वीपीका चिकित्सकहरुको आज पनि प्रदर्शन, उपकुलपतिले द्वैध चरित्र देखाए !

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल एण्ड डेण्टल फ्याकल्टी वेलफेयर सोसाइटीका पदाधिकारीहरुले आजपनि उपकुलपतिको कार्यालय अगाडी प्रदर्शन गरेका छन् । प्रतिष्ठान व्यवस्थापनबाट आफुहरुले उठाएका माग पुरा गर्ने तर्फ चासो नदेखाएपछि उनीहरु आन्दोलित भएका हुन् ।

आज विहान उनीहरुले केहि समय सामाजिक दुरी कायम गरेर उपकुलपति कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सोसाइटीका पदाधिकारी तथा प्रतिष्ठानका डेण्टल तथा मेडिकल डिपार्टका चिकित्सकहरुको सहभागिता रहेको थियो ।    बिहिबार देखि उनीहरुले उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यालय अगाडी आएर आन्दोलन गरीरहेका छन् । उपकुलपति भने कोरोना संक्रमणका कारण बुधबारसम्मका लागि सेल्फ आइसोलेसनमा रहेका छन् ।

आन्दोलित चिकित्सकहरुले बढेको तलब पाउनु पर्ने, बढुवा प्रक्रिया नियमित हुनुपर्ने, सम्पूर्ण चिकित्सकहरुको कोरोना बिमा गर्नुपर्ने तगायत १७ बुँदे माग प्रतिष्ठान समक्ष पेश गरेका थिए । प्रतिष्ठानले विगतमा गरेका सहमति र समझदारी समेत कार्यान्वयनमा चासो नदिएपछि सोसाइटी बाध्य भएर शान्तिपुर्ण आन्दोलनमा उत्रिएको बताइएको छ ।

उपकुलपतिको द्वैध चरित्र !

प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानका चिकित्सक, कर्मचारीलाई र बाहिरका व्यक्तिलाई फरक–फरक व्यवहार गरेर द्वैध चरित्र देखाएका छन् । प्रतिष्ठानका चिकित्सक कर्मचारीहरुले जायज माग उठाउँदा चासो नदिने उपकुलपतिले बाहिरकाले गरेको आन्दोलनलाई चैं रातारात संवोधन गर्ने गरेको आरोप छ ।

केहि समय अघि नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले प्रतिष्ठानको उपकुलपति कार्यालयबाट प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाको फोटो हटाएको/सारेको विषयमा व्यापक विरोध गर्यो । भने, तरुण दल र नेविसंघले उपकुलपतिलाई नै भेटेर कोरोना अस्पताल सञ्चालन र प्रतिष्ठानको स्वास्थ्य सेवा सुधारका लागि १९ बुँदे मागहरु प्रस्तुत गरेको थियो ।

डा.गिरीले आन्दोलन मत्थर पार्न रातारात प्रतिष्ठान परिसरमा महामानव विश्वेश्वर कोइरालाको मुर्तिनै स्थापना गर्ने घोषणा मात्र गरेनन् वीपी जयन्तिको अवसरमा वीपी कोइरालाको मुर्ति नै उद्घाटन गरेर देखाइदिए । भने, कोरोना अस्पताल सञ्चालन गर्न पनि तदारुकता देखाउँदै दुई दिनभित्रै अस्पताल सञ्चालन गरिदिए ।

योसँगै नेविसंघ र तरुण दलले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्र कार्यान्वयन भएको नभएको उनीहरुलाई लिखित नै जानकारी समेत गराएका थिए । तर, आफ्नै मातहतका चिकित्सक कर्मचारीको जायज माग गर्न भने उनलाई ‘पसिना’ आउने गरेको गरेको छ ।

‘उहाँ हाम्रो अभिभावक हो, हाम्रा पिरमर्का उहाँलाई नराखेर कसलाई गुहार्ने ? तर, उपकुलपति ज्यूले बाहिरका लाई काखी च्यापेर भित्रका लागि घाँटी ङ्याक्ने काम गर्दै हुनुहुन्छ । हाम्रा अत्यावश्यक र जायज माग संवोधन भएनन् ।’ कोरोना महामारीको उच्च जोखिममा रहेर काम गरेका चिकित्सक, कर्मचारीहरुको जायज माग नसुनेको प्रति एक चिकित्सकले आक्रोश व्यक्त गरे ।

त्यसो त डा. गिरी अहिले सेल्फ आइसोलेसनमा भएकाले पनि चिकित्सकहरुको माग संवोधन गर्न नसकेका पो हुन् कि भन्ने पनि छ । तर, आइसोलेसनमै रहेर प्रतिष्ठानमा मनपरी ढंगले कर्मचारी सरुवा गर्ने, कर्मचारी परिचालन गर्ने काम गरेका उनले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका चिकित्सकलाई केहि समय दिन अथवा मागहरुका विषयमा आफुले चालेका कदमका बारेमा एउटा फोन गरेर मात्रै सोसाइटीका पदाधिकारीलाई सान्त्वना दिन सकेका छैनन् ।

‘हामीलाई अहिले सम्म कुनैपनि पदाधिकारीले सम्पर्क गर्नुभएको छैन । कसैले चासो दिएका छैनन् ।’ फ्याल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा. विष्णु पोखरेलले भने ।

प्रतिक्रिया