काेराेना संक्रमणबाट ज्यान गुमाएका डा. सापकाेटालाई सहिद घाेषणा गर्न माग

काठमाडौं । सरकारी चिकित्सक संघ (गोदान) ले कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाएका प्रा.डा. हरि सापकोटालाई सहिद घोषणा गर्न माग गरेको छ ।

आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै गोदानले प्रा.डा. सापकोटालाई सहिद घोषणा गरी उनका परिवारलाई सहिद परिवार सरहरको सुविधा दिन माग गरेको हो । तत्कालका लागि एक करोड राहत उपलब्ध गराउन पनि गोदानले माग गरेको छ ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको उपचारका क्रममा भेरी अञ्चाल अस्पतालमा बिहीबार दिउँसो ३ बजे मृत्यु भएको थियो । उनलाई ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएका थिए । अर्थोपेडिक सर्जन सापकोटा १४ वर्षदेखि कर्णाली प्रदेश अस्पतालमा कार्यरत डाक्टर सापकोटालाई मधुमेह र उच्च रक्तचाप पनि थियो ।

यस्तै गाेदानले अनशनरत प्रा. डा. गाेविन्द केसीका मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न तथा अब अनशन नै बस्नु नपर्ने वातावरण सिर्जना गर्न पनि सरकारसँग माग गरेकाे छ ।

 

प्रतिक्रिया