पूर्व राष्ट्रपति बाराक ओबामाले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना, उत्तर कोरियाका नेता किमको यस्तो सन्देश
वासिङ्टन । कोरोना भाइरसबाट सङ्क्रमित भएका अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नीलाई पूर्व राष्ट्रपति बाराक ओबामाले स्वास्थ्य लाभको कामना गरेका छन् । उनले ट्रम्प दम्पत्तिसँगै कोरोनाभाइरसबाट सङ्क्रमित सबैको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
यस्तै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले शनिबार सन्देश पठाएका छन् । ‘उहाँहरुलाई जतिसक्दो चाडो स्वास्थ्य लाभ हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ किमले सम्प्रेषण गरेको सन्देशमा उल्लेख गरिएको छ ।
लामो समयदेखि एक अर्कालाई मुख्य दुश्मन मान्दै आएका अमेरिका र उत्तर कोरियाका शिर्ष नेताद्धय ट्रम्प र किमबीच पटक पटक शिखर वार्ता भएका थिए । त्यसैले पनि उनीहरुले एक अर्काप्रति विषेश निकटता प्रदर्शन गरेका छन् । यसअघि किम अस्वस्थ भएको खबर सार्वजनिक भएको बेला पनि ट्रम्पले तत्कालै उनको सिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।
राष्ट्रपति ट्रम्प दम्पत्तिलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई शुक्रबार राती वाल्टर रिड नेस्नल सैनिक अस्पताल लगिएको हो । उनी बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि सङ्क्रमित भएकाे बताइएको छ ।