कांग्रेसले लौह पुरुषलाई किन विर्सँदैछ ?
नेपाली कांग्रेस पार्टीका संस्थापक, लौहपुरुष, त्यागको राजनीति गर्ने स्वर्गिय गणेशमान सिंहको आज १०६ औं जन्म जयन्ति हो । नेपाली राजनीतिमा त्याग र साहसको राजनीतिज्ञ गरेर विशिष्ठ स्थान हासिल गरेका नेपाली कांग्रेसका संस्थापक नेता गणेशमान सिंहलाई बर्तमान कांग्रेसले कत्तिको सम्झिइरहेको छ ? विष्लेषण गर्न जरुरी छ ।
२००३ सालमा नेपालमा प्रजातान्त्रिक आन्दोलनका लागि स्वर्गिय विश्वेश्वर प्रसाद कोइरालाको अगुवाईमा नेपाली कांग्रेसको स्थापना हुँदा गणेशमान त्यसको संस्थापक नेता हुन् । हक्की स्वभावका गणेशमानले राणा शासनको अन्त्य गरी २००७ सालमा प्रजातन्त्र स्थापना गर्न मात्र योगदान दिएनन् । पञ्चायती शासन व्यवस्था र २०४६ सालमा बहुदलीय शासन व्यवस्था ल्याउन समेत उत्तिकै योगदान गरेका छन् । १९९७ सालमै राष्ट्रिय प्रजापरिषद् गठन भएसँगै राजनीतिमा हाम फालेका उनले त्यसपछि कहिल्लै व्यक्तिगत जीवन व्यतित गरेनन् ।
राणा शासनको विरुद्ध लागेको आरोपमा आजिवन काराबासको सजाय पाएका गणेशमान भद्रगोल जेलको पर्खाल नाघेर पुनः कृष्णबहादुर प्रधानका नाममा राणा शासकका विरुद्ध अभियानमा लाग्दै भारतमा विश्वेश्वर प्रसाद कोइरालाको सम्पर्कमा पुगेपछि नेपाली कांग्रेसको संस्थापक नेताका रुपमा राजनीतिमा सक्रिय भए ।
२००७ सालमा भारतको विहार स्थित बैरगनिया सम्मेलन भयो । उक्त सम्मेलनमा गणेशमान सिंह, खड्गजीत बराल, बहादुरसिंह बराल, डाक्टर के.आई. सिंह, मातृकाप्रसाद कोइराला, बि.पि. कोइराला, कृष्णप्रसाद भट्टराई र महेन्द्र नारायण निधि आदिको समेत उपस्थिति रहेको थियो । ’बैरगनिया सम्मेलन’ मा भाग लिने जति सबैले तत्कालीन जहाँनिया राणा शासन फाल्न ’डु अर डाई’ अर्थात् कि राणा शासन खत्तम गर्ने कि हामी खत्तम हुने नीति अप्नाउन स्विकारेका थिए ।
मुलुकलाई जहाँनिया राणा शासकको कब्जाबाट मुक्त पार्न गणेशमानले प्राणकोसमेत परर्वाह नगरी देखाएको साहस नेपाली राजनीतिमा अनुकरणीय छ ।
२०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरेपछि ८ वर्ष सुन्दरीजल जेलमा बन्दी भएका उनी २०२५ सालमा जेलमुक्त हुने वित्तिकै पुनः पञ्चायती शासन विरुद्ध निर्वासित भए । २०३३ सालमा वीपी कोइरालाले मेलमिलापको नीति लिएर स्वदेश फर्कँदा गणेशमानलाई पुनः त्रिभुवन विमानस्थलमै पक्राउ गरी राजकाजको मुद्दा चलाईएको थियो ।
२०३९ सालमा वीपी कोइरालाको निधन भएपछि पार्टीको बागडोर गणेशमानको काँधमा आइपर्यो । त्यसपछि कांग्रेसको सर्वोच्च नेता भएर उनले २०४६ सालको बहुदलिय प्रजातान्त्रिक आन्दोलनको अगुवाई गरे । आफ्नै घरबाट २०४६ सालको जनान्दोलनको घोषणा गरेका उनी आन्दोलनको सर्वोच्च कमाण्डर भए । २०४६ सालको जनान्दोलन सफल भयो ।
नेता गणेशमानलाई त्यागको राजनीति गर्ने नेताका रुपमा त्यत्तिबेला सम्मानीत गरियो जतिबेला राजा विरेन्द्रले जनान्दोलन पछिको पहिलो अन्तरिम सरकारमा प्रधानमन्त्री बन्न आग्रह गरे । उनले उक्त प्रस्ताव कृष्णप्रसाद भट्टराईलाई दिए । ०४९ सालमा कांग्रेसको ८ औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला सँग उनको मतभेद भयो । गणेशमान सिंह पार्टीको सक्रिय राजनीतिबाट टाढा भए ।
त्यागको राजनीति कता हरायो ?
गणेशमान सिंहको जस्तो त्यागको राजनीति गर्नेहरु कांग्रेसमा किन पैदा भएनन् ? अथवा बर्तमान कांग्रेस नेतृत्वमा त्यागको राजनीति गर्नेहरु किन अटाएनन् ? हरेक वर्ष गणेशमान सिंहको जन्मजयन्ती र स्मृति दिवसमा उठ्ने सवाल हो ।
आजको कांग्रेस वीपी, गणेशमान र कृष्णप्रसादले नेतृत्व गरेको कांग्रेस रहेन । अहिले कांग्रेसभित्र त्यागको भन्दा स्वार्थको राजनीति हावी भएको छ । जब राजनीतिमा स्वार्थ हावी हुन्छ त्यहाँ त्यागको अवसान हुन्छ । कांग्रेस १४ औं महाधिवशेनको संघारमा आइपुग्दा त्यसको रुप र सार ९० डिग्रीको कोणबाट बदलिएको छ ।
अब कांग्रेसमा वीपी, कृष्णप्रसाद र गणेशमान जस्ता त्यागी, दुरदर्शी नेताको इतिहास छैन । २०४५ सालमा गणेशमान सिंहको अवसान हुनु अगावै कांग्रेसमा त्यागको अवसान भएको थियो । पार्टीभित्र इमान्दारिता, कर्तव्यनिष्टता र सिद्धान्त ओझेलमा परेपछि क्षेत्रपाटीमा गुमनाम भएका गणेशमानलाई पुनः सक्रिय गराउन तत्कालिन नेतृत्वले त्याग त देखाउन सकेनन् बरु, सत्ता लिप्सा र भ्रष्टाचारको दलदलमा पार्टीलार्ई नै डुबाए । कुनैबेला दक्षिण एशियाकै शक्तिशाली पार्टीका रुपमा स्थापित कांग्रेस आज कठिन मोडमा पुग्नुमा गणेशमान, कृष्णप्रसाद पछि नेतृत्वमा आएका, गिरिजाप्रसाद र शेरबहादुर जस्ता पात्रको प्रमुख हात छ ।
अहिले कांग्रेसको स्थापना कुन उद्देश्यमा भएको थियो, कांग्रेसको सिद्धान्त के हो ? कुनै नेतृत्वले ब्याख्या गर्न सक्दैनन् । नेपाली कांग्रेसले अंगिकार गरेको ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’को परिभाषा स्वयं पार्टी सभापतिलाई समेत थाहा नभएको परिप्रेक्ष्यमा गणेशमान, वीपी र कृष्णप्रसाद जस्ताले अंगिकार गरेका सिद्धान्तहरु कसले याद गर्ला र ?
इतिहास बर्तमान र भविष्यको आधार हो । तर, नेपाली कांग्रेसले ‘हिँड्दैछ पाइला मेट्दैछ’ जस्तो हरेक राजनीतिक परिवर्तन पछि आफ्नै इतिहास विर्सँदै गएको छ । इतिहास परिवर्तनशिल पनि हुन्छ । आजको २१ औं शताब्दीमा १८ औं शताब्दीको इतिहास खोतलेर त्यसकै सिद्धान्तमा चल्न सकिन्न । तर, ती कालखण्डको आर्थिक, सामाजिक, राजनीतिक परिवेशलाई मुल्यांकन गर्दै समय र परिस्थिति अनुरुप आफुलाई बदल्न सक्नुपर्छ । तर, बर्तमान नेपाली कांग्रेसका नेतृत्वमा त्यो क्षमता र दृष्टता देखिएन । इतिहासबाट सिकेर बर्तमानमा भविष्यका लागि सोच्ने शक्ति नेतृत्वमा छैन भने त्यो पार्टी भुत्ते हुन्छ । अहिले कांग्रेस नेतृत्वकै कारण भुत्ते भएको छ ।
कांग्रेसको १४ औं महाधिवेशनको संघारमा नेतृत्व परिवर्तनको मुद्दा घनिभूत रुपमा उठेको छ । खासगरी युवा पुस्ताले पार्टीको नेतृत्व लिनुपर्छ भन्ने माग छ । तर, बर्तमान नेतृत्व यो कुरा सजिलै मान्ने पक्षमा छैन । जसरी वीपी, गणेशमान, कृष्णपसादले समयसँगै आएका परिवर्तनलाई आत्मसात गर्दै पार्टीको सिद्धान्त, विचार र नीति परिवर्तनमा जोड दिएका थिए । अहिलेको नेतृत्वले त्यहि अभियान चाल्नु अपरिहार्य छ ।
गणेशमान सिंह नेपाली राजनीतिमा लौहपुरुष हुन्, त्यागको राजनीति गर्ने सर्वोच्च नेता हुन् । उनको इमान्दारिता, त्याग र साहसलाई कांग्रेसले मात्र हैन सम्पूर्ण नेपालीजनले स्विकार गर्नुपर्छ । गणेशमानलाई आज एकदिन याद गरेर मात्रै पुग्दैन, उनको त्याग, साहस र समर्पणको राजनीतिलाई बर्तमान राजनीतिज्ञले हरेक पल सम्झन आवश्यक छ । कांग्रेसले त झनै गर्नुपर्छ ।