कोरोना संक्रमणबाट पहिलो पटक चिकित्सकको मृत्यु
काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा मृत्यु भएको हो ।
५९ वर्षीय डा. सापकोटालाई कोरोना पुष्टि भएपछि दुई साताअघि उपचारका लागि प्रदेश अस्पतालबाट भेरी अञ्चल अस्पताल नेपालगञ्ज रिफर गरिएको थियो। उनको बिहीबार दिउँसो ३ बजे मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
डा. खड्काले भने,‘कोरोना पुष्टि भएपछि उहाँलाई नेपालगञ्ज रिफर गरेका थियौं, घर पनि उतै भएकाले उपचारमा सजिलो होला भनेर पठाएका थियौं ।’
डा. खड्काका अनुसार उनलाई ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएका थिए। डाक्टर सापकोटालाई मधुमेह र उच्च रक्तचाप पनि थियो ।
अर्थोपेडिक सर्जन सापकोटा १४ वर्षदेखि कर्णाली प्रदेश अस्पतालमा कार्यरत रहेको निर्देशक डा. खड्काले बताए ।