डोटीमा जीप खस्यो: तीन जनाको घटनास्थलमै मृत्यु, पाँच घाइते

काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक जनकराज पाण्डेयका अनुसार दिपायलबाट चवराचौतारातर्फ जाँदै गरेको म १ च ५५० नंको महेन्द्रा जीप गए राति करिब एक बजेतिर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका-७ का वडा सचिव मञ्जु त्रिपाठी, निजकी सासू करिब ५५ वर्षकी नाम नखुलेको र केआइसिंह गाउँपालिका-४ बस्ने करिब ४० वर्षका हरिनारायण भट्ट रहेका छन् । यसैगरी उक्त घुर्टनामा परी घाइते हुनेमा बोगटान फुड्सिल गाउँपालिका-६ का करिब ३० वर्षका चालक कैलाश बम, कञ्चनपुरको भिमदत्तनगरपालिका-१९ बस्ने २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका-७ बस्ने ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने २६ वर्षीय टीकाराम गिरी तथा नाम नखुलेका अन्दाजी तीन वर्षका एक बालक रहेका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउने तथा घाइते भएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । जीप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलबाट घाइतेको उद्धार तथा मृतकको शव सङ्कलनको कार्य जारी रहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।

प्रतिक्रिया