राहुल र प्रियंकासहित दुई सय जना विरुद्ध मुद्दा दर्ता
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ ।
भारतीय दण्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उनीहरूका विरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उलंघन गरेको दावी गरेको छ ।
यसअघि संहिता उल्लंघन गरेकै आरोपमा उनीहरुलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रुतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो । सामुहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो । बलात्कार पीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो ।
गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुको सवारी साधनलाई प्रहरीले रोकेपछि उनीहरु हिँडेरै त्यसतर्फ लागेपछि प्रहरीले गिरफ्तार गरेको हो । प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोशित हुँदै प्रश्न गरेका थिए । ‘के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ।’ उनले भारतमा सामान्य मान्छेहरु हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो ।
नेता गान्धीले आफूलाई प्रहरीले जबरजस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका छन् । उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गरेका थिए ।
‘म एक्लै हथ्रासतर्फ हिँडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ,’ उनले भनेका थिए । रासस