हेपटाइटिस सी पत्ता लगाउने तीन वैज्ञानिकले पाए यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार हेपटाइटिस सी पत्ता लगाउने तीन वैज्ञानिकले प्राप्त गरेका छन् ।

सो भाइरस पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने वैज्ञानिक हार्भी जे अल्टर, माइकल ह्युस्टन र चार्ल्स एम राइसलाई संयुक्त रुपमा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको हो । हार्भी र राइस अमेरिकी नागरिक हुन् भने हटन बेलायती नागरिक हुन् ।

सन् २०१९ मा चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार बेलायतका सर पिटर ऱ्याक्लिफ तथा अमेरिकाका विलियम कायलिन र ग्रेग सिमेन्जालाई दिइएको थियो । उनीहरुलाई कोषहरुले अक्सिजनको मात्रालाई कसरी चिन्छन् र अंगीकार गर्छन् भन्ने कुरा पत्ता लगाएका कारण नोबेल पुरस्कार दिइएको थियो ।

सन् २०२० को नोबेल पुरस्कार घोषणा सोमबारदेखि शुरु भएको हो । जसअनुसार पहिलाे दिन चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा गरिन्छ ।

नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् । चिकित्सा बाहेक अन्य पुरस्कारहरु भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ ।

प्रतिक्रिया