अनुगमन टाेली पुग्दा व्यापारीको भागाभाग, किराना पसलमा भेटिए किरा परेका खाद्यान्न !

काठमाडौं । धुम्बाराही तरकारी तथा फलफुल बिक्री केन्द्रमा शुक्रबार महानगरपालिकाको कृषि विभाग, वाणिज्य विभाग र उपभोक्ताकर्मीको संयुक्त अनुगमन टाेली पुग्दा व्यापारीहरूकाे भागाभाग भएकाे छ ।

बजारमा मल तथा बीउ बिजन, माछा मासु तथा दुधजन्य खाद्यवस्तु लगायत भान्सामा आवश्यक सबै प्रकारमा सामानका स्टल छन् । त्यहाँ आलु र प्याज बेच्ने ९ वटा पसल छन् । ७ जना व्यापारी शुक्रबार बिहानै पसल छोडेर हिँडे । अनुगमन टोली आएको खबर सुनेर व्यापारीहरू पसलबाट हिँडेका हुन् ।

तरकारीका लागि मात्रै २०० स्टल छन् । यिनीहरुमध्ये अनुगमन टोली पुग्दा केही पसल बन्द थिए । अनुगमन सुरू भएलगतै क्रमशः एकपछि अर्को गर्दै बन्द गर्न थालिए । किन यसो गरेको प्रश्नको उत्तरमा उनीहरु भन्दै थिए- ‘पानी परेर सामान आएन, बेच्नका लागि सामान छैन ।’

अनुगमन टाेलीसँग स्टल २ का व्यापारी बद्री शिवाकोटीले गुनासाे पाेख्दै भने, ‘बजारमा पानी पसेर आलु र प्याज खत्तम बनायो । ठूला व्यापारीले गलत गरे होलान्, समस्या हामी साना व्यापारीलाई हुन्छ ।’ शिवाकोटीका अनुसार बजारमा पानी पसेर हरेक पसलले कम्तीमा २ लाख रुपैयाँ बराबरको क्षति व्यहोरेका छन् ।

बजारभित्र रहेको दक्षिणकाली खाद्य तथा किराना पसलमा खुल्ला बेच्न राखिएका दाल चामल, आँटा, मस्यौरालगायत सबै खानेकुरामा ढुसी र ओस आएको थियो । मैदामा सिलेसा किरा परेको थियो । त्यहाँबाट जारी बिलमा ठेगाना बल्खु लेखिएको थियो । पसलमा व्यापार गरिरहेकी धनमाया बलामी भन्दै थिइन्, ‘कालो दाल भर्खर ल्याएको । यो दालमा ल्याउँदै कीरा थियो।’

कालो दालमा मात्र होइन, अरुमा पनि कीरा छ त ? प्रश्नको उत्तरमा उनले भनिन्- ‘एउटाबाट फिँजियो होला !’

अनुगमन टोलीले बिक्रीका लागि अयोग्य २१ किलो मैदा, ४५ के. जी. आँटा, १० के. जी. सोयाबिन बरामद गरेको छ भने कीरा देखिएको ७० के. जी. मासको दाल, ९० के. जी रहरको दाल बिक्री रोक्का गरेको छ ।

अनुगमन टोलीले आजै भाटभटेनीको चुच्चेपाटीस्थित प्याकेजिङ् स्थलको पनि अनुगमन गरेको छ ।

प्रतिक्रिया