा पर्दै आएको कुरा असत्य होइन । जनतासमक्ष दह्रै भाषण चुटे पनि जनताहरु अब चलाख भइसकेका छन् ।
अब राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना हुने वातावरण बन्नैपर्छ र हुनैपर्छ । संसारको एउटा ठूलै गल्ती भन्नु नै आफ्नो कमजोरी स्वीकार्नु नसक्नु हो । त्यो ठूलै शासक होस् या एउटा कारिन्दा नै किन नहोस् ।
प्रधानमन्त्री ओलीले पनि अब आफ्नो कमजोरीलाई स्वीकार्ने साहस जुटाउनैपर्छ । यति कुरा, जिद्दी शासक ऊ आफ्नो लागि मात्रै होइन, सम्पूर्ण देशवासीकै लागि अभिषाप हो ।