राजस्व हिनामिना गर्ने विरुद्ध अख्तियारद्वारा मुद्दा दायर
काठमाडौं । राजस्व रकम उठाएर कार्यालयको खातामा जम्मा नगरी हिनामिना गर्ने वडा सचिव र प्रशासन सहायक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
आयोगले सुर्खेत, बीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडा सचिव इन्द्र प्रसाद अधिकारी र प्रशासन सहायक रत्न बहादुर बि.क. उपर राजस्व हिनामिना गरी १६ लाख बढि भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
बीरेन्द्रनगर नगरपालिकाको ४ नं. वडा कार्यालय भैरवस्थानमा प्रशासन सहायक (करार सेवा) पदमा कार्यरत बि.क. ले वडा कार्यालयबाट उठाएको राजस्व रकम कार्यालयको राजस्व खातामा जम्मा नगरी हिनामिना गरेको आरोप छ ।
उनलाई उजुरीका आधारमा आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले निज बि.क. लाई थप अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा बि.क. ले बीरेन्द्रनगर नगरपालिका वडा नं. ४ को कार्यालयबाट राजस्व रकम २० लाख २० हजार ०६७ रुपैंया संकलन गरेकोमा बिभिन्न मितिमा ४ लाख १६ हजार ६ सय मात्र बैंक दखिला गरी १६ लाख ०३ हजार ४६७ रुपैंया राजस्व रकम बैंकमा दाखिला नगरी राजस्व रकम हिनामिना गरेको देखिएको ठहर भएको छ ।
संकलित राजस्व रकम कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका वडा सचिव (सहायकस्तर पाँचौ) इन्द्र प्रसाद अधिकारीसमेतको प्रत्यक्ष मिलेमतो एवं संलग्नता र मद्दत पुर्याएको देखिएको समेत आयोगको ठहर छ ।
उनीहरु दुवैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (ग) बमोजिमको कसुर गरेको स–प्रमाण पुष्टि हुन आएकोले निजहरुलाई बिगो १६ लाख ३ हजार चार सय ७६ रुपैंया एक पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम कैद सजाय र ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनका साथै हिनामिना गरेको राजस्व मध्ये रु. ७ लाख १६ हजार ७१७ हालसम्म पनि दाखिला नगरिएकोले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) बमोजिम दाखिला नगरिएको बिगो ७ लाख १६ हजार सात सय सत्र रुपैंया आरोपीहरु बाट असुल उपर गरी जफत हुन समेत माग दाबी गरिएको छ ।