प्रधानमन्त्री ज्यू, डा. गोविन्द केसीको जीवनको मुल्य नभएकै हो ?

मेडिकल क्षेत्रको व्यापक सुधारको माग गर्दै सत्याग्रहमा बसेका डा. गोविन्द केसीले पानी समेत नपिएको आज १८ दिन वितिसक्यो । विगतमा पटकपटक आमरण अनसन बस्दा डा. केसीसँग सरकार आफैंले माग पुरा गर्ने प्रतिबद्धता गरेको थियो तर, कार्यान्वयनमा पक्षमा कहिल्लै गम्भिर भएन ।

०७५ साउन १० गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारसँग माग पुरा गराउन भएको सम्झौता दुई वर्ष वितिसक्दा पनि कार्यान्वयन नभएपछि पुनः सत्याग्रहमा फर्किएका डा. केसी अहिले त्रिवि शिक्षण अस्पतालको एउटा कुनामा सरकारको निर्णय कुरिरहेका छन् । अस्पतालको वेडमा ‘एैया आमा’ भन्दै छट्पाउँदै गरेका डा. केसीको मुखबाट निस्किएको आर्तनाद सुन्ने कान बर्तमान सरकारसँग रहेनछ ।

सत्ताको उन्मादमा रमाईरहेका शासकहरुसँग शिक्षण अस्पतालको वेड र थापाथलीमा बोकिएका प्लेकार्डका नाराहरु हेर्ने पढ्ने आँखा पनि रहेनछ । चेतनाको त कुरै नगरु यो सरकारको, यो सरकारसँग दुखी, गरिब असहाय पनि हुन्छन्, सरकारको पहिलो प्राथमिकता नै ती वर्गहरु प्रति हुनुपर्छ भन्ने चेतना नै छैन । समाजवाद र साम्यवादको वकालत गर्दै सिंहदरबार छिरेका अधिकांश नेताहरुले समाजवाद र साम्यवादको मूल मर्म के हो विर्सिसके ।

जनताका आधारभूत आवश्यक्ता राज्यको दायित्वभित्र पर्छ, गाँस, बास, कपाससँगै जोडिएर आउने शिक्षा, स्वास्थ्य र रोजगारी राज्यले जिम्मा लिनुपर्छ भनेर डा. केसीले सत्याग्रह मार्फत आवाज घनिभूत गर्दा, आफ्ना जायज माग राख्दा बर्तमान सरकार झनै उनी विरुद्ध निकृष्ट हुँदै गएको छ । काठमाडौंका मात्र हैन दुर्गम कर्णालीका जनताले पनि सर्वसुलभ चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पाउनु पर्छ भनेर संविधानद्वारा नै प्रदत्त अधिकारको प्रयोग गर्दै सत्याग्रहमा बस्दा प्रहरी लगाएर घिच्याउने सरकारबाट अब आम नागरिकले आशा गर्ने ठाउँ छैन । बर्तमान सरकार लोकतान्त्रिक इतिहासकै कठोर र निकृष्ट सरकारका रुपमा दर्ज हुँदैछ ।

विश्वको राजनीतिक इतिहास हेर्ने हो भने, जस्तो सुकै कठोर शासकले पनि एक दिन जनताका माझ झुकेको छ । नझुकेका शासकहरु पनि जनताद्वारा लखेटिएका छन् । दृष्टान्त हाम्रै देशमा छ । दुई सय वर्ष बढिको राजनीतिक इतिहास बोकेको राजसंस्थालाई जनताले नारायणहिटीबाट सडकमा ल्याउनुको अर्को कुनै कारण थिएन शिवाय, निरंकुशता । लोकतान्त्रिक राज्य व्यवस्थामा जनता सर्वेसर्वा हुन् भन्ने आधारभूत मान्यतालाई समेत नामेट गर्दै निरंकुशता लाद्दा राजा ज्ञानेन्द्रले गद्दि छाड्नु परेकै हो । जब शासकमा निरंकुशता हावी हुन्छ । जब शासकमा ‘मपाइत्व’ को अहम्ता बढ्छ उसले आफ्नो विगतको इतिहास विर्सन्छ । राजा ज्ञानेन्द्रले पनि विगतको इतिहास विर्सिँदा नारायणहिटीबाट बाहिरिनु पर्यो, अब कम्युनिस्ट सरकारको पनि त्यस्तै परिदृश्य नआउला भन्न सकिन्न ।

डा. गोविन्द केसी यस्ता सत्याग्रही हुन् जसले आफ्ना लागि कहिल्लै सुख सयल खोजेनन् । जीवनका यौवनकालमा समेत देश र जनताको स्वास्थ्यको चिन्ता गर्दै लागि हातमा स्थेस्कोप लिएर योगदान गरेका डा. केसीले जीवनको उत्तरार्धमा पनि कुनै भौतिक सुविधा खोजेका हैनन् । उनमा अझैपनि दुर दराजमा रोग, भोकले थलिएका जनतालाई सेवा गर्ने हुटहुटी छ । त्यहि हुटहुटीको एउटा अंश मात्र हो, चिकित्सा शिक्षा सुधारको अभियान ।

सायद संसारमा डा. केसीमात्र यस्ता पात्र हुन् जसले आफ्नो लागि नभई देश र जनताका लागि दर्जनौं पटक एउटै माग लिएर अनसन बस्नु परेको छ । सत्याग्रह गर्नुपरेको छ ।

सरकारले डा. केसी जतिपटक अनसन बस्छन् त्यत्ति नै पटक सम्झौताहरु गरेको छ । पछिल्लो पटक ०७५ साल साउनमा बर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नै डा. केसीसँग सम्झौता गरेका थिए । यो दुई वर्षको अन्तरालमा बागमतीमा कयौं पानी बग्यो तर, डा. केसीका माग पुरा गराउन ओली सरकारको मन पग्लिएन । इतिहासले यसलाई पक्कै मुल्यांकन गर्नेछ ।

प्रधानमन्त्रीका पछिल्ला गतिविधिले उनी अलोकतान्त्रिक र निरंकुश बन्दै गएको महशुष हुन्छ । खासगरी सरकारका कोही विरुद्ध लाग्छ भने त्यसलाई उनले प्रमुख शत्रुका रुपमा परिभाषित गर्छन् । डा. केसीलाई त उनले आफ्नो प्रधान शत्रु नै मानेका छन् । बालुवाटारभित्र मेडिकल माफियाहरुका वरीपरी रुमलिएका ओलीले एउटा स्थेस्कोप र चस्मा लिएर लुखुरलुखुर गाउँघर डुल्ने डा. केसीलाई आफ्नो प्रधान शत्रु ठान्नु सरासर गलत हो । डा. केसीका मागहरुलाई ओलीले सकारात्मक सोचको चस्माले हेर्न आवश्यक छ ।

डा. केसीको सत्याग्रह आज १८ औं दिनमा आइसक्दा उनीसँग वार्ता मात्रै गर्ने कुनै पहल भइरहेको छैन । के डा. केसीको जीवनको अब कुनै मुल्य छैन ? के डा. केसी यो देश र यहाँका जनताका लागि अभिषाप हुन् ? उनले ४० औं वर्षसम्म चिकित्सा क्षेत्रमा गरेको योगदानको कुनै मुल्य छैन ? के डा. केसीकै कारण नेपालको चिकित्सा शिक्षा विग्रिएको हो ? प्रधानमन्त्री ओलीले डा. केसी प्रति देखिएको कठोरताले त यहि प्रष्ट्याउँदैछ ।

प्रधानमन्त्री ज्यू, तपाई पनि लोकतान्त्रिक आन्दोलनमा १४ वर्ष बढि जेल जीवनमा बस्नु भएको छ । यौवनका अनेक कालखण्डमा खुकुरीको धारमा हिंड्नु भएको छ । दुखः के हो, रोग के हो ? कष्ट के हो ? भोक के हो ? सायद तपाई जत्तिको कसले बुझ्ला र ? यसलाई पुनः स्मरण गर्नुहोस्, अनी डा. केसीले उठाएका मागहरु अध्ययन गर्नुहोस्, मनन गर्नुहोस् ।

तपाईं जनताका नजरमा देवता बन्ने कि अरुनै मर्जी, यहाँकै ।

 

प्रतिक्रिया