मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्छ कोरोना, यसरी पार्न सकिन्छ निष्क्रिय

काठमाडौं । नयाँ अनुसन्धानबाट कोरोना भाइरस (कोभिड १९) मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्ने तथ्य पत्ता लागेको छ । जापानमा गरिएको एक अध्ययनमा सो तथ्य पत्ता लागेको हो ।

जापानका क्योटो प्रिफेक्चुरल युनिभर्सिटी अफ मेडिसिनका अनुसन्धानकर्ताले गरेकाे अनुसन्धानमा पत्ता लागेकाे तथ्य अनुसार कोरोना (सार्स–कोभ–२) मानिसको छालामा ९ घण्टासम्म बाँच्न सक्ने पाइएको हो । फ्लु गराउने इन्फ्लुएन्जा भाइरस भने छालामा २ घण्टा जति मात्रै जीविति रहन सक्छ ।

तर यी दुवै भाइरस साबुनपानीले धुँदा वा सेनिटाइजर लगाउँदा निष्क्रिय हुन्छन् । यो अध्ययनले कोरोनाबाट बच्न साबुनपानीले मिचीमिची हात धुनु तथा सेनिटाइजर लगाउनुको महत्वलाई पुनः पुष्टि गरेको छ ।

८० प्रतिशत इथानोल भएको सेनिटाइजर प्रयोग गर्दा उल्लिखित दुवै भाइरस १५ सेकेन्डमै निष्क्रिय भएको पनि पाइएको अनुसन्धानकर्ताले बताएका छन् । हात सफा  राख्ने हाे भने संक्रमणकाे जाेखिम कम हुने अनुसन्धानकर्ताकाे भनाइ छ ।

यसअघि अमेरिकामा गरिएको अध्ययनले कोरोना तामामा ४ घण्टा, कागजको बोर्डमा २४ घण्टा तथा प्लास्टिक र स्टेनलेस स्टिलमा ७२ घण्टासम्म बाँच्न सक्ने देखाएको थियो ।

प्रतिक्रिया