आइपिएलमा मुम्बई पुनः र्शीष स्थानमा

एजेन्सी । युएईमा जारी आइपिएलमा मुम्बई इन्डियन्स पुनः शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेपछि मुम्बईले पुनः शीर्ष स्थानमा कब्जा जमाएको हो ।

मुम्बईले ६ खेलबाट ८ अंक जोड्दा रनरेटमा पछि पर्दै दोस्रो स्थानमा झरेको दिल्ली क्यापिटल्सको पनि ५ खेलबाट ८ अंक छ ।

अबुधावीमा भएको खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ४ विकेटको क्षतिमा १९३ रन जोडेको थियो । उसका लागि सूर्यकुमार यादवले ७९ रनको योगदान दिए । उनले ४७ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए ।

हार्दिक पाण्ड्याले १९ बलमा नटआउट ३० रन जोड्दा त्यसअघि ओपनर क्वान्टन डि ककले २३ रन र कप्तान रोहित शर्माले ३५ रन जोडेका थिए । बलिङमा राजस्थानका श्रेयस गोपालले २ विकेट लिए । जोफ्रा आर्चर र कार्तिक त्यागीले १–१ विकेट हात पारेका थिए ।

१९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८.१ ओभरमा १३६ रनमै अलआउट भयो । राजस्थानका लागि जोस बटलरले ७० रन जोडे पनि जितका लागि महत्वपूर्ण हुन सकेन । राजस्थानले तेस्रो ओभर चल्दा महत्वपूर्ण ३ विकेट गुमाउदा १२ रन मात्र जोडेको थियो ।

ओपनिङमा आएका यशस्वी जसैवाल शून्यमा आउट भए भने कप्तान स्टिभ स्मिथले ६ रन भन्दा जोड्न सकेनन् । लगत्तै सञ्जु सामसन पनि शून्यमै पेभिलियन फर्के । बटलरबाहेक जोफ्रा आर्चरले ११ बलमा २४ रन जोडे पनि अन्य ब्याट्सम्यान सस्तैमा आउट भए ।

मुम्बईका जसप्रित बुमराहले ४ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चिए । ट्रेन्ट बोल्ट र जेम्स प्याटिनसले २–२ विकेट हात पारे ।

प्रतिक्रिया