अमेरिकी निर्वाचन : हार नजिक पुगेपछि ट्रम्प हडबडीमा, पुगे अदालत
काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेपछि रिपब्लिकनका उम्मेदवार डाेनाल्ड ट्रम्प अदालत पुगेका छन् । आफू हार नजिक पुगेपछि ट्रम्पले जर्जिया पेन्सिल्भेनिया र मिशिगनमा अदालती प्रक्रिया सुरु गरेका हुन् ।
उनले तत्काल मतगणना रोकिनुपर्ने माग गरेका छन् । यद्यपि ट्रम्पले यस विषयमा कुनै प्रमाण भने पेश गरेका छैनन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि ‘धोकाधडी’ भएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन् ।
अहिलेसम्म बाइडनले २५३ इलेक्टोरल कलेज भोट पाइसकेकाे द न्युयोर्क टाइम्सले जनाएकाे छ । ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल कलेज भोट पाएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार बाइडेनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् ।
यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए । अब मतगणनाको नतिजा आउन बाँकी रहेका ६ राज्यमध्ये बाइडन एरिजोना र नोभाडामा अगाडि छन् । बाइडनले आफूले अहिले अग्रता लिएका दुई राज्यमा मात्र जित हात पारेको खण्डमा त्यो उनलाई ४६ औं राष्ट्रपति बनाउन पर्याप्त हुनेछ । यद्यपि यी दुवै राज्यमा बाइडन र ट्रम्पको ठूलो अन्तर भने छैन । यस्तोमा नतिजा जसको पक्षमा पनि जान सक्छ !
शुक्रबारसम्म अधिकांश मतगणनाको काम सकिने बताइएकाे छ ।