अमेरिकी राष्ट्रपति ट्रम्पका सर्मथक र विपक्षीबीच झडप, छुरा हानाहान
एजेन्सी । अमेरिकी राष्ट्रपतीय चुनावमा पराजित डोनाल्ड ट्रम्पको सर्मथनमा निकालिएको र्यालीमा झडप भएको छ । निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीको समर्थनमा आएका उनका समर्थक र विपक्षीबीच वासिङ्टनमा झपड भएको हो ।
झडपका क्रममा छुरा हानाहानसमेत भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचारमा जनाइएअनुसार र्याली उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए ।
त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ‘ब्ल्याक लाइभ्स म्याटर’ आन्दोलनका सदस्यहरू थिए । राष्ट्रपति ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन् । निर्वाचन अधिकारीहरूले भने अमेरिकाको इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भनी घोषणा गरेका छन् ।
सन् २०२० को राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोन बाइडेनले विजयी प्राप्त गरेका छन् । उनले आगामी २० जनवरीमा पदभार सम्हाल्दै छन् । यद्यपि यसअघि ट्रम्पले सन् २०२४ मा आफैँ उम्मेवार बन्ने भनी भनेको रिपोर्ट सार्वजनिक भएको छ । यस अर्थ ट्रम्पले आफ्नो हार स्वीकारेको हो कि भन्ने आकलन गर्न थालिएको छ ।