‘हामीले ९० प्रतिशत साइबर अपराधका केस सल्भ गरेको छौं’
साइबर अपराध कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरु पर्छन् । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैङ्किङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।
पछिल्ला वर्षहरुमा साइबर अपराधका घटना बढेपछि सरकारले ‘विद्युतीय कारोबार ऐन– २०६३ (१) ले ‘कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर’ भनी कानुन ल्याएको छ । सरकारले साइबर अपराध नियमन र नियन्त्रणका लागि नेपाल प्रहरी मातहतमा ‘साइबर ब्यूरो’ समेत स्थापना गरेको छ ।
व्यूरोका प्रहरी उपरीक्षक पशुपति रायका अनुसार साइबर ब्यूरो स्थापना भएको डेढ वर्षमा दर्ता भएका ९० प्रतिशत घटनामा व्यूरोले सफलता प्राप्त गरेको छ । ब्यूरोमा पछिल्लो समय व्यक्तिगत रिसिइवी साँध्ने, कसैको कम्प्युटर नेटवर्कको सिष्टममा पसेर ह्याकिङ गर्ने, व्यक्तिगत सूचनाहरु चोर्ने लगायतका घटनाहरुका उजुरी बढि आउने गरेका छन् । खासगरी महिलाजन्य घटनाका उजुरीहरु बढि आउने प्रहरी उपरीक्षक रायको भनाई छ । प्रस्तुत त साइबर ब्यूरोका प्रहरी उपरीक्षक रायसँग गरिएको कुराकानीको संक्षेपः
साइबर अपराध विश्वकै लागि चूनौति भइरहेकोमा नेपालको अवस्था कस्तो छ ?
सुचना र प्रविधिको विकाससँगै साइबर अपराधका घटनाहरु बढिरहेका छन्, पछिल्लो समय नेपालमा पनि साइबर अपराधका घटनाहरु बढेपछि सरकारले ‘साइबर व्यूरो’को स्थापना गरेको हो । अहिले साइबर व्यूरोले यहाँ आएका उजुरी प्रति नेपाल प्रहरी, सरकारी कानुन व्यवसायी लगायत सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरेर साइबर अपराध गर्नेलाई पक्राउ गर्ने, कानुनी कारवाहीमा ल्याउने तथा साइबर अपराध सम्बन्धी सचेतना समेत फैलाइरहेको छ ।
साइबर अपराधमा पर्ने कृयाकलापहरु केके हुन् र नेपालमा भइरहेको साइबर अपराधहरु कस्ता छन् ?
साइबर अपराध भनेको कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरुलाई बुझ्न सकिन्छ । यसमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक गतिविधिहरु पर्छन् । कसैको सिष्टममा पसेर ह्याकिङ गरेर, बैकिङ सिष्टममा गएर ह्याकिङ गर्ने, एटिएम मेसिनमा गएर स्विफ्ट नै ह्याक गरेर पैसा निकाल्ने, गैरकानुनी डाटा तान्ने, फिसिङ गर्ने, कसैको व्यक्तिगत एकाउन्टमा गएर ह्याक गर्ने, मानमर्दन गर्ने, फोटोहरु दुरुपयोग गर्ने जस्ता अपराधहरु साइबर अपराध हुन् । पछिल्ला दिनहरुमा यस्तै अपराधहरु भइरहेका छन् ।
व्यक्तिगत जिवनसँग जोडिएर कसैको चरित्र हत्या गर्ने, खासगरी महिलाहरुसँग सम्बन्धीत विषयमा साइबर अपराधका घटनाहरु कत्तिको भइरहेको छ ?, त्यस्ता अपराधमा संलग्नलाई पहीचान गर्नका लागि व्यूरोले कसरी काम गर्दैछ ?
सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका व्यक्तिगत डेटाहरु ह्याक गरेर, उनीहरुको चरित्र हत्या गर्ने, ब्ल्याकमेल गर्ने, उनीहरुलाई गाली बेइज्यत गर्ने, दुव्र्यहार गर्ने जस्ता घटनाहरु बढिरहेको छ । कतिपय केसमा साइबर अपराध र गाली बेइज्यती छुट्टाछुट्टै विषय हुन् । कतिपयले गाली बेइज्यतीका केसलाई पनि साइबर अपराधका रुपमा बुझेर उजुरी गर्न आउनु हुन्छ, उहाँहरुका समस्यालाई सुनेर सम्बन्धीत निकाय कहाँ पुर्याउने अथवा पिडितलाई न्याय पाउन सहजिकरण गरेका छौं ।
कतिपय अनलाइन मिडियामा आएका विषयमा पनि साइबर अपराध गरेको भनेर उजुरीहरु आएका हुन्छन् ती केसहरुलाई पनि हामीले आवश्यक परामर्श गरेर सम्बन्धित निकायमा पठाउने गरेका छौं । साइबरलाई दुरुपयोग गरेर अरु अपराध पनि गरेको हुन सक्छ, त्यसमा हामीले साइबरमा भएका कृयाकलापलाई प्रमाणका रुपमा अदालतमा पेश गरेर अन्य कानुन अनुसार कारवाही अगाडी बढाउने गरेका छौं ।
उदाहरणका लागि केही दिन अगाडी एक महिलालाई सार्वजनिक स्थलमा दुव्र्यहार गरेको भिडियो विभिन्न अनलाइनमा अपलोड भयो, हामीले सुरुमा त्यसलाई साइबर अपराध होकि भनेर हेर्यौं, सूचनाहरु पनि त्यस्तै आए, तरपछि अनुसन्धान गर्दै जाँदा त्यो साइबर अपराधमा परेन, अर्कै विषयमा कारवाही अगाडी बढाउनु पर्यो ।
मेरो भन्नुको मतलब कतिपय विषयहरु सामाजिक सञ्जालमा, अनलाइनहरुमा आउँदैमा ती साइबर अपराध हुँदैनन् । मुख्य कुरा साइबरमा हामीले कस्ता कृयाकलाप गर्दैछौं त्यसले अपराध भएको नभएको निर्धारण गर्छ । गाली बेइज्यती र साइबर अपराध फरक हुन् । कतिपय अवस्थामा दुवै कानुन जोडिन सक्छ ।
पछिल्लो समय राष्ट्रका विभिन्न सम्मानीत ओहदामा बसेका व्यक्तिहरुमाथि अनेक आक्षेप लगाएर उनीहरुको चरित्र हत्या गर्ने कार्य भइरहेको छ यसलाई व्यूरोले कुन क्याटोगोरीको अपराधका रुपमा हेरिरहेको छ ?
केहि वर्षदेखि राज्यका विभिन्न पद र ओहदामा बसेका व्यक्तिलाई लक्षित गर्दै अशिष्ट भाषा प्रयोग गरेर उनीहरुको चरित्र हत्या गर्ने काम भइरहेको छ । यसलाई पनि हामीले हेरिरहेका छौं । कसैलाई गालीगलौज गर्नुभयो त्यसको विष्लेषण छुट्टै छ । त्यसमा पनि अनलाइन मिडिया (फेसवुक, ट्विटर, युट्युव) आदीबाट गरेको छ भने त्यसको डेढी सजाय भनेको छ ।
सञ्चारमाध्यमबाट त्यस्तो भएको छ भने, त्यसको लागि छुट्टै ऐन छ । सञ्चारमाध्यम जो प्रेस काउन्सिलमा दर्ता भएका छन् तीनिहरुमा भएका विषयलाई प्रेस काउन्सिल पठाउने गर्छौं । हामी कहाँ गाली बेइज्यती, साइबर अपराध र प्रेस काउन्सिलसँग सम्बन्धीत विषय आउने गरेकोमा तिनलाई अध्ययन गरेर सम्बन्धीत निकाय कहाँ पठाउने तथा कारवाही अगाडी बढाउने गरेका छौं ।
सरकारी उच्च ओहदामा रहेकालाई लक्षित गरेर गरिएका क्रियाकलापहरु पनि हामीले हेरिरहेका छौं । कतिपय व्यक्तिगत रुपमा आएकाहरुलाई साइबर मुद्दाहरु नै चलाएका छौं । संस्थामाथि गाली बेइज्यत गर्नेलाई पनि अनुसन्धान गरिरहेका छौं । सम्मानीत पदमा रहेकालाई व्यक्तिगत गाली बेइज्यती गर्नेलाई पनि पक्राउ गरेर कारवाही अगाडी बढाइरहेका छौं । कतिपय पुपक्र्षमा छन् ।
व्यक्तिगत चरित्र हत्या गर्ने खासगरी महिलासँग जोडिएर हुने साइबर अपराधमा संलग्नलाई के कस्तो सजाय छ ?
सामाजिक सञ्जालमा महिला, बालबालिकाहरुलाई दुब्र्यहार गर्ने, मानमर्दन गर्नेहरुलाई हामीले दुईवटा पाटोबाट हेरिरहेका छौं । एउटा हामीले त्यस्ता कृयाकलापहरु साइबर अपराध हुन् भनेर आम जनता माझ सचेतना फैलाउने काम गर्छौं । अर्को, त्यस्तो अपराध भएको उजुरी लिएर यहाँ आएकाहरुलाई न्याय दिने काम गरेका छौं । कतिपय केसमा प्रमाणका आधारमा अदालतसम्म लगेर मुद्दा चलाएका छौं । समाजमा कुनैपनि विषयले नराकारात्मक धारणा फैलाउँछ भने त्यस्ता विषयहरु सामाजिक सञ्जालमा पोस्ट नगरेकै राम्रो ।
सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, मानमर्दन गर्नेलाई कस्तो कानुन छ ?
विद्युतिय कारोबार ऐन परिक्षेदको दफा ९ मा स्पष्ट लेखिएको छ । त्यस्तो किसिमको अपराध गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद, १ लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । अहिलेसम्म हामीले यसैलाई टेकेर कानुनी प्रक्रियाहरु गर्ने गर्छौं ।
साइबर व्यूरो स्थापना भएको करिब डेढ वर्ष हुन लाग्यो, अहिलेसम्म कस्ता विषयहरुमा बढि उजुरीहरु पर्ने गरेका छन् ?
सामाजिक सञ्जालमा महिला तथा बालबालिकासँग सम्बन्धीत धेरै उजुरीहरु धेरै परेका छन् । सार्वजनिक महत्व र सरकारी विषयका पनि आउने गर्दछन् ।
ती आएका केसहरु पहिचान र हल गर्न व्यूरोले कसरी काम गर्छ ?
उजुरी आएका जतिपनि विषयहरु छन्, तिनलाई विषयगत रुपमा छुट्याएर हेर्छौं । व्यूरोभित्रपनि फरक–फरक पिलरहरु छन् । जस्तो, साइबर सुरक्षा भन्नेले साइबर सुरक्षाका मामलामा रिसर्च गर्ने, प्रमाणित गर्ने र सामाजिक सचेतना फैलाउँदै काम गर्छ । साइबर क्राइम इन्भेष्टिगेसन भन्ने छ । सोसल मिडियामा भएका अपराधका केसहरु हेर्नका लागि छुट्टै पिलर बनाउने कि भनेर लागिरहेका छौं । विश्वमा हुने साइबर अपराधहरु ह्याकिङ, फिसिङ लगायत जुन मेन स्ट्रिममा भइरहेका छन्, त्यसलाई अध्ययन गर्न र भोलीका दिनमा हुन सक्ने साइबर अपराधहरुका विषयमा तयारी गर्न साइबर अपराध भनेर छुट्टै पिलर छ ।
त्यसपछि सोसियल मिडियाका लागि छुट्टै छ । साइबर इन्टेलिजेन्सका लागि छुट्टै छ जसले साइबर मिडियामा हुने अपराधका जतिपनि घटनाहरु छन् तीनलाई अध्ययन गरेर विष्लेषण गर्छ । हामीसँग फिल्ड फरेन्सिकका लागि डिजिटल फरेन्सिक ल्याब छ । हरेक विषयलाई छुट्टाछुट्टै पिलरमा रहेर अनुसन्धानहरु गर्छौं ।
नेपालमा भएको साइबर अपराधको कानुन र अन्तराष्ट्रिय तहमा भएको कानुनमा कत्तिको भिन्नता छ ?
प्रविधि रातारात चेञ्ज हुन्छ नियम कानुन हुँदैन । हाम्रोमा साइबर कानुन ०६३ सालमा बन्यो, अहिले ७७ साल भइसक्यो । यो १५ वर्षमा त प्रविधिमा धेरै परिवर्तन भयो नी ! प्रविधिसँगै मान्छेको अपराध गर्ने शैलीमा पनि परिवर्तन भएको छ । प्रविधि अनुसार भइरहेका साइबर अपराधलाई समेट्ने अनुसारको हाम्रो कानुन छैन ।
अन्तराष्ट्रिय कानुनहरु अहिलेका प्रविधिमा भएका अपराधहरुलाई नै समेटेर बनाइएका हुन्छन् । हामी कहाँ भएको कानुन समय सापेक्ष छैन, यसलाई सुधार्न जरुरी छ । यस विषयमा हाम्रो आइटी विभागले कुन अपराधमा कस्तो सजाय हुनसक्छ भनेर विष्लेषण गरेरै सुचना तथा प्रविधि मन्त्रालयमा पेश गरेको छ ।
साइबर अपराध नियन्त्रण र अनुगमनमा प्रहरी अगाडी छ कि अपराधी ?
अपराध नियन्त्रण गर्ने गराउने विषयमा प्रहरीको जहिले पनि दुईवटा पाटो हुन्छ । हरेकमा मुख्य कुरा सुरक्षा नै हो । अपराध नहोस् नै भनेर हो । तर, त्यत्ति गर्दागर्दै पनि अपराध हुन रोकिँदैन । प्रहरीले अपराध हुन नदिन सचेतना फैलाउने तथा अपराध भइसकेपछि अनुसन्धान गर्ने, अपराधी पत्ता लगाउने र कानुन अनुसार सजायका लागि अगाडी बढाउने कार्य गर्छ । साइबर अपराधकै कुरा गर्दा कतिपय अवस्थामा पिडक र पिडित समेत थाहा नभएका केसहरु हामीले पत्ता लगाएर कारवाहीको दायरामा ल्याएका छौं ।
डेढ वर्षको अवधिमा साइबर व्यूरोले समाधान गरेका केसहरु कति छन् ?
यो डेढ वर्षमा हामी कहाँ जतिपनि उजुरीहरु आएका छन् ति मध्ये ९० प्रतिशत हामीले सल्भ गरेका छौं । साइबर अपराध भनेको इन्टरनेशनल अपराध हो । अब कतिपय केसहरु पिडकहरु विदेशमा बसेर अपराध गर्ने भएकाले पहिचान गरेर पनि तिनीहरुलाई कानुनको दायरामा ल्याउन सकिरहेका छैनौं । यहिँ बसेर विदेशमा बसे जस्तो गरेर अपराध गर्छन् । अपराध गरेर फेसवुकै डिएक्टिभ गरेर भागेकालाई पनि पहिचान गरेर ल्याएका छौं ।
राष्ट्रियताका कतिपय सवालमा भएका अपराधमा उजुरी नगरीकन पनि व्यूरोले अनुसन्धान गर्न सक्छ कि सक्दैन ?
अवश्य सक्छ । जस्तै, केहि समय अगाडी राष्ट्रिय झण्डा जलाइयो, मकवानपुरको टिसटुङमा भएको त्यो केसलाई हामीले उजुरी नपरीकनै अनुसन्धान गर्यौं । खासगरी समाज, राष्ट्रलाई हानी गर्ने विषयमा अनुसन्धान गर्न प्रहरीलाई कसैको उजुरी आवश्यक पर्दैन । आफैं अनुसन्धान गर्ने र कानुनी कारवाही अगाडी बढाउन सक्छ ।
अन्तमा, साइबर अपराध हुन नदिन सामाजिक प्रयोगकर्ताले कस्ता साबधानी अपनाउनु पर्ला ?
कुनैपनि कुरा जब हामीले नेटमा राख्छौं, सामाजिक सञ्जालमा राख्छौं भने त्यो तपाईको व्यक्तिगत रहँदैन । तपाईको प्राइभेट प्रोपटी अब पब्लीक भइसक्यो । जुन विश्वब्यापी भएर जान्छ । जजसको इन्टरनेटमा पहुँच हुन्छ सबैले हेर्न सक्छन् । हेरिसकेपछि त्यसको सदुपयोग र दुरुपयोग दुवै हुनसक्ने अवस्था हुन्छ । त्यसकारण कुनैपनि कुरा पोस्ट गर्दा, लेख्दा सबभन्दा पहिला पोस्ट गर्नेले आफुले के गर्दैछु, के लेख्दैछु, त्यसले आफ्नो, परिवार, समाज र राष्ट्रको लागि कस्तो असर गर्छ छुट्याउनु पर्दछ ।
अहिले साइबर सेक्युरिटीहरु छन्, तपाईले पोस्ट गरेको वस्तु प्राइभेट प्रोपटी हो भने प्राइभेट भनेरै राख्न सकिन्छ । पब्लीक हो भने पब्लीक गर्न सकिन्छ । प्राइभेसी सेटिङमा गएर पब्लीक र प्राइभेट मिलाएर राखेपनि धेरै सुरक्षित रहन सकिन्छ ।
ब्यक्तिगत गोपनियताहरु सार्वजनिक नगरौं । पासवर्डहरु बलियो रोख्नुस, टेक्स, सेम्बोल, अंकहरु राखेर पासवर्डहरु बनाउँदा धेरै सुरक्षित रहन्छ । आजभोली घरको सुरक्षाभन्दा नेटको सुरक्षा महत्वपूर्ण हुन्छ । नेटकै सहारामा अपराधीहरु तपाईको घर तथा व्यक्तिगत जिवनमा प्रवेश गर्न सक्छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले आफुले लेखेको पोस्ट गरेको विषयले अपराध हुन्छ हुँदैन स्वविवेक प्रयोग गर्नुपर्ने भएकोले समाजमा नकारात्मकता फैलाउने, राष्ट्रियताका सवाल र व्यक्तिगत सुरक्षाका विषयमा संवेदनशील हुनु जरुरी छ ।