सम्झनामा सूर्यबहादुर केसी : चाउचाउ उद्योगका पितादेखि राजनीतिज्ञसम्म
काठमाडौं । दक्षिण एशियामा नै पहिलोपल्ट नेपालमा आधुनिक ‘रारा’ चाउचाउ उद्योग खोलेर पोखरामा औद्यागिक गति प्रदान गरेका पोखराका प्रतिष्ठित उद्योगपति हुन् सूर्यबहादुर केसी । उनलाई औद्यागिक क्षेत्रका सफल व्यक्तित्वका रूपमा लिइन्छ ।
उद्योगपति केसीको नाम राजनीति र समाजसेवामा समेत उत्तिकै परिचित छ । उनै केसीको गत सोमबार साँझ ६५ वर्षको उमेरमा निधन भएसँगै व्यवसायी एवं समाजसेवी र राजनीतिककर्मीलगायतले चिन्ता व्यक्त गरेका छन् । केसी राजनीति र व्यवसाय दुवैमा सफल थिए ।
प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद समेत रहेका उनी युनाइटेड इदि मर्दी एण्ड आरबी हाइड्रोपार, भगवती हाइड्रोपावर, तास हाइड्रोपावर, गण्डकी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी प्रालि, हस्पिटालिटी लगायतका संस्थापक र शिक्षा, निर्माणमा समेत केसीले लगानी गरेका छन् ।
माछापुच्छ्रे बैंकका संस्थापक अध्यक्ष पनि रहेका छन् उनी । केसी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए । कुनै पनि अवसरलाई आफ्नो हातबाट गुम्न नदिने स्वभावका उनी नयाँ कामप्रति संग्लग्न हुन रूचाउँथे । उनले पोखरामा आधुनिक चाउचाउ उद्योग सञ्चालन गरेर व्यवसायमा पनि आफूलाई सफल सावित गरेका थिए । विविध कठिनाइसँग जुध्दै उनी आक्रामक रुपमा राप्रपाको राजनीतिमा सक्रिय रहेका थिए ।
केसी पहिलो संविधानसभाको सदस्य बने र पछि राप्रपा परित्याग गरेर नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य बनेर प्रतिनिधिसभा सदस्य बनेका थिए । केसीलाई नजिकबाट चिन्नेहरू केसी समाजसेवी, अत्यन्त मिलनसार स्वभावका असल व्यक्तित्वका रहेको बताउँछन् । उनी बहुआयामिक व्यक्तित्व, महिला, बालबालिका, युवा, ज्येष्ठ नागरिक सबैको हितमा सोच्ने र सहयोगका लागि तत्पर हुने सामाजिक भावनाको व्यक्तिको रुपमा समेत परिचित व्यक्तित्व हुन् ।
गण्डकी नूडल्समार्फत सिन्के चाउचाउ उत्पादन गरेका व्यवसायी फणीन्द्रमान श्रेष्ठ र कृष्ण आचार्यको समूहसँगको साझेदारीमा विसं २०२३ असारमा रारा चाउचाउ उत्पादन शुरु गरिएको थियो । गण्डकी नूडल्सबाट रारा चाउचाउ हिमश्री फुड्समार्फत् उत्पादन हुन थालेको थियो । विसं २०३० मा केसी कन्स्ट्रक्सन नामकरण गरेर निर्माण व्यवसायको यात्रालाई थप गति प्रदान समेत केसीले गरेका थिए ।
केसी समूहअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ, नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ कलेज र कालिका मल्टिप्रपोज कलेजमा लगानी छ । उनकाे श्रीमती र तीन छोरा छन् ।