अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन थाल्यो
काठमाडौं । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अमेरिकी मतदाताहरूले मतदान गरेका छन् । कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ ।
बहालवाल राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ । इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् तर पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ । कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए ।
यतिखेर सबैको ध्यान फ्लोरिडाको नतिजामा अडिएको छ । फ्लोरिडाको पूरा नतिजाले यसपटकको निर्वाचनमा को बलियो छ भन्ने संकेत गर्ने अपेक्षा छ । फ्लोरिडाजस्तै चुनावी हिसाबले महत्वपूर्ण मानिने राज्यहरु जर्जिया, पेन्सेलभेनिया, ओहायो र नर्थ क्यारोलिनाको मत सार्वजनिक नभएसम्म कसले चुनाव जित्दैछ भन्यो भने त्यो हतारको विश्लेषण हुनसक्छ ।अमेरि
कामा रिपब्लिकनहरूलाई परम्परावादी र डेमोक्रयाटहरुलाई उदारवादी धारको रुपमा लिने गरिन्छ । अमेरिकामा कुल ५३८ वटा इलेक्ट्रोरल कलेज मतमध्ये जुन उम्मेदवारले २७० भन्दा बढी मत प्राप्त गर्न सक्छ उसैलाई विजयी भएको मानिन्छ ।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि मतदानमा हिलरी क्लिन्टनले धेरै मत पाएपनि इलेक्ट्रोरल कलेजको मत डोनल्ड ट्रम्पले धेरै पाएर राष्ट्रपतिमा निर्वाचित भएका थिए । अमेरिकामा हरेक चार चार बर्षको नोभेम्बरमा निर्वाचन हुने गर्दछ । त्यस निर्वाचनबाट निर्वाचित नयाँ राष्ट्रपतिले औपचारिक रूपमा जनवरीमा २० तारिखमा शपथ ग्रहण गर्दै ह्वाईट हाउस प्रवेश गर्ने परम्परा रहेको छ ।