ऊर्जामन्त्रीको निर्देशन : ग्राहकलाई मिटर रिडिङ नहुँदाको जरिवाना नगर्नू
काठमाडौं । ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले ग्राहकलाई कोरोना भाइरस (कोभिड–१९) प्रकोपका कारण मिटर रिडिङ नभएको अवस्थामा जरिवाना नगर्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई बुधबार मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।
लामो बन्दाबन्दीका कारण अधिकांश ग्राहकको मिटर रिडिङ नसकेपछि उक्त अवधिको पनि जरिवाना लगाइएको गुनासो आइरहेको भन्दै मन्त्री पुनले यस्तो निर्देशन दिएका हुन् । उनले जरिवाना लिइएको रकम ग्राहकले आगामी महिना बुझाउने शुल्कमा मिलान गर्न पनि निर्देशन दिए।
उनले भने, ‘जरिवाना लिएको त्यो अब बुझाउने शुल्कमा मिलान गर्नुस् र जरिवाना नलिने व्यवस्था मिलाउनुहोस्’,
प्राधिकरणले मन्त्री पुनको निर्देशन लगत्तै जरिवाना नलिन देशभरका वितरण केन्द्रलाई एकैसाथ निर्देशन दिइसकेको कार्यकारी निर्देशक कोइरालाले बताए।