‘रामलखन जयसवाल मृत्यु प्रकरणमा संसदीय छानबिन गरियोस्’
काठमाडौं । वीर अस्पतालमा उपचारको क्रममा निधन भएका रामलखन जयसवालको मृत्यु प्रकरणबारे नेपाल कलवार कल्याण समिति, काठमाडौंले सत्य, तथ्य कुरा बाहिर ल्याउन सरकारसँग माग राखेको छ । समितिले जयसवालको के ? कसरी मृत्यु भएको हो ? त्यसमा संसदीय छानबिन आयोग गठन गर्नुपर्ने माग गरेको हो ।
आइतबार पत्रकार सम्मेलन गर्दै समितिले जयसवालको परिवारलाई उचित क्षतिपूर्तिसहित न्यायको व्यवस्था गर्नुपर्ने माग गरेको छ । समितिका अध्यक्ष रामचन्द्र साहले जयसवालको परिवारले उचित न्याय पाउनुपर्ने बताए ।
‘सरकारले पीडित परिवारलाई न्याय दिनुपर्छ । सरकारले यो विषयमा पर्याप्त ध्यान दिनुपर्छ । परिवारले अघि सारेका मागहरु चाँडोभन्दा चाँडो सम्बोधन हुनुपर्छ ।’ उनले भने ।
उनले पोष्टमार्टमको रिपोर्ट पनि चाँडै सार्वजनिक गर्न आग्रह गरेका छन् । न्यायका लागि जयसवाल परिवार धेरै दिनदेखि काठमाडौंमा रहेकोले आफ्नो परम्पराअनुसार अन्त्येष्टि गर्नको लागि शव पनि चाँडै रिलिज गर्न सरकारसँग समितिले आग्रह गरेको छ ।
कार्यक्रममा मृतक जयसवालकी भाई बुहारी पुनम जयसवालले यो प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कठोरभन्दा कठोर सजाय दिन माग गरेकी छिन् । ‘गृहमन्त्रीज्यू, चाँडोभन्दा चाँडो छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्नुहोस, यो जेल र वीर अस्पताल बद्नाम नहोस् ।’ उनले भनिन् ।
वीर अस्पतालले किन अहिलेसम्म सिसिटिभी फुटेज ननिकालेको भन्दै उनले प्रश्नसमेत गरिन् । उनले मृतक जयसवालको पोष्टमार्टम भैसक्दा पनि अहिलेसम्म रिपोर्ट नदिईएको गुनासो पोखिन् ।
समितिले जयसवाल परिवारलाई न्याय दिलाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रसमेत बुझाएको छ । उसले काठमाडौं सिडिओ कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको हो ।