अमेरिकी राष्ट्रपतिय निर्वाचन : कसकाे पक्षमा आउला परिणाम ?
एजेन्सी । संयुक्त राज्य अमेरिकामा नोभेम्बर ३ अर्थात् आज (मंगलबार) राष्ट्रपतिको निर्वाचन हुँदैछ ।
चुनावी मैदानमा अहिलेका राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनबीच प्रतिस्पर्धा रहेको छ । राष्ट्रपति ट्रम्पसँग प्रतिस्पर्धा गरिरहेका बाइडेन पूर्व उपराष्ट्रपति हुन् ।
चुनावअघि भएका विभिन्न सर्वेक्षणले बाइडनको पक्षमा बलियो मत देखिन्छ । सर्वेक्षणको हवाला दिँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरे अनुसार बाइडन ट्रम्पभन्दा झण्डै १० प्रतिशत मतले अगाडि छन् ।
एनबीसी न्यूज र वालस्ट्रिटले चुनावको दुई दिन अघि गरेका सर्वेक्षणले बाइडेन ५२ र ट्रम्पको पक्षमा ४२ मत खस्ने रिपोर्ट सार्वजनिक गरेका छन् । राष्ट्रपति चुनावमा ट्रम्पसँग उपराष्ट्रपतिको उम्मेदवारको रुपमा माइक पेन्स छन् भने बाइडेनको साथमा कमला ह्यारिस ।
राष्ट्रपति उम्मेदवार बाइडन अमेरिकी राजनीतिका पुराना र अनुभवी राजनीतिज्ञ हुन् । विदेश मामिला र कूटनीतिमा विशेष दख्खल राख्ने बाइडन व्यवहारिक लाग्छन् । उता ट्रम्प भने अहंकारी भएको आरोप लाग्ने गरेको छ । अमेरिकामा हुलाक र मतदान केन्द्रमै गएर अहिलेसम्म ९ करोड ३० लाख बढीले अग्रिम मतदान गरिसकेका छन् ।
यद्यपी अमेरिकी राष्ट्रपतिय निर्वाचनमा विजय हासिल गर्न लोकप्रिय मतले मात्र काम गर्दैन । २००० मा तत्कालिन रिपब्लिकन पार्टीका उम्मेद्वार जर्ज डब्लु बुश र सन् २०१६ मा डोनाल्ड ट्रम्पले चुनाव जितेका थिए । ट्रम्पले हिलारी क्लिन्टनको भन्दा करिब ३० लाख कम मत प्राप्त गरेपनि चुनाव जित्न सफल भएका थिए । त्यसैले अमेरिकी राष्ट्रपतिय निर्वाचनमा लोकप्रिय मत मात्र निर्णायक हुँदैन ।
यो वर्ष भने अमेरिकी मतदाताहरुले मतदान प्रक्रियामा नयाँ अभ्यास पनि गरिरहेका छन् । उनीहरुले कोरोना भाइरसको जोखिमका कारण मेलमार्फत् मतदान गरेर उम्मेद्वार छनौट गरेका छन् । यद्यपि, सामान्यतया ती मेल मतपत्रहरुको गणना गर्न भने निकै समय लाग्ने जनाइएको छ ।
अमेरिकी राष्ट्रपति चुनाव लड्नका लागि स्वभाविक रुपमा जन्मजात अमेरिकी नागरिक हुनुपर्ने अमेरिकी नियम छ । उमेर कम्तिमा ३५ वर्ष हुनुपर्छ । १९३३ देखि अहिलेसम्म अमेरिकाका हरेक राष्ट्रपति एक गभर्नर, सिनेटर या फाइभ स्टार सैन्य जनरल रहेका छन् ।
अमेरिकी चुनावमा राष्ट्रपति पदका लागि नामांकन प्रक्रिया दुनियाँभरमा सबैभन्दा जटिल, लामाे र महंगाे प्रक्रिया मानिन्छ । हरेक चार वर्षपछि डेमाेक्रेटिक र रिपब्लिकन पार्टीका उम्मेदवारी हाँसिल गर्नका लागि चाहना राख्नेहरू आम चुनाव अघि, सबै राज्यहरूमा प्राइमरी चुनावकाे सामना गर्छन् ।
प्रत्येक राज्यमा प्राइमरी चुनाव जितेपछि उनीहरूले निश्चित संख्यामा प्रतिनिधिहरूको समर्थन प्राप्त गर्छन् । जाे उम्मेदवारले महिनाैँसम्म चल्ने यस प्रक्रियामा आफ्नो पक्षमा निश्चित संख्यामा प्रतिनिधि प्राप्त गर्छ, मनोनयन पाउने छ । मतलब उनी पार्टीको औपचारिक उम्मेदवार बन्छन् ।
जित्ने सम्भावना कसकाे कति ?
धेरैजसो सर्वेक्षणले वाइडेनको पक्षमा जनमत उर्लिएका कारण उनले विजय हात पार्ने औँल्याइरहेका छन् । एकाध सर्वेक्षणले मात्र ट्रम्पले जित्ने भविष्यवाणी गरेका छन् । अफ्रिकी अमेरिकनले निर्वाचनमा बढी सहभागिता जनाएको, युवा र नयाँ मतदाताको सहभागिता पनि धेरै भएको, अग्रिम मतदान पनि धेरै भइसकेका कारण वाइडेनले जित हात पार्ने अनुमान गरिएकाे छ । रजिष्टर गरिएका मतदातामध्ये ४३ प्रतिशत डेमोक्रेट र २५ प्रतिशत रिपब्लिकन रहेका छन् ।
स्वतन्त्र सर्वेक्षणले हालसम्म ट्रम्पको पक्षमा १८८ र वाइडेनको पक्षमा २३३ इलेक्टोरल मत सुरक्षित रहेको दाबी गरेका छन् । ट्रम्प पक्षीय पर्यवेक्षकहरूले सन् २०१६ को नतिजामा जर्जिया र एरिजोनासमेत थपिने दाबी गरेका छन् ।
वाइडेनले ट्रम्पलाई कोरोना सामु आत्मसमर्पण गरेको, रङ्गभेद नीतिलाई बढावा दिएको र देशलाई विभाजनको रेखामा लगेको आरोप लगाएका छन् भने ट्रम्प र रिपब्लिकनले आठ वर्ष उपराष्ट्रपति र ४७ वर्षसम्म सिनेटर बनेका वाइडेनले अमेरिकालाई समुन्नत बनाउन के भूमिका खेले ? भनेर प्रश्न गरिरहेका छन् ।
अमेरिकामा अग्रिम मतदान भने करिब दुई हप्ताअघि नै सुरु भइसकेको छ । कोरोनाका कारण यसपटक अग्रिम मतदान र हुलाकमार्फत् गरिएको हाे । मतदानमा आधाभन्दा बढी व्यक्तिले भाग लिइसकेको जनाइएको छ । अमेरिकी समय शनिबार रातिसम्ममा करिब आठ करोड ५० लाख मतदाताले मतदान गरिसकेका छन् । जसमध्ये हुलाकमार्फत् गरिएको मत सङ्ख्या पाँच करोड ५० लाख छ ।
चार वर्षअघि सन् २०१६ मा झण्डै १४ करोड मतदाताले मतदान गरेका थिए भने यसपटकको निर्वाचनमा करिब १६ करोड मतदाताले सहभागिता जनाउने अनुमान छ । अमेरिकी इतिहासमा नै मतदानको दिनअघि नै यति धेरै मतदान गरिएको यो पहिलो पटक हो ।