डनवाद र धनवादमा बिकेको जनवाद
संकेत कोइराला
भगवान विष्णु र देवराज इन्द्रबीच मर्यादाको विषयलाई लिएर संघर्ष चल्यो । कुरैकुरामा उत्तेजित इन्द्रले १२ वर्षसम्म पृथ्वीमा एक थोपा पानी बर्साउन नदिने घोषणा गरे । इन्द्रको विश्वास थियो– ‘पृथ्वीबासीको रक्षाका लागि सम्पूर्ण देवगण मेरो शरणमा आउने छन् ।’ यही सोचेर उनले मेघलाई वर्षा नगराउने आदेश दिए । तत्काल वर्षा रोकियो । वर्षा रोकिएपछि मानव लोकमा कोकोहोलो मच्चिएला भन्ने इन्द्रको विश्वास थियो । तर किसानले सोचे–‘यदि एकदशक हामीले आफ्नो कर्तव्य बिर्सियौं भने सन्ततिले कर्मको बाटो विर्सन सक्छन् ।’ उनीहरु तत्काल खेत जोत्न थाले । खडेरीमा किसानले खेत जोतेको देखेर भ्यागुतोले आश्चर्य प्रकट गर्यो । किसानले उसलाई पनि आफ्नो कर्ममा लीन हुन सम्झायो ।
भ्यागुतोले पनि सोच्यो– ‘यदि मैले पानी नआएको निहुँमा टर्टराउन बिर्सिएँ भने त्यो मेरो धर्म विपरीत हुन्छ ।’ उ पनि घोक्रो तानी तानी टर्टराउन थाल्यो । भ्यागुतो टर्टराएको सुनेर आश्चर्यचकित हुँदै मयूरले अनर्थको काम नगर्न सल्लाह दियो । भ्यागुतोले मयूरलाई सम्झायो–‘भाइ, हाम्रो अधिकार भनेको कर्म गर्नु हो । कर्म गरेपछि फल नपाइने कुरै छैन ।’ मयूर पनि विन्दास ढंगले पखेटा फिँजाएर नाच्न थाल्यो ।
आफ्नो आदेश कार्यान्वयन भएको हेर्न इन्द्र पृथ्वीमा झरे । उनका आँखा कोलाहल हेर्न लालायित थिए । तर आश्चर्य सवै आफ्नो काममा निर्लिप्त देखेर इन्द्रको होस हवास उड्यो । उनले व्यर्थको मेहनत नगर्न किसानलाई आग्रह गर्दा उल्टो किसानले थर्काए–‘तपाईं आफ्नो काम गर्न नगर्न स्वतन्त्र हुनुहुन्छ तर हामीलाई हाम्रो कार्म गर्न दिनुस् । किनकी कर्म नै धर्म हो ।’ किसानको भनाइले इन्द्रको आँखा खुल्यो । उनलाई लाग्यो–‘आज जुन देवराज इन्द्रको पद मैले पाएको छु, त्यो मेरो कर्मका खातिर हो । यदि कर्मबाट च्यूत भएँ भने संसारले गर्ने आदर सम्मानबाट म वञ्चित हुन्छु । बद्नामी बाहेक मेरो हात केही लाग्ने छैन ।’ उनले तत्काल मेघलाई पानी बर्साउन आज्ञा दिएर गल्तीको प्रायश्चित गर्दै स्वर्गलोक फर्किए ।
आफूलाई नेपाल धर्तीका इन्द्र सम्झिने केपी र पिके मिलेनन भने के हुन्छ ? उनीहरुको आफ्नै पखेटा काटिने बाहेक केही हुँदैन । देशको राजश्व र देवश्व मास्नु हुन्न भन्ने प्रज्ञा र चेतना दुवैको शून्य छ । लाज लुगामा नभएर नियतमा हुन्छ । यो पृथ्वीमा मानिस आउने जाने, उत्थान, पतन सबै कर्मअनुसारका स्वाभाविक फल हुन् ।
सारा नेपालीले आफ्ना बाउबाजेसँगै तर्पण दिने राजा वीरेन्द्रको वंश नासपछि अस्वभाविक बाटैबाट भएपनि अर्को राजा आएर त्यो ठाउँ पूर्ति गरेकै हुन् । राजा नभएर सिंहासन खाली भएन । जतिसुकै रोए कराए पनि कुनै एक व्यक्ति राजपरिवारसँग सति गएको सुनिएन । पद्दति हैन राजा खुशी पारेर राजनीतिमा अनवरत जागिर खाएका पञ्च बहुदलमा बसाईं सरेर राजावादी र बहुदलवादी दुवै पसलमा आफूलाई बिकाए ।
पत्रकारको भेषमा उदाएको पात्र रमेशनाथ पाण्डेले राजा महेन्द्र, बीपी, जीपी हुँदै प्रचण्डसम्मको शूत्रधार हुन भ्याए । दुई तिहाइ सरकार हुँदा बीपीका पिलर भनिएकाहरु उनैलाई ‘कू’ गर्ने रणनीतिका मतियार बने । माओवादी महाभारतमा प्रचण्डलाई गणेश भएर मन, वचन र कर्मणा सघाएका बाबुराम भट्टराई आफ्नो विगतप्रति पश्चातापको प्रलाप गरिरहेका छन् । सिद्धान्त, जेल, संघर्ष नभएर अबको सम्बन्ध धन्दाले निर्धारित गर्छ ।
शहीद, बेपत्ता परिवार, लडाकू, घाइते भनेका प्रचण्डको राजनीतिक म्यारिज खेलका ‘माल’ हुन् । जुन सरकार आए पनि प्रचण्ड यिनै तूरुप लिएर आर्जनको मोलमोलाइ गर्न भ्याउँछन् । बीपी कोइराला, मदन भण्डारी देउरालीका ढुंगा हुन् । यिनको माथमा अविर छरेर एक फन्का लगाएपछि जति अपराध गरे पनि उसले मुक्ति पाउँछ ।
कुनै पनि पार्टी लोकप्रियताले नभएर चुनावका दिन पाक्ने पकवान र चुनाव खर्चको चाँजोपाँजोमा ‘भाले’ हुने हुन् । चुनावको टिकट लिलाम बढाबढ नै हो । सबै राजनीतिक दलका मुखियाले यो सत्य घाँटीघाँटीसम्म बुझेका छन् । वर्षको सय, पचास करोडको आम्दानी नगर्ने व्यक्ति प्रमुख राजनीतिक दलको मुखिया हुने सपनामा पनि नसोचे हुन्छ । माधव नेपाल, रामचन्द्र पौडेलजस्ता सानो ह्याकुलो हुनेका लागि कार्यकारी पद अंगुर अमिलो बन्दै जानुको यथार्थ पनि यही हो ।
भनिन्छ–सबैभन्दा सत्य कहानी भट्टीले सुनेको हुन्छ भने भने झुठो प्रलापको साक्षी अदालत बन्ने गर्छ । न्यायमूर्तिहरु कानले हेर्छन । जब आँखाले हेर्नेहरुको आतंक बढ्छ, तब कानले हेर्नेहरु चनाखो हुन्छन् । को ठीक, को बेठीकको बहस आफ्ना ठाउँमा छ । तर सत्य चाहिँ के हो भने जब झण्डेहरुको बाक्लो उपस्थितिले कार्यपालिका र न्यायपालिकाबीच अन्तर भेटिन्न तब न्याय लिलामको वस्तु बन्छ ।
न्याय हराएको मुलुकमा चल्ने भनेको धनवाद, डनवाद नै हो । बिन लादेन र सद्दाम हुसेन अमेरिकाको पालनपोषणमा हुर्किएका पात्र थिए । कालान्तरमा तिनै पात्रको टाउको दुखाईबाट आजित अमेरिकाले साम, दाम, दण्ड भेदको बाजी राखेर सिध्याउनु पर्यो । यो त टेलर मात्र हो, भागवण्डाको राजनीति नसच्चिने हो भने कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका मात्र हैन, भोलिका दिनमा यी शक्तिको साँचो फेसबुके मास्टरले खोस्न सक्छन् । यहाँ समस्या चारआना तर समस्यालाई हेर्ने दृष्टिकोण बारआनाको हुँदा समस्याको चाङ लाग्दै गएको छ ।
यो देशका नागरिक, यहाँका ठूला मानिस र मिडियाको चरित्र एकछिन सामाजिक सञ्जालमा हेर्दा ऐना हुन्छ । गौरवपूर्ण न्यायालयले उत्ताउलो राजनीतिक नेतृत्वलाई लगाम लगाएका संसारमा थुप्रै उदाहरण छन् । छिमेकी मुलुक भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीले पाकिस्तानी सेनाका एक लाख जतिलाई बन्दी बनाइन । पाकिस्तान टुक्राएर दुई स्वतन्त्र देश बनाइन । सिक्किमलाई भारतमा बिलय गरिन । दक्षिण एशियाका कुनै शासक उनलाई आँखा उठाएर हेर्न सक्दैनथे ।
अटलविहारी बाजपेयीले त गान्धीलाई ‘रणचण्डी’ उपाधि दिए । धाँधली र सरकारी बलको प्रयोग गरी उनले पश्चिम बंगालको चुनावमा सीपीएम पार्टीलाई चुनाव बहिष्कारका लागि बाध्य पारिन । त्यसपछि कांग्रेसको एकलौटी शासन चलाइन । तर जगमोहनलाल नामका न्यायाधीशले इन्दिरा गान्धीले गराएको चुनाव कानुनी खिलाफ भएको भन्दै बदरको घोषणा गरिदिए । यो फैसलाले सम्पूर्ण भारत हल्लियो । एउटा न्यायाधीशको फैसलाले सर्वशक्तिमान इन्दिरा गान्धीले शक्ति र सत्ताबाट हात धुनुपर्यो । करोडौंकी ‘राजमाता’ भनिएकी गान्धी चुनावमा नराम्रोसँग पछारिइन । ‘म नै राज्य हुँ’ भन्ने लुईस चौधौंको अहं अरुमा रुपान्तरण हुन्छ, तब यस्ता घटना स्वाभाविक बन्दै जान्छन् ।
जनता पाखुरी बजार्ने काममा अग्रसर भएको भए यो देशका नेता उहिल्यै सन्यासी हुन्थे । कोरोनाले महाविकट आउँदा समेत नेपालीको चरित्र बीसको उन्नाइस भएन । भारतीय नाकावन्दीताका उनीहरु १ लिटर तेल पाउन चारदिनको निद्रा मार्न तयार भए तर निर्भरताको अध्याय थाल्ने जाँगर कतै देखिएन ।
चैतमा हलोका सियोमा मकै छरेर भारत पसेको एउटा ठिटो ५ महिनापछि आफैंले रोपेको मकैको बोटलाई ‘ए लम्बा लम्बा पतेवाला पेड क्या हे’ भन्ने खालको तोरी लाउरे भएर निस्कनेलाई क्रान्तिकारीको दर्जा दिएर राजहाँस बनायौं । यिनै कर्मले राजनीतिक कोलाजभित्रको रंग झन्झन् फिका देखिन थाल्यो । सिंहदरबारको कुर्सीमा आसिन शासकभन्दा सिंहदरबार भजाउने दलालहरु शक्तिशाली बन्दै गए ।
देशका विषय विज्ञहरु आफ्नो विषयमा कम अरु विषयमा बढी चतुर भएर निस्कन थाले । कालो कोट लगाउने वकिलहरु वकालतभन्दा जग्गा बेचबिखनको धन्दामा जमे । पत्रकारको कलम लेखाइमा थोरै, दाइहरुलाई सल्लाह दिन धेरै विक्न थाल्यो । सम्पत्तिका नाममा जसको एउटा चिउरा मिल नभएकाहरु निजीक्षेत्रका नेता दरिए । राजनीतिको पहिलो खुड्किलोमै पछारिएकाहरु मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भए ।
जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरु देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकी स्वघोषित बुद्धिजीवी भएर शहर पसे । बैंकहरुले कालोसूचिमा नाम डामेकाहरु खुल्ला अर्थतन्त्रका मतियार भए । सिंहदरबार यस्तो ७७ औं जिल्ला प्रमाणित भएको छ, जहाँ पस्दा मै हुँ भन्ने माइकलाल फर्किंदा रुझेको विरालो बन्दै निस्किएका छन् ।
भारत, चीन, अमेरिकाले सरकार सफल पारिदिन्छन् भन्ने चिन्तन उहिल्यै खोटो मोहोर सावित भइसकेको छ । यो फर्मूला विश्व दुई शक्ति राष्ट्रमा विभाजित हुँदा ताकाको कोल्ड वार समयको भूत मात्र हो । अहिलेसम्म पनि त्यही खोटो मोहोर विकाउनेहरुको दबदबाबाट मुक्त हुन नसक्नु ओरालो यात्राको प्रमुख कारण हो ।
कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए । आज पनि मकैमा खुम्ले लाग्छ । विज्ञले त्यसको ओखती बताउँछन् । तर सत्ता र शक्तिबाट अन्धो मानिस कति भयभीत हुँदोरहेछ भने खुम्ले र आफूमा अन्तर देख्दोरहेनछ । कृष्णलाल मारिएपनि उनको लेखनी सत्यबाट डगमगाएको छैन ।
मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ–….सरकारले आफ्ना देशका कुकुरहरु भन्दा विदेशी कुकुरहरुको बढ्ता मान गर्छ तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरु काम लाग्दैनन् । स्वदेशी कुकुरहरु नै काम लाग्छन् ।’
पूरा विश्व ढुकुर मार्ने बन्दुकमा भर परिरहेका बेला मेसिन गन बनाउने गेहेन्द्रशम्शेरको उत्साहले निरन्तरता पाएको भए, चीनको इच्छाशक्ति जापानसम्म पुर्याएर युद्धविराम गराइदिएकोमा टंकप्रसाद आचार्यलाई नोबेल शान्ति पुरस्कार र लक्ष्मीप्रसाद देवकोटालाई नोबेल साहित्य पुरस्कार प्रदान गरिसकिएको हुने थियो । ती सुखद दिनको प्रारम्भ भइदिएको भए आज नेपाली शिष्ट, सभ्य, सुसंस्कृत नेपालका समृद्ध नागरिक बन्ने थिए । राज्य भनेको एउटा त्यस्तो अकाट्य शक्ति हो, जसले अहिले मात्र हैन, २० वर्षपछि जन्मिनेहरुको पनि भविष्य सुरक्षित गरिदिनु पर्छ ।
नेताहरु थुन्ने पनि अरु नै, छुटाउने पनि अरु नै । कुर्सीमा आसिन गराउने पनि अरु, खँदार्ने पनि अरु नै । शायद मर्दहरु नामर्दको सुरक्षामा बसेपछि यस्तै हुन्छ । कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन । इतिहास साक्षी छ । २००४ सालमा नागरिक स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्किदो थियो । नजरबन्दमा रहेका बीपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो । भारतीय नेताहरु महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीहरुले मानवताको नाताले रिहाईको माग गर्दै नेपाल सरकारलाई चिट्ठी लेखेका थिए ।
पद्मशम्शेरका नाममा लोहियाले लेखेको पत्रमा भनिएको छ– ‘श्रीकृष्णप्रसाद उपाध्याय महात्मा गान्धी र मेरो पत्र लिएर तपाईलाई भेट्न आउँदैछन् । श्री विश्वेश्वर प्रसाद कोइरालाको अवस्था मरणासन्न अवस्थामा पुगेको यहाँ सुन्नमा आएको छ । उनलाई बम्बई ल्याउन सके एकपटक बचाउने कोशिस गर्न सकिन्थ्यो । मलाई विश्वास छ यी युवकको मृत्युबाट हामी सवैलाई ठूलो क्षति हुन्छ । यिनलाई जेलमुक्त गरेमात्र बचाउने थोरै आशा बाँकी रहन्छ । विश्वेश्वरको रिहाई नेपाल भारत दुवैका लागि कल्याणकारी हुन्छ ।
आशा छ–तपाईंको तर्फबाट मानवीय कर्म हुनेछ ।’ यता पद्यशम्शेरले पनि प्रजातन्त्रको माग गर्दै सत्याग्रहमा उत्रिएकाहरुको माग सम्बोधन गर्नकै लागि नेहरुसँग आग्रह गरेका थिए । सोही प्रयोजनका लागि नेहरुले आफ्ना अत्यन्तै निकट श्रीप्रकाशजीको नेतृत्वमा रघुनाथसिंह, रामउग्रसिंहजस्ता कानुनविद् नेपाल पठाइदिए । आन्दोलन भइरहेकै अवस्थामा मातृकाप्रसाद कोइराला र गणेशमानसिंह नेहरुलाई भेट्न गए ।
नेहरुले भनेका थिए–तपाईंहरु के का आधारमा विवरण दिनुहुन्छ थाहा छैन मलाई । मैले पनि आफ्ना चारजना प्रतिनिधिहरु पठाएँ । जसमध्ये दुईजना विश्वासपात्र र भरपर्दो चरित्रका थिए । तिनीहरुले त तपाईंहरुले भन्दा बिल्कुलै अर्कै प्रकारका खबर ल्याए । तपाईंहरुले एक्कैचोटि धेरै आशा गर्नुहुन्न । तिनीहरुले महाराजलाई एकान्तमै भेटेका थिए । महाराजको भनाइ छ–‘सुधारको प्रगति आन्दोलनले गर्दा पछाडि घचेटिएको हो ।’ दोहोरो चरित्रको यस्तो कुटिल राजनीति अहिले झन् पेचिलो बन्दै गएको छ । पहिला त कम्तिमा संवाद हुन्थ्यो, अहिले त इसारामा काम तमाम् हुन्छ ।
छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्वाकांक्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे । गोराहरुको ढाड्स पाएका जंगबहादुरले पहिले आफूलाई राणाजी बनाए । आफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पुर्याए । भाइहरुको विवाह राजा खलकसँग मात्र गराएनन, आफूलाई श्री ३ घोषणा गरेर राजपाटमा प्रभाव जमाए । यसखाले व्यक्ति केन्द्रीत राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिए पनि राज्य झन्झन् कमजोर बन्ने रहेछ ।