प्रदेश ५ राजधानी विवाद : बुटवलमा भोलि आन्दोलन गर्ने कांग्रेसकाे घाेषणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले बुटवलमा आन्दोलन गर्ने घोषणा गरेको छ । शनिबार बुटवलमा बसेको पार्टीको बैठकले बुटवलमा आन्दोलन गर्ने घाेषणा गरेकाे हाे ।

प्रदेश सभाको शुक्रबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारको प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए ।

दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने प्रस्तावविरुद्ध भोलि (आइतबार) रुपन्देही बन्द गरी वृहत प्रदर्शन गर्ने निर्णय कांग्रेसले गरेको हाे । १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय भएकाे कांग्रेस रूपन्देहीले जनाएकाे छ ।

बिहान १० बजेदेखि ५ बजेसम्म प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय भएकाे समेत बताइएकाे छ ।

हिजाे पनि रूपन्देहीलाई राजधानी बनाउन माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको थियाे । सडकमा टायर बालेर प्रदर्शन गर्नुका साथै गाडीमा ताेडफाेड समेत गरिएकाे थियाे ।

प्रतिक्रिया