२५ वर्षीय युवकलाई कोरोना संक्रमण निको भएको एक महिनामै दोहोरियो

एजेन्सी । एक पटक कोरोना संक्रमण भएर निको भइसकेपछि दोहोरिने संभावना कमै हुन्छ भनिएको थियो तर, अमेरिकामा एक व्यक्तिलाई कोरोना संक्रमण दोहोरिएको छ ।

कोरोना संक्रमण निको भएको एक महिनापछि नै २५ वर्षीय युवकलाई पुनः संक्रमण देखापरेको विविसीले जनाएको छ । यसलाई चिकित्सकले ‘घातक’ भनेका छन् ।

अमेरिकाको दक्षिण–पश्चिम राज्य नभाडाका ती युवकलाई पहिला कुनै रोग थिएन । तर गत मार्च २५ तारिखमा उनलाई घाँटी तथा टाउको दुख्ने, खोकी, वाकवाकी तथा पखाला लाग्ने समस्या भयो । त्यसपछि परीक्षण गर्दा अप्रिल १८ मा कोरोना पुष्टि भएको विविसीमा उल्लेख छ ।

ती युवकको अप्रिल २७ मा सबै लक्षण हराए । अनि मे ९ र २६ मा परीक्षण गर्दा दुवै पटकको रिपोर्ट कोरोना नेगेटिभ देखियो । तर करिब एक महिनापछि मे २८ मा उनलाई फेरि कोरोनाका लक्षण देखापरेको थियो । यसपटक उनलाई ज्वरो आउने, टाउको दुख्ने, रिँगटा, खोकी, वाकवाकी र पखाला लाग्ने भयो ।

यसपछि जुन ५ मा उनको स्वाब परीक्षण गर्दा उनलाई पुनः कोरोना भएको पुष्टि भयो । ती युवकका दुवै फोक्सोमा अक्सिजन नपुगेपछि अस्पताल भर्ना गरिएको थियो । अहिले उनी निको भइसकेका छन् ।

यस घटनाले कोरोना संक्रमण हतपत नदोहोरिने विश्वासलाई तोडेको अन्तराष्ट्रिय अनुसन्धानकर्ताहरुले बताएका छन् । ‘लान्सिट इन्फेक्सस डिजिजेज’ जर्नलमा प्रकाशित शोधले कोरोना संक्रमण भइसकेपछि शरीरमा रोगप्रतिरोधी शक्ति कति बन्छ भन्ने विषयमा शंका व्यक्त गरेको छ ।

वैज्ञानिकका अनुसार ती युवकमा पहिलेकै पुरानो भाइरस लुकेर बसेको र पछि देखा परेको नभई फेरि नयाँ संक्रमण भएको हो । पुनः परीक्षण गर्दा उनमा देखिएको कोरोनामा आनुवंशिक संरचना फरक पाइएको अनुसन्धानकर्ताले बताएका छन् ।

युनिभर्सिटी अफ नभाडाका डा. मार्क प्यान्डरीले भन्छन्, ‘यसले एकपटक कोरोना संक्रमण भएर निको भएपछि फेरि संक्रमण हुँदैन भन्ने देखाउँछ, संक्रमण दोहोरिने सम्भावनाले कोरोना प्रतिरोधी शक्ति बन्नेबारे हामीले अहिलेसम्म हासिल गरेको ज्ञानलाई चुनौती दिएको छ ।’

उनी कोरोना निको भएका व्यक्तिले पनि व्यक्ति–व्यक्तिबीच दूरी कायम, मास्क र हात धुनेजस्ता स्वास्थ्य सतर्कताका नियम पालना गर्नुपर्ने देखिएको बताउँछन् । वैज्ञानिकले कोरोना भाइरस र यसविरुद्ध शरीरमा बन्ने प्रतिरोध क्षमताबारे वास्तविक तथ्य पत्ता लगाउने प्रयास जारी राखेका छन् । अहिलेसम्म एकदमै थोरै व्यक्तिलाई मात्र कोरोना दोहोरिएको छ ।

हङकङ, बेल्जीयम र द नेदरल्यान्ड्स, एक्वडोर, अमेरिकामा केहीलाई संक्रमण दोहोरिएको छ । दोस्रोपटक संक्रमण हुँदा भाइरस अझ बलियो भएको तथा पहिलेको भाइरसविरुद्ध शरीरमा बनेको प्रतिरोधी क्षमताले काम गर्न नसकेको हुन सक्ने अनुसन्धानकर्ताको अनुमान छ ।

डेंगीजस्ता संक्रमणमा पनि पहिलेको एन्डिबडीले काम नगरेको प्रमाण रहेको वैज्ञानिकहरुको भनाई छ । युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाका प्राध्यापक पोल हन्टरले कोरोना निको भएको छोटो समयमै संक्रमण दोहोरिनु र दोस्रो पटकको संक्रमण अझ गम्भीर देखिनुले चिन्ता बढाएको बताए ।

‘यसले अहिले विकास भइरहेको खोपबारे पनि पुनःविचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।’ हन्टर भन्छन्–‘तथापि, अहिले नै खोपबारे शंका गर्नु हतार हुन्छ । तर यस्ता घटनाले पहिलो संक्रमणपछि शरीरमा कस्तो प्रतिरोधात्मक क्षमता बन्छ वा बन्दैन भन्ने विषयमा हामीलाई अझै पर्याप्त कुरा थाहा नभएको चाहिँ पुष्टि गर्छ ।’

प्रतिक्रिया