माग पुरा नगरेको भन्दै वीपीका फ्याकल्टीहरु आन्दोलनमा, उपकुलपति कता ?
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरु पुनः आन्दोलित भएका छन् । प्रतिष्ठानका उपकुलपतिले विगतमा आफुहरुसँग गरेको सहमति पालना नगरेको भन्दै प्रतिष्ठानका मेडिकल एण्ड डेन्टल फ्याकल्टी वेल्फेयर सोसाइटीले शान्तिपूर्ण आन्दोलन शुरु गरेको हो ।
उनीहरुले हिजो आन्दोलनको पहिलो दिन बिहान उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यालय अघि भेला भएर केही समय शान्तिपुर्ण प्रर्दशन गरेका थिए । फ्याकल्टीहरुले सो समयमा ३० सेकेण्ड सांकेतिक विरोध स्वरुप मौन धारणा गरेको सोसाइटीका अध्यक्ष डा.विष्णु पोखरेलले बताएका छन् ।
आज शुक्रबार पनि फ्याकल्टी सोसाइटीका पदाधिकारीहरुले केहि समय उपकुलपति कार्यालय अगाडी धर्ना दिएका छन् ।
उनले विगतमा प्रतिष्ठानले आफुहरुसँग पटकपटक माग पुरा गर्ने सहमति गरेपनि पालना नगरेको बताए । सोसाइटीले तलब वृद्धि र बढुवा प्रक्रिया नियमित हुनुपर्ने माग राखेकोमा प्रतिष्ठानले तलब बृद्धि गरेपनि बढेको तलब अहिलेसम्म पाउन नसकेको बताइएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. गिरीले असार १५ गते प्रतिष्ठानका चिकित्सक, शिक्षक र कर्मचारीहरुको २० प्रतिशत तलब बृद्धिको निर्णय गरेका थिए । तर, तल्ला तहका केही कर्मचारी वाहेक अन्यले बढेको तलब पाउन सकेका छैनन् ।
फ्याकल्टीहरुको बढुवाको प्रक्रिया पनि विगत अढाई वर्षदेखि रोकिएको छ । प्रतिष्ठानले बढुवा प्रक्रिया अगाडी नबढाउँदा कतिपय विभागमा प्रोफेसरहरु समेत नभएको सोसाइटीका अध्यक्ष पोखरेलले जनाए ।
‘फ्याकल्टी प्रमोसन नहुँदा कतिपय विभागमा प्रोफेसर छैनन्, यसले एमडि, एमएसको सिट संख्यामा पनि असर पुगेको छ ।’ डा. पोखरेलले भने । सोसाइटीले आजपनि उपकुलपति कार्यालय अघि शान्तिपुर्ण प्रर्दशन गर्ने भनेको छ ।
प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी भने कोरोना पोजेटिभ देखिएकोले होम क्वारेन्टाइनमा छन् । प्रतिष्ठान हाताभित्रै रहेको उपकुलपतिको कार्यालयमा रहेर डा. गिरीले आफ्ना सल्लाहकार दिलिप भट्टराईको सहयोगमा प्रतिष्ठानका काम कारवाही अगाडी बढाईरहे पनि फ्याकल्टीहरुको माग संवोधन गर्न कुनै तदारुकता नदेखाएको आरोप छ ।
यसअघि धरानको चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले विभिन्न १७ बुँदे मागहरु एक साताभित्र सम्बोधन गर्न उपकुलपतिलाई अल्टिमेटम दिएको भएपनि अहिलेसम्म उनीहरुले प्रस्तुत गरेको माग संवोधन हुन सकेको छैन ।