ट्रम्पले हार स्वीकार नगर्नु राष्ट्रपतिको बिरासत विपरित: बाइडन

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा भोगेको हार स्वीकार गर्न नमान्नु राष्ट्रपतिको बिरासत विपरित भएको बताएका छन् । राष्ट्रपति निर्वाचित भएपछिको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो सन्देश दिइरहेका छन् भनेर सोधिएको प्रश्नको जवाफमा उनले ट्रम्पको अडानले ‘राष्ट्रपतिको बिरासतलाई सहयोग नगर्ने’ प्रतिक्रिया दिएका हुन् ।

‘मलाई लाग्छ कि यो लज्जासपद विषय हो । म यसलाई कसरी कुशल रूपमा भनौं,’ केही बेर रोकिँदै उनले भने, ‘मलाई लाग्छ कि यसले राष्ट्रपतिको बिरासतलाई सहयोग गर्दैन ।’ बाइडनलाई ट्रम्प प्रशासनले हालका लागि सत्ताको बागडोर सुम्पिने विषयमा सहयोग नगरे उनको योजना के छ भनेर समेत प्रश्न गरिएको थियो ।

जवाफमा उनले भने, ‘यो भए राम्रै हुन्छ तर यो महत्त्वपूर्ण भने छैन ।’ आफ्नो टोलीले हालसम्म कुनै पनि किसिमको कानुनी कारबाहीको तयारी नगरेको पनि उनले स्पष्ट पारे । ट्रम्प प्रशासनले सत्ता सुम्पने प्रक्रियालाई स्वीकृत नगरेका कारण बाइडनको टोलीले हालसम्म संवेदनशील जानकारी पाउन थालेको छैन। उनले भने, ‘हामी उनले हार स्वीकार गरेको भए जे गर्ने थियौं त्यही नै गर्नै छौं ।’

ट्रम्पले आफूलाई सुनिरहेको भए के सन्देश दिन चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा बाइडनले भने, ‘राष्ट्रपतिज्यू म तपाईँसँग कुराकानी गर्न उत्सुक छु ।’ अमेरिका पुरानै लयमा फर्कियो भन्ने कुराको जानकारी गराउन आफूले विभिन्न ६ देशका नेताहरूसँग कुरा गरिसकेको बाइडनले जानकारी दिए ।

बाइडनले बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रों, जर्मन चान्सलर एञ्जेला मर्केल, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायतसँग टेलिफोनमार्फत् कुराकानी गरिसकेका छन् । कुराकानीमा जलवायु परिवर्तन, स्वास्थ्य, आतङ्कवादविरुद्धको लडाइँ र सहकार्य सुदृढ गर्ने लगायतका विविध विषयमा कुराकानी भएको बताइएको छ । –बीबीसी

प्रतिक्रिया