नेपालमा पहिलो पटक एभरेष्ट वाइनरीले ल्यायो किबीबाट उत्पादित प्रिन्सेस वाइन
काठमाडौं । किबी फलको स्वादमा नेपालकै पहिलो पटक प्रिन्सेस वाइन बजारमा आएको छ । माउन्ट एभरेष्ट वाइनरी प्रा.लि.ले किबीको वाइन उत्पादन गरेको हो ।
कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाका अनुसार पछिल्लो चरण नेपालमै उत्पादन बढ्दै गएको किबी फल खेतीलाई मध्यनजर गर्दै अन्तरास्ट्रिय स्तरको स्वादमा प्रिन्सेस वाइनलाई उत्पादन थालिएको बताए । नेपालमा रहेका १६ वटा वाइन कम्पनीहरु मध्ये १५ वटाले अंगुर, स्याउ, एैंसेलु तथा अन्य फलफुलबाट उत्पादन गरेपनि किबीबाट भने उत्पादन गरेका थिएनन् ।
आफुहरुले नेपालमै पहिलो पटक किबीबाट वाइन उत्पादन गरेको बास्तोलाले बताए । बजारमा पाईने अन्य वाइनहरु मध्ये फरक स्वाद भएकै कारण उपभोक्ताले रुचाउने कम्पनीको दावि छ । एक वर्ष अगाडी नै प्रिन्सेस वाइन बजारमा ल्याउने योजना भएपनि कोरोना महामारी, लकडाउनका कारण कम्पनीले ५/६ महिनापछि वाइन बजारमा ल्याएको हो ।किबीको वाइन हाल राजधानीमा मात्र उपलब्ध भएपनि कम्पनीले निकट समयमै देशव्यापी बनाउने लक्ष्य लिएको कम्पनीका अध्यक्ष हरेराम शाहले बताए । कम्पनीले प्रिन्सेस वाइनको बजारीकरणमा भरपुर डिजिटल मार्केटिङको उपयोग गर्ने योजना बनाएको छ । हाल प्रिन्सेस वाइन एक बोतलको ७ सय ७० रुपैंया बजार भाउ तोकिएको छ ।
अहिले रेड र व्हाईट गरि दुई ब्राण्डमा उपलब्ध प्रिन्सेस वाइन उत्पादन गर्ने फ्याक्ट्री धनकुटाको राजारानीमा छ । माउन्ट एभरेष्ट वाइनरीमा हालसम्म करिब २० करोड लगानी पुगेको कम्पनीको भनाई छ । नेपालमा हावापानी अनुसार चैत–वैशाखमा किबी फूल फुल्छ र कात्तिक, मंसिरमा फल टिप्न तयार हुन्छ । संसारमा पाइने २७ फलमध्ये सबैभन्दा पोषिलो फलको रूपमा किबीलाई लिइन्छ ।काँचो खाँदा अमिलो हुने किबीमा भिटामिन तथा खनिज पदार्थ प्रशस्त हुन्छ । किबीमा औषधीजन्य गुणपनि पाइने भएकोले पछिल्लो समय उपभोक्ताको रोजाईमा पर्दै गएको छ । किबी पेट सम्बन्धी रोग, निमोनिया, दम, रक्तचाप, कोलेस्टेरोल, मधुमेहजस्ता रोगका लागि उपयोगी मानिन्छ । किबी फलबाट जुस, जाम, वाइन लगायत विभिन्न परिकार बनाउन सकिन्छ ।
मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले उपभोक्ता र मदिरा व्यवसायीहरुले सधैं किबी फलको वाइन माग गरिरहेको बताउँदै प्रिन्सेस वाइन बजारमा आएपछि त्यसले केही हदसम्म उपभोक्ता र मदिरा व्यवसायीको माग पुरा गर्ने अपेक्षा गरे । वाइन सार्वजनिक गर्ने क्रममा कम्पनीको तर्फबाट मदिरा व्यवसायी महासंघको भवन निर्माणकालागि अध्यक्ष सोनाम शेर्पालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको थियो ।