दिगो आर्थिक विकासका लागि त्रिपक्षीय सहकार्य : २ देखि ४० लाखसम्मको कर्जा सुविधा

काठमाडौँ । दिगो आर्थिक विकासका लागि त्रिपक्षीय सहकार्य भएको छ । जर्मन सरकारको सहयोगमा सेर्डा–२ प्रोजेक्टका लागि सिद्धार्थ बैङ्क लिमिटेड, नेपाल राष्ट्र बैङ्क र के.एफ.डब्ल्यु डेभलपमेन्ट बैङ्क बिच हालै एक त्रिपक्षीय सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैङ्कका तर्फबाट लघु वित्त संस्था सुपरिवेक्षण विभाग प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

यस प्रोजेक्ट नेपाल सरकार, अर्थ मन्त्रालय र जर्मन सरकारको समन्वय एवं जर्मन वित्तीय विकास निगमको सहयोगमा भएको हो । जसमा नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैङ्क मार्फत वाणिज्य बैङ्कमध्येबाट सिद्धार्थ बैङ्क र जर्मन सरकारको तर्फबाट के. एफ. डब्ल्यु डेभलपमेन्ट बैङ्कद्वारा कार्यान्वयन गर्ने गरी नेपालको ग्रामीण तथा अर्धसहरी क्षेत्रको दिगो आर्थिक विकासका लागि लघु तथा साना व्यवसायीहरूलाई प्रत्यक्ष कर्जा सुविधा र तालिम, परामर्श लगायत आवश्यक प्राविधिक सेवाहरू प्रदान गर्नेछ ।

यस परियोजना अन्तर्गत जर्मन आर्थिक सहयोग कार्यान्वयन गर्दै बैङ्कले लघु, साना तथा मझौला उद्यम वित्तीयका लागि रु दुई लाख देखि रु चालिस लाखसम्मको कर्जा सुविधा प्रदान गर्ने छ । १० वर्षसम्मको कर्जा अवधि हुने छ । लघु, साना तथा मझौला उद्यमीहरूलाई सिपमूलक तालिम, परामर्श एवं अन्य प्राविधिक सहयोग प्रदान गरिने छ ।

विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गलाई वित्तीय सेवा प्रदान गर्ने बैङ्कको मुख्य प्राथमिकता रहेकाले यस सम्झौताले सिद्धार्थ बैङ्क र के.एफ.डब्ल्यु डेभलपमेन्ट बैङ्क बिचको सहकार्य अझ सुदृढ बनाउने र नेपालको लघु, साना तथा मझौला उद्यम वर्गहरूको विकासमा थप टेवा पुग्ने विश्वास बैङ्कले लिएको छ ।

प्रतिक्रिया